प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् । श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति आज प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाएका हुन् ।
काउन्सिलको एक कार्यकाल ४ वर्षको हुने व्यवस्था छ । कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिएपनि श्रेष्ठ काउन्सिल सदस्यको पदमा भने यथावत् रहनेछन् । श्रेष्ठको पदावधि यही असोज १२ गते सकिँदैछ ।
सदस्य र कार्यवाहक अध्यक्षका रूपमा भूमिका निर्वाह गरेको अवधि कठिनपूर्ण रहेको श्रेष्ठले राजीनामा पत्रमा उल्लेख गरेका छन् । राजीनामापत्रमा भनिएको छ, ‘प्रेस काउन्सिल मात्र होइन, समग्र पत्रकारिता जगत्को स्वतन्त्रताको जगेर्ना र हित प्रवद्र्धनमा सुरुदेखि नै सङ्घर्ष गर्दै आउनुपरेको क्षण अत्यन्तै रोमाञ्चक र चुनौतीपूर्ण रह्यो ।’
कार्यवाहक अध्यक्ष श्रेष्ठले पदमा रहँदा सरकार र साथीसँगै स्वायत्तताको निम्ति लडाइँ लड्नुपरेको बताएका छन् । उनले संस्थामा रहँदा निर्वाह गरेको भूमिकाप्रति कुनै पश्चाताप नरहेको भन्दै यसबीचमा काउन्सिलको प्रभाव विस्तार देशको पूर्वको ताप्लेजुङदेखि पश्चिमको दाचुर्लासम्म पुगेको र विश्वका अनेक महादेशसम्म सम्पर्क सम्बन्ध विस्तार गर्न सफलता मिलेको बताएका छन् ।
काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी
प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन भएका छन् । आज कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले प्रेस काउन्सिल ऐन, २०४८ बैठक सञ्चालनसम्बन्धी, २०७१, सर्वोच्च अदालतको आदेश र विगतका नजीरसमेतको आधारमा बुढाथोकीलाई अध्यक्ष चयन गरेको हो ।
साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा सदस्यमा नियुक्त गरेको थियो । बुढाथोकीले आजै पदभार ग्रहण गरेका छन् ।