Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

जथाभावी फालेको फोहरले बजारक्षेत्र दुर्गन्धित

जथाभावी फालेको फोहरले बजारक्षेत्र दुर्गन्धित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २६, २०८० शुक्रवार • १२:२२:३२ बजे
  • 454
    SHARES
  • जथाभावी फालेको फोहरले बजारक्षेत्र दुर्गन्धित

    बैतडीको तल्लोस्वराड क्षेत्रको व्यापारिक केन्द्रका रूपमा चिनिँदै आएको मेलौली बजार क्षेत्र अव्यवस्थित फोहरका कारण दुर्गन्धित बन्दै गएको छ ।  तल्लोस्वराड क्षेत्रको प्रवेशद्वारका रूपमा समेत चिनिने मेलौली बजार क्षेत्रमा जथाभावी फालिएको फोहरले दुर्गन्धित बनेको हो ।

    images

    जताततै फालिएको फोहरले मेलौली बजारसँगै वसपार्क क्षेत्र दुर्गन्धित बनेको स्थानीय व्यवसायी मोहनसिंह नेगीले बताउनुभयो । नगरपालिका  कार्यालय जोड्ने बाटोसमेत पर्ने बजार क्षेत्रमा जथाभावी फालिएको फोहरका कारण कुरुप बन्दै गएको छ ।
     
    जताततै फोहर थुपार्दा सास्ती भोग्नुपरेको स्थानीय देवबहादुर चन्दले बताउनुभयो । उहाँले भन्नुभयोे, “जततातै फालिएको फोहरले एकदमै सास्ती भइरहेको छ । सहजरूपमा हिँडडुल गर्न समस्या छ । दुर्गन्धले एकातिर हिँडडुल गर्न समस्या छ भने अर्कोतिर श्वास फेर्न गाह्रो भइरहेको छ ।”

    नगरपालिकाको फोहर पनि सडक किनारमै फालिने गरेको गुनासोसमेत रहेको छ । फोहरले नाली र होमपाइप जाम भएका छन् । सिसाका बोतल, प्लाष्टिकलगायतका फोहर जथाभावी फाल्दा खेतबारीमा काम गर्नै समस्या भइरहेको स्थानीय भागरथी चन्दले बताउनुभयो । उहाँले भन्नुभयो, “फोहरले खेतबारीमा पनि काम गर्न असहज भइरहेको छ । सिसा, प्लाष्टिक, कार्टुनलगायतका फोहरले घाँज काट्न समस्या हुने गरेको छ । बालबालिकालाई पनि हिँडडुल गर्न समस्या छ ।” 

    जथाभावी फालिएको फोहरले मानव स्वास्थ्यमा पनि गम्भीर असर पर्ने स्वास्थ्यकर्मीले जनाएका छन् । नगरपालिकासँग फोहर व्यवस्थापनका लागि पटक–पटक आग्रह गर्दा पनि कुनै पहल नभएको स्थानीयको आरोप  छ ।  फोहर व्यवस्थापनका लागि नगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि कुनै सुनुवाइ नभएको व्यवसायी नेगीले बताउनुभयो । उहाँले भन्नुभयो, “बजार क्षेत्रमा जथाभावी फालिने फोहर व्यवस्थापनका लागि नगरपालिकालाई पटक–पटक गुहारिसक्यौँ तर कुनै चासो दिएको छैन ।”

    नगरपालिकाले फोहर व्यवस्थापन गर्ने भने पनि डम्पिङसाइट नहुँदा समस्या भएको मेलौली नगरपालिकाका उपप्रमुख पार्वती विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “अव्यवस्थित फोहर व्यवस्थापनका लागि डम्पिङसाइटका लागि ठाउँ खोजिरहेका छौँ । डम्पिङसाइटकोे टुङ्गो लागेपछि जतिसक्दो चाँडो फोहर व्यवस्थापन गर्छौँ ।”

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology