Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नक्कली भुटानी शरणार्थी प्रकरण : बयानमा पोलिएका ७ जनालाई जुनसुकै बेला पक्राउ गर्न सकिने

नक्कली भुटानी शरणार्थी प्रकरण : बयानमा पोलिएका ७ जनालाई जुनसुकै बेला पक्राउ गर्न सकिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ८, २०८० सोमवार • १८:२४:३९ बजे
  • 580
    SHARES
  • नक्कली भुटानी शरणार्थी प्रकरण : बयानमा पोलिएका  ७ जनालाई जुनसुकै बेला पक्राउ गर्न सकिने

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गरेको सोमबार जिल्ला प्रहरी परिसर काठमाडौँले ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा चलाउन राय दिँदै अनुसन्धान प्रतिवेदन बुझाएको छ ।

    images

    काठमाडौँ सरकारी वकिल कार्यालयलाई बुझाएको प्रतिवेदनमा प्रहरीले ठगी, राज्यविरुद्धको कसुर, संगठित अपराध र एकीकृत कसूरविरुद्धको सजायमा मुद्दा चलाउन राय दिएको छ । यसबाहेक बयानका क्रममा प्रतिवादीहरूले पोलेका तर तत्काल प्रमाण जुटाउन नसकिएका अन्य ७ जना रहेका छन् ।

    उनीहरूलाई संगठित अपराध ऐन २०७० को दफा २२ र फौजदारी कार्यविधि संहिता २०७४ को दफा ३५ बमोजिम जुनसुकै बेला पक्राउ गर्न सकिने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम जोडिएका ‘हाइ प्रोफाइल’ व्यक्तिमाथि किन छानबिन अगाडि बढाइएन भन्दै आलोचना भइरहेको थियो ।

    विशेष गरेर पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु देउवा, पूर्व गृहमन्त्री बालकृष्ण खाण (हाल प्रहरी हिरासतमा) की पत्नी मञ्जु खाण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राई र नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ बारे प्रश्न उठेको थियो ।

    त्यस्तै पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका निजी सचिव राजेश बज्राचार्यको समेत नाम यो प्रकरणमा जोडिएको छ । तर, प्रहरीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गरिहाल्ने प्रमाण भने फेला पारेको छैन ।

    मुद्दा अभियोजनका लागि सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपानेको संयोजकत्वमा ८ जना सरकारी वकिलहरू खटिएका छन् ।

    प्रहरीले सोमबार बुझाएको अनुसन्धान प्रतिवेदन अध्ययन सकेर बुधबारसम्ममा जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर गर्ने तयारी भएको जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता नेउपानेले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology