Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ

तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २४, २०८० बुधवार • १०:५७:३८ बजे
  • 655
    SHARES
  • तीन वर्षअघिको बाढीले अझै झस्काइरहन्छ

    बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो । बाढीले सयौँ परिवार घरबारविहीन बनायो । बाढीमा परेका १५ जना अझै बेपत्ता छन् । तीन वर्ष अघिको बाढीले स्थानीइलाई भने अझै झस्काइरहन्छ । 

    images

    पानी प¥यो भने स्थानीय राति उठेर खोलामा बहाव के कति छ भनेर हेर्न पुग्छन् । उनीहरु त्रासमा बाँचिरहेका छन् । सम्पत्ति र आफन्त गुमाएका निमप्रकाश विक भन्नुहुन्छ– “त्यो रात सम्झिँदा पनि मुर्छा पर्छु, अहिले त आकाश गड्याङगुडुङ गर्दा पनि झस्किन्छु ।”

    बाढीबाट विककी २५ वर्षीया श्रीमती चनी, नौ वर्षीय जेठो छोरो, दुई वर्षीय माइलो छोरो र २२ दिनको कान्छो छोरो गुमाउनुभएको थियो । भएभरको जायजेथा सबै बाढीले बगाएको थियो । परिवारका सबै सदस्यलाई बाढीले बगाएपछि विक अहिले एक्लो बन्नुभएको छ । उहाँ अहिले ढोरपाटन–९ सुप्राङमा बस्नुभएको छ । 

    “पानी पर्दा जागराम बस्नु पर्ने अवस्था छ”, उहाँले भन्नुभयो । बाढी आएको रात आफू बुकीमा पूजा गर्न गएकाले ज्यान जोगिएको विक बताउनुहुन्छ । बाढीले सबै बगाउँदा उहाँसित अब गरिखाने जग्गा छैन । नगरपालिका तथा विभिन्न सङ्घ संस्थाबाट प्राप्त सहयोगले घर बनाएको उहाँको भनाइ छ ।

    विक भन्नुहुन्छ, “जसोतसो दैनिकी चलिरहेको छ, जग्गा भए खेती किसानी गरेर खान पाइन्थ्यो ।”

    सोही बाढीमा ढोरपाटन–९ का कुलबहादुर विकले परिवारका चार सदस्य गुमाउनुभयो । बाढीले उहाँको घरजग्गासहित २२ वर्षीय जेठो छोरो, २१ वर्षीया बुहारी, १८ वर्षीया छोरी र चार वर्षीया नातिनी बगाएको थियो ।  घरबारविहीन भएपछि उहाँ लामो समय माइतीको आश्रयमा बस्नुभयो । 

    “अहिले ऋण गरेर ढोरपाटनमा घर बनाएको छु”, उहाँले भन्नुभयो । बाढी आएको बेला विक श्रीमती, कान्छो छोरा र दुई बहिनी छोरीसहित गाउँमाथिको बारीमा जानुभएको थियो । “दुम्सीले मकै खाएर हैरान पारेको थियो, बारीमा दुम्सी लखेट्न गएका थियौँ, त्यहीँ गोठमा बस्यौँ”, विकले विगत सुनाउनुभयो–“त्यो दिनको सम्झनाले अझै तर्साइरहन्छ ।”

    बाढीले ढोरपाटन–६, ७, ८ र ९ का एक सय ३१ घरमा क्षति पु¥याएको थियो । एघार जलविद्युत् आयोजनाको विद्युत्गृह तथा नहर, एउटा स्वास्थ्य एकाइ, ११ झोलुङ्गे पुल, पाँच ढलान पुल, १० काठेपुल र दुई विद्यालयसमेत बगाएको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology