सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरीको गुल्म नै व्यासको छांगरुमा स्थापना भइसकेकाले अब कुनै पनि हालतमा तल नझर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले सशस्त्र प्रहरीलाई बाह्रैमास बस्ने व्यवस्था मिलाउँदैछौं, गएको सशस्त्र प्रहरी तल फर्किदैन ।”
शुक्रबार गृहमन्त्री रामबहादुर थापा र सशस्त्र प्रहरी प्रमुख खनालले सशस्त्र प्रहरीको भवनको शिलन्यास गर्नुभएको थियो । भवन समयमै सक्न ठेकेदारलाई निर्देशन भएको जनाउँदै उहाँले जे अवस्था रहे पनि सशस्त्र प्रहरीको व्यवस्थापन गरिने बताउनुभयो । गत वैशाख ३१ गते व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट बसेको थियो । गत असार २८ गते बसेको मन्त्रिपरिषदको निर्णयअनुसार व्यासको छाङ्रुमा सशस्त्र प्रहरीको गुल्म स्थापना गर्ने निर्णय भएको थियो ।
सशस्त्र प्रहरी अहिले भारतले अतिक्रमण गरेको कालापानी क्षेत्रभन्दा झण्डै १४ किलोमिटर वरै बसेको छ । अहिले सशस्त्र प्रहरीले छांगरुको गागाबाटै कौवा र तिंकर क्षेत्रसम्म नियमित गस्ती गरिरहेको महानिरीक्षक खनालले बताउनुभयो । सशस्त्र प्रहरीका लागि रु १० करोड बजेटमा सुविधासम्पन्न भवन बनाउने गरी ठेक्का लगाइएको छ । ठेक्का प्रक्रियाबाट निर्माण गरिने भवनको सशस्त्र प्रहरीले बाह्रैमास बस्ने गरी डिजाइन गरिएको छ । ढुङ्गा, माटो र काठबाट बन्ने भवनको छतमा जस्तापाता राखिने छ ।
१५ रोपनी क्षेत्रफल जमिनमा तीन दर्जन कोठा निर्माण गरिने छन् । तीन तलाको ब्यारेक भवन निर्माणको योजना रहेको उहाँले जानकारी दिनुभयो ।