सर्लाहीको धनकौल गाउँपालिकामा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप हुँदा १८ जना घाइते भएका छन्। घाइतेमध्ये केहीलाई गोलीसमते लागेको छ। सर्लाहीको रामनगर गाउँपालिकामा एक साताअघि नेकपाका एक कार्यकर्ताको हत्याको घटनालाई लिएर नेकपाका युवा विद्यार्थीले आइतबार सर्लाहीका विभिन्न ठाउँमा जुलुस प्रदर्शन गरेका थिए। धनकौलमा भएको जुलुशकै क्रममा दुई पार्टीका कार्यकर्ताबीच विवाद हुँदा झडप भएको हो। सर्लाहीका प्रहरी प्रमुख एसपी विश्वमणि सुवेदीले घटनामा गोली चलेको पुष्टि गरे।
घाइते हुनेमा १५ जना कांग्रेस र तीन जना नकेपाका कार्यकर्ता रहेका प्रहरीले जनाएको छ। नेकपाका कार्यकर्ताले गोली कांग्रेसका कार्यकर्ताले चलाएको दाबी गरेका छन्। घटनामा संलग्न एक जनालाई पक्राउ गरिएको एसपी पोखरेलले जानकारी दिए। तर, उनले पक्राउ पर्नेको नाम भने खुलाएनन्। ‘अहिले स्थिति सामान्य छ, कुनै तनाव छैन,’ उनले दाबी गरे। रामनगरका नेकपा कार्यकर्ता ६० वर्षीय रामजल रायको एक साताअघि हत्या भएको थियो। रायको हत्या कांग्रेस कार्यकर्ताले गरेको दाबी नेकपाको छ। तर, कांग्रेसले भने यो आरोप अस्वीकार गर्दै आएको छ। यादवको शव अझै सर्लाही जिल्ला अस्पतालमै छ। हत्यारालाई पक्राउ गरी कानुनी कारबाही गर्न नेकपाले माग गरेको छ।