Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

दुई दिनमा बाढी पहिरोले १४ को मृत्यु, ७ बेपत्ता

दुई दिनमा बाढी पहिरोले १४ को मृत्यु, ७ बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ८, २०७७ बिहिवार • १६:१४:५० बजे
  • 3.7K
    SHARES
  • दुई दिनमा बाढी पहिरोले १४ को मृत्यु, ७ बेपत्ता

    पछिल्लो दुई दिनदेखिको लगातार वर्षाका कारण मुलुकका धेरै जसो क्षेत्र पुनः प्रभावित हुन पुगेको छ । ठाउँठाउँमा पहिरोका घटना निम्तिएको छ । बाढी र पहिराले केही जिल्लामा मानवीय क्षतिसमेत भएको गृहमन्त्रालयले जनाएको छ ।

    images
    ठाउँठाउँमा आएको बाढी र खसेको पहिराका कारण दुई दिनमा मात्रै १४ जनाको मृत्यु भएको छ । अन्य सात जना हराइरहेका छन् भने तीन जना घाइते भएको गृहमन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिए ।

    प्राप्त विवरणअनुसार कपिलवस्तुमा विद्युत् प्राधिकरणको गाडी खोलाले बगाउँदा एक जनाको मृत्यु र दुई जना बेपत्ता भएका छन् । पाल्पाको रम्भा गाउँपालिकामा घर पुरिँदा पाँच बेपत्ता भएका छन् भने एक जनाको मृत्यु भएको छ । यस्तै धनकुटाको महालक्ष्मीमा पनि एक जनाको मृत्यु भएको छ ।

    स्याङ्जाको कालिगण्डकी गाउँपालिकामा एक जना र वालिङ नगरपालिका–१४ मा दुई घर पुरिँदा नौ जनाको मृत्यु भएको केन्द्रका प्रमुख वस्तीले बताए । यस्तै बाग्लुङमा पनि विपद्‌मा परेर एक जनाको ज्यान गएको छ ।

    लगातारको वर्षाका कारण नदीनालामा बहावसमेत बढ्न थालेको छ । अझै केही दिन वर्षा जारी रहने र बाढी पहिरो खस्नसक्ने भएकाले उच्च सावधानी अपनाई जोखिम क्षेत्रबाट सुरक्षित स्थानमा सरेर बस्न सरकारले आम नागरिकलाई आग्रह गरेको छ ।

    बाढी पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि शुक्रबार नारायणी, पश्चिम राप्ती, बबई, तिनाउ, बाणगङ्गा र त्यसका सहायक नदीमा बहाव खतरा आसपास हुनेछ । यस्तै कर्णाली, कोशी, कनकाई, कमला, वाग्मतीमा सतर्कता आसपास हुने भएकाले ती नदीका तटीय क्षेत्रका क्रियाकलाप नगर्न अनुरोध गरिएको छ ।

    जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार सबै प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका १÷२ स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    बिहीबार राति देशभर सामान्यदेखि पूर्णः मौसम बदली रही धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । सबै प्रदेशका केही स्थानमा भारी वर्षा र केही ठाउँमा अति भारी वर्षाको सम्भावना रहेको जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # पहिरो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology