Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पानीको जोहो गर्न दुई घण्टा

पानीको जोहो गर्न दुई घण्टा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २७, २०८० शनिवार • १८:१६:०३ बजे
  • 586
    SHARES
  • पानीको जोहो गर्न दुई घण्टा
    स्याङ्जाको गल्याङ नगरपालिका–३ पाल्पाली डाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दुई घण्टा बिताउने गरेका छन् ।
     
    गल्याङ बजारबाट पाल्पाली डाँडा करिब तीन सय मिटर दूरीमा पर्दछ । यहाँका अधिकांशले ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरेहका छन् । भालेको डाँकोसँगै उठेर बिहान ९–१० बजेसम्म सबैको समय पानीको खोजीमा बित्छ । बस्ती बसेदेखि अहिलेसम्म यहाँका स्थानीय दुई/अढाई घण्टा पिउने पानीको खोजीमा बिताउँछन् ।
     
    “बर्खा होस्, या हिउँद डोकोमा पानी नबोकी सुक्खा छैन, बर्खामा अलि नजिकको मुहानमा पानी पाइए पनि हिउँदमा पानी कहाँ छ भन्दै खोज्दै हिँड्नुपर्छ”, स्थानीय ४८ वर्षीया चनिसरा गाहाले भन्नुभयो, “पानीको व्यवस्था गरिदिन नगरपालिकासँग धेरै अनुरोध गर्‍यौँ तर पनि पिउने पानी डोकोमा नबोकी खानै पाइँदैन ।”
     
    उहाँले हिउँदको समय पानी खोज्न दुई/अढाई घण्टा लाग्ने बताउँदै एउटा मुहानमा पानी नभए अर्कोमा जानुपर्ने बाध्यता रहेको सुनाउनुभयो । “स्कुल जाने केटाकेटीलाई पानी लिन पठायो दश उतै बजाउँछन्, पानीका कारण राम्रोसँग पढ्न पनि पाउँदैनन्”, गाहाले भन्नुभयो । 
     
    स्थानीय ६९ वर्षीया चेतकुमारी गाहाले पाल्पाली डाँडामा बस्न थालेदेखि पानी बोकेरै खाएको दुःखेसो गर्नुभयो । “पानी बोकेरै जीवन बिताउनु पर्ने भयो, घरमै आएको पानी थाप्ने दिन कहिले आउला ?”, उहाँले प्रश्न गर्नुभयो, “यो डाँडामा बोल्ने मान्छे पनि कोही नभएर होला, खानेपानीमा सधैँ सास्ती खेप्नु परेको छ ।”  
     
    स्थानीय ५५ वर्षीय अमर थापाले आँधीखोला लिफ्टिङ खानेपानीले वस्तुभाउलाई खुवाउन सहज बनाएको बताउनुभयो । “मान्केखोलाको पानी पिउनयोग्य खासै मानिँदैन, नौ घरको संयुक्त एकमात्र धारा छ, वस्तुभाउलाई खुवाउन सबैले डोकोमै बोक्ने गरेका छौँ”, उहाँले भन्नुभयो, “मान्केखोलाको पानी आएको पनि धेरै भएको छैन, कल्लेरीको पानी ल्याउने भनेर घरघरै धारा बनाएका छन् ।” उहाँले कल्लेरीको पानी आए पिउने पानीको समस्या हट्ने बताउनुभयो ।
     
    तुल्सीभञ्ज्याङ खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष लिलाबल्लै अर्यालले ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत पाल्पाली डाँडामा पिउने पानी वितरणका लागि तयारी भइरहेको जानकारी दिनुभयो । अबको एक महिनाभित्र सबैका घरघरमा पानीको धारा आइपुग्ने उहाँले दाबी गर्नुभयो ।
     
    गल्याङ नगरपालिका–३ का वडाअध्यक्ष कृष्ण भट्टराईले तुल्सीभञ्ज्याङ खानेपानी तथा सरसफाइ आयोजनाको पानी अपुग भएमा कोसेढुङ्गाको पानी लिफ्टिङ गरेर पाल्पाली डाँडामा ल्याउने योजना बनाइएको जानकारी दिनुभयो । अब केही महिनाभित्रै गाउँमा खानेपानीको समस्या अन्त्य हुने उहाँको भनाइ थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology