Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १२, २०८० शुक्रवार • ११:२७:२८ बजे
  • 199
    SHARES
  • बुर्तिबाङ बजारको फोहर व्यवस्थापनमा समस्या
    पश्चिम बागलुङको व्यापारिक केन्द्र बुर्तिबाङमा तीव्रगतिमा बजार विस्तार भइरहेको छ । बजारमा जनघनत्व बढ्दो छ । गाउँबाट बसाइँसराइ गरेर यहाँ आउनेको सङ्ख्या दैनिक बढ्दै गएको छ । वर्षौँ अगाडि निर्माण भएका पूर्वाधारले अहिले थेग्न सक्ने अवस्था छैन । बजारको फोहर व्यवस्थितरूपमा व्यवस्थापन हुनसकेको छैन । 
     
    ढोरपाटन नगरपालिकाको केन्द्रसमेत रहेको बुर्तिबाङ बजारको फोहर अहिले वडा नं ३ स्थित बाघखोरमा फाल्ने गरिएको छ । ढोरपाटनले छ वर्षदेखि बाघखोरमा फोहर व्यवस्थापन गर्दै आएको छ । त्यसअघि भूजीखोलामा फोहर व्यवस्थापन गर्ने गरिएको थियो । अहिले बाघखोरमा व्यवस्थापन गरिएको फोहर खोलामा बग्ने गरेको छ । अव्यवस्थितरूपमा व्यवस्थापन गरेको फोहर हावाले उडाएर र पानी पर्दा बगाएर खोलामै पुग्छ । 
     
    फोहरले तमानखोला र भूजीखोला दूषित बनेका छन् । यी दुवै खोला बडिगाडखोलामा मिसिन्छन् । फोहरबाट जलचर प्राणीलाईसमेत असर पुगेको छ । अहिले फोहर व्यवस्थापन गर्दैगरेको ठाउँ नगरपालिकाको वडा नं ३ र ४ को विभिन्न गाउँ तथा तमानखोला पुग्ने सडक छेउमै पर्छ । सडक छेउमा रहेको ‘डम्पिङसाइट’का कारण यात्रुलाई समस्या भएको छ ।
     
    बुर्तिबाङ–बोङ्गादोभान सडकमा दैनिक सयौँ यात्रु ओहोरदोहोर गर्छन् । पैदलयात्रुलाई फोहरको दुर्गन्धले समस्या भएको छ । बुर्तिबाङबजारको फोहर नगरपालिकाले दैनिक यही ल्याएर फ्याँक्छ । कुहिने तथा नकुहिने सबै फोहर एकै ठाउँ फाल्ने गरिएको छ । साँघुरो ठाउँ हुँदा फोहर व्यवस्थापन गर्न समस्या भएको ढोरपाटनका उपप्रमुख धनबहादुर कायतले बताउनुभयो । फोहर व्यवस्थापनका लागि जग्गा खोज्ने अवस्था रहेको उहाँको भनाइ छ ।
     
    “बुर्तिबाङ बजार निकै साँघुरो र वरपर पर्याप्त जग्गा नहुँदा पुरानै ठाउँमा फोहर व्यवस्थापनको विकल्प छैन, जग्गा खोजी गरिरहेका छौँ, हालसम्म पाएका छैनौँ”, उहाँले भन्नुभयो । 
     
    सडक छेउमा थुप्रिएको गन्धले यात्रा गर्न समस्या भएको तमानखोलाका वीरबहादुर सिर्पालीले बताउनुभयो । वरपरको क्षेत्र दुगन्धित बनिरहेको उहाँको भनाइ छ । सिर्पाली भन्नुहुन्छ, “फोहर तमानखोलाको किनारमा थुपारिएको छ, ठूलो पानी पर्यो भने सबै फोहर खोलामा जान्छ, हावाहुरीले उडाएर वातावरण नै दूषित बनाएको छ ।”

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology