Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दीमा नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि आन्तरिक पर्यटकले भरिभराउ

म्याग्दीमा नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि आन्तरिक पर्यटकले भरिभराउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १, २०८० शुक्रवार • ११:१४:३३ बजे
  • 901
    SHARES
  • म्याग्दीमा नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि आन्तरिक पर्यटकले भरिभराउ

    म्याग्दीका पर्यटकीयस्थल नेपाली नयाँ वर्ष २०८० मनाउनका लागि आन्तरिक पर्यटकले भरिभराउ बनेका छन् । विद्यालय तहको वार्षिक परीक्षा सकिएर बिदा भएको र लगातार दुई दिन सार्वजनिक बिदा भएका कारण जिल्लाका पर्यटकीयस्थलमा नयाँ वर्षलाई उत्सवका रूपमा मनाउन आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

    images

    नयाँ वर्ष मनाउनका लागि घोरेपानी, पुनहिल, मोहरेडाँडा, खोपारा, स्वर्गाश्रम, बेलढुङ्गा, रुइसे, गाजने, टोड्केलगायतका स्थलमा आन्तरिक पर्यटकको आगमन बढेको छ । पर्यटकका लागि उपयुक्त मौसम भएकाले अन्नपूर्ण हिमाल र धवलागिरी हिमालमा आरोहणका लागि विदेशी पर्यटकको आवतजावतसमेत बढेको छ ।

    आधार शिविर क्षेत्रको भ्रमणका लागि आन्तरिक पर्यटक आउन थालेको अन्नपूर्ण हिमालको आधार शिविर क्षेत्रमा जाने पर्यटकलाई लक्षित गरी होटल सञ्चालन गर्नुभएका अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका तेज गुरुङले बताउनुभयो । सडक सञ्जालले आधार शिविर क्षेत्रमा पुग्ने समय घटाएपछि पदयात्रामा आउने पर्यटक बढेको उहाँले जानकारी दिनुभयो ।

    चक्रीय अन्नपूर्ण पदमार्गले समेटिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घोरेपानी–पुनहिल क्षेत्रमा यस याममा बढी पर्यटक भित्रिएका छन् । पर्यटकका लागि अनुकूल मौसम भएको र जङ्गलमा ढकमक्क फुलेका लालीगुराँसले नयाँ वर्षको अवसरमा भ्रमणमा आउनेको सङ्ख्या ह्वात्तै बढेका घोरेपानीका होटल व्यवसायी रनबहादुर पुनले जानकारी दिनुभयो ।

    समुद्री सतहदेखि तीन हजार दुई सय १० मिटर उचाइमा रहेको पुनहिलमा पर्यटकको सुविधाका लागि टी एण्ड कफीसप सञ्चालन गर्नुभएका पुनले दैनिकरूपमा सात सयभन्दा  बढी पर्यटक आउने गरेको बताउनुभयो । “विदेशी पर्यटक पनि यो सिजनमा बढेका छन्, बिदाको समयमा घुम्न आउने विद्यार्थीको सङ्ख्या पनि अधिक देखिएको छ”, पर्यटन व्यवसायी पुनले भन्नुभयो ।

    घोरेपानी क्षेत्रमा रहेका ३० होटल तथा मोहरेडाँडास्थित सामुदायिक लज दैनिकजसो भरिभराउ हुन थालेपछि पर्यटन व्यवसायी उत्साहित बनेका छन् । अन्नपूर्ण र धवलागिरि हिमशृङ्खलाका दर्जन बढी हिमाल एकै ठाउँबाट अवलोकन गर्नुका साथै सूर्योदय, घना गुराँसे जङ्गल र जैविक विविधतायुक्त क्षेत्रमा रमाउनका लागि यस क्षेत्रमा बाह्य र आन्तरिक पर्यटक आउने गरेका छन् । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology