Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

वैदेशिक रोजगारीमा रहेका ‘अनडकुमेन्टेड’ श्रमिकलाई वैधानिक बनाइने

वैदेशिक रोजगारीमा रहेका ‘अनडकुमेन्टेड’ श्रमिकलाई वैधानिक बनाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ८, २०८० शुक्रवार • १७:५७:०८ बजे
  • 874
    SHARES
  • वैदेशिक रोजगारीमा रहेका ‘अनडकुमेन्टेड’ श्रमिकलाई वैधानिक बनाइने

    वैदेशिक रोजगारीमा रहेका ‘अनडकुमेन्टेड’ (वैधानिक कागजात नभएका) नेपाली श्रमिकहरूलाई वैधानिक बनाउन पहल थालिएको छ । श्रम, रोजगार तथा सामाजिक सुुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीको सिलसिलामा अवैध रूपमा बस्दै आएका नेपाली श्रमिकलाई वैधानिक बनाउन पहल थालेको हो । त्यसका लागि दुई तरिका अपनाउने भएको हो ।

    images

    नेपाल र नेपालको कानुनका कारण अवैध मानिएका श्रमिकहरूको हकमा सरकारले नै सहज गराउन लागेको मन्त्रालयका सहसचिव राजिव पोखरेलले बताए । नेपालको कानुन अनुसार श्रम स्वीकृति २ वर्षका लागि दिने प्रावधान थियो । सरकारले अबदेखि जति वर्षका लागि वर्किङ भिसाको अवधि छ, त्यही अवधिका लागि श्रम स्वीकृति दिन थालेको छ ।

    ‘हाम्रो कानुनले २ वर्षका लागि श्रम स्वीकृति दिने गरेको थियो । कोही विदेशमा २ वर्षभन्दा बढी समयको लागि वर्किङ भिसा लिएका हुन्छन् । तर, उहाँहरू त हाम्रो कारण अनडकुमेन्टेड भए । त्यसलाई अबदेखि जति वर्षको लागि वर्किङ भिसा लिएको छ, त्यही अवधिको लागि श्रम स्वीकृति दिने गरेका छौं,’ सहसचिव पोखरेलले भने । वैदेशिक रोजगारीमा रहेका १ लाखभन्दा बढीको संख्यामा अवैधानिक रूपमा बसिरहेको अनुमान छ ।

    त्यसमा ५० हजारको हाराहारीमा घरेलु कामदारको रूपमा रहेको हुन सक्ने वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘कति छ भनेर ठ्याक्कै भन्न सकिने अवस्था त छैन । तर, हाम्रो अनुमानमा १ देखि डेढ लाखको हाराहारीमा होलान् । यसको यकिन तथ्यांक निकाल्न गाह्रो छ ।

    त्यसमा नेपालबाट भिजिट भिसामा जाने र उता इलिगल भएर बस्ने गरेका छन्,’ अध्यक्ष भण्डारीले भने । सहसचिव पोखरेलले २ वर्षे श्रम स्वीकृतिको प्रावधानका कारण धेरै नेपाली इलिगल भएर काम गर्नुपर्ने अवस्थामा रहेको बताए । ‘हामीले २ वर्षको श्रम स्वीकृति दियौं । तर, उहाँहरूले उता ४ वर्षको वर्किङ भिसा पाउनुभयो । २ वर्षको श्रम स्वीकृति सकिएपछि त्यसलाई हामीले अनडकुमेन्टेड भन्यौं ।

    त्यसले गर्दा भोलि तलमाथि हुँदा बोर्डबाट दिने सुविधा लगायत दिन कठिनाई हुने भयो,’ उनले भने । उक्त निर्णयसँगै नयाँ श्रम स्वीकृति लिनेहरूले वर्किङ भिसा अनुसार नै श्रम स्वीकृति पाउँदै आएका छन् । तर, पुरानाको हकमा पुनः श्रम स्वीकृति लिने बेला वर्किङ भिसाकै आधारमा श्रम स्वीकृतिको अवधि कायम गर्दै आएको सहसचिव पोखरेलले बताए । त्यसका लागि सम्बन्धित मुलुकहरूबाटै पुनः श्रम स्वीकृति दिने काम थालिएको छ । जुन सम्बन्धित देशमा रहेको दूतावास तथा काउन्सुलरमार्फत अनलाइनबाट आवेदन दिने व्यवस्था मिलाइएको छ ।

    यसरी सम्बन्धित मुलुकमै अनडकुमेन्टेड भएकाहरूको हकमा भने समस्या देखिएको छ । यसका लागि सरकारले कुटनीतिक पहलमार्फत उनीहरूलाई आममाफी दिएर वैधानिक बनाउन सकिने उनको भनाइ छ । ‘सम्बन्धित मुलुकमै इलिगल भएर बसेका छन् । जस्तै ओभरस्टे भए । एउटा मालिकबाट भागेर अर्को मालिकहाँ गए । जसले गर्दा नेपाली कामदारहरूले दुःख पाइरहेका छन्,’ सह–सचिव पोखरेलले भने, ‘तिनीहरूलाई एक चोटी आम माफी दिएर लिगल प्रकृयाबाट काममा फर्काउने वा घर फर्काउने भन्ने छ । त्यसका लागि सरकारले कुटनीतिक पहल गर्नुपर्छ ।’

    नेपालको कारण अनडकुमेन्टेड भएकाहरूलाई नेपालले वैधानिक गराउने तर, उतैको कारणले अनडकुमेन्टेड भएकाहरूलाई कुटनीतिक पहलमार्फत वैधानिक गराउन पहल गर्न लागिएको उनको भनाई छ । यसका लागि सरकारले विभिन्न देशसँग कुटनीतिक पहल थालेर एक पटकलाई आममाफी दिन आग्रह गर्दै आएको छ ।

    विगतमा विभिन्न देशहरूले आम माफी मार्फत घर फर्किन वा वैधानिक भएर काम गर्ने मौका दिएका थिए । तर, त्यो बेला धेरै नेपाली श्रमिकहरू वैधानिक भएका थिए भने केही नेपाली घर फर्किएका थिए । अझै पनि कतिपय नेपालीहरू अवैध रूपमा बस्दै आएका छन् । विशेषगरी नेपालबाट भिजिट भिसामा जाने र उतै लुकेर बस्ने गरेका छन् । उक्त संख्या निकै बढी छ । नेपालमा तथा सम्बन्धित देशहरूमा रहेका एजेन्ट मार्फत भिजिट भिसामा लैजाने गरेका छन् । त्यसका लागि लाखौं रूपैयाँ असुल्ने र उतै अलपत्र पारिदिने गरेका छन् ।

    विदेशमा अलपत्र परेकाहरूको उद्धारमा सहज होस्, कुनै समस्या पर्दा राज्यबाट पाउनुपर्ने सेवा सुविधा सहज रूपमै पाउन् भनेर अनडकुमेन्टेडलाई वैधानिक बनाउन पहल थालेको हो । विदेशमा अवैध रूपमा बस्दै आएका नेपालीहरूलाई उद्धारमा समस्या हुँदै आएको छ ।

    वैधानिक रूपमा बसेकाहरूको उद्धार तथा समस्यामा पर्दा सहजै समाधान गर्न सकिन्छ । तर, कागजातविहीन बनेकाहरूकोे उद्धारमा निकै समस्या हुने सहसचिव पोखरेलको भनाइ छ । समस्यामा परेकाहरूलाई उतै काम गर्ने अवसर सिर्जना गर्ने या नेपाल फर्किन वातावरण बनाउन सरकार लागिपरेको उनको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # वैधानिक बनाइने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology