Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सेनाको अगुवाइमा सामुदायिक विपद् व्यवस्थापन अभ्यास

सेनाको अगुवाइमा सामुदायिक विपद् व्यवस्थापन अभ्यास

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १९, २०८० शुक्रवार • ११:०६:०५ बजे
  • 328
    SHARES
  • सेनाको अगुवाइमा सामुदायिक विपद् व्यवस्थापन अभ्यास

    नेपाली सेनाको अगुवाइमा झापामा विपद् व्यवस्थापन नमूना अभ्यास गरिएको छ । अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल रेडक्रस सोसाइटीको सहभागिता थियो ।

    images

    अर्जुनधारा नगरपालिका–९ स्थित सहिद स्मृति उद्यानको जलाशयमा उक्त अभ्यास गरिएको हो । बाढी र डुबानबाट निम्तिने विपद्का बेला सर्वसाधारणले अपनाउनुपर्ने सावधानी, बस्तीमा बाढी पसेपछि गरिने उद्धार कार्य, घाइतेको उपचार र राहत वितरणलगायतको कार्यको कृत्रिम अभ्यास प्रदर्शन गरिएको थियो ।

    झापा मुलुककै बाढी तथा डुबानको उच्च जोखिम क्षेत्रमा पर्दछ । जिल्लाका १५ पालिकामध्ये भद्रपुर, अर्जुनधारा, मेचीनगर, कनकाई, शिवसताक्षी, दमक, गौरादह, झापा, बाह्रदशी, कचनकवल, गौरीगञ्ज र कमल पालिका बाढीको उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाइटी झापाका अध्यक्ष लोकराज ढकाल बताउनुहुन्छ । 

    बाढी र डुबानको उच्च जोखिममा रहेको हुँदा समुदायलाई सम्भावित क्षतिबाट जोगाउन सरोकारवाला निकायले बर्सेनि यस्तो अभ्यास गर्दै आएको र यसबाट उद्धारमा खटिने जनशक्तिको क्षमता अभिवृद्धि हुने जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । 

    नमूना अभ्यास क्रममा बाढी आएर बस्ती डुबानमा परेपछि कोलाहल मच्चिएको, वडाध्यक्षले आपत्कालीन उद्धार निकायमा सूचित गरेको, प्रमुख जिल्ला अधिकारीले उद्धारमा खटिन सुरक्षाकर्मी परिचालन गरेको, सावधानीका लागि साइरन बजेको, उद्धारमा खटिएका सुरक्षाकर्मीले रबरबोट तथा केराका थामको डुङ्गा बनाई पीडितको उद्धार गरेको, रेडक्रसकर्मीले घाइतेको प्राथमिक उपचार गरेको र राहत सामग्री वितरण गरिएकोलगायतका दृश्य देखाइएको थियो ।

    झापामा प्रत्येक वर्ष बाढीबाट १० हजार परिवार प्रभावित हुँँदै आएको रेडक्रसको तथ्याङ्कमा उल्लेख छ । नेपाली सेनाको २१ नम्बर बाहिनीका सहायक रथी धनबहादुर थापा, अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेव गोमदेन, प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, नेपाली सेनाको अरिदम गण चारआलीका प्रमुख सेनानी इमेशमेहर श्रेष्ठ, सशस्त्र प्रहरी २ नं गणका सशस्त्र प्रहरी उपरीक्षक देवराज अर्याल, प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजाललगायतले सामुदायिक विपद् व्यवस्थापनका लागि गरिएको नमूना अभ्यासको अवलोकन गर्नुभएको थियो ।

    अभ्यासमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुई सय जना र रेडक्रसकर्मी ५० जनाले भाग लिएका थिए । स्थानीय स्वस्तिका शिशु सदन र महारानीगञ्ज माविका विद्यार्थीलाई विपद्को अवस्था र जोखिम न्यूनीकरणबारे सुरक्षाकर्मीले प्रशिक्षण दिएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology