Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ड्रागन बोट रेस : चीनको सिचुवान च्याम्पियन, नेपाली टोली उपविजेता

ड्रागन बोट रेस : चीनको सिचुवान च्याम्पियन, नेपाली टोली उपविजेता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ९, २०८० शनिवार • २१:२५:५४ बजे
  • 1.0K
    SHARES
  • ड्रागन बोट रेस : चीनको सिचुवान च्याम्पियन, नेपाली टोली उपविजेता

    पोखरामा आयोजना गरिएको नेपाल–चीन मैत्रीपूर्ण ‘ड्रागन बोट रेस’ प्रतियोगितामा नेपाली टोली उपविजेतामा सीमित भएको छ । फेवातालमा यही जेठ ८ देखि सुरु बोट रेसको आज सम्पन्न फाइनलमा चीनको सिचुवान ड्रागन बोर्ट टिमले दुई सय र पाँच सय मिटरको दुवै विधामा च्याम्पियन बन्न सफल भयो ।

    images

    नेपाली टिम ‘नारा ड्रागन बोट टिम’ले दुवै विधामा उपविजेता हुन सफल भएको छ । च्याम्पियन बनेको सिचुवान ड्रागन बोट टिमले दुवै इभेन्टमा गरी रु पाँच लाख ५० हजारका दरले रु ११ लाख नगद पुरस्कारसहित उपाधि हात पार्न सफल भयो । यसैगरी उपविजेता नेपाली टोली नारा ड्रागन बोट टिमले दुवै इभेन्टमा गरी रु सात लाख नगद पुरस्कार पायो । सिचुवानले पाँच सय मिटरको दूरी दुई मिनेट २० सेकेन्डमा पूरा गर्न सफल भयो ।

    यसैगरी दुई सय मिटरको दौड ५३ सेकेन्डमा पार गर्दै दोहोरो उपाधि जित्न सफल भयो । नेपाली टिम नाराले भने पाँच सय मिटरको दूरी दुई मिनेट २३ सेकेन्डमा पूरा गर्न सफल भयो । यसैगरी दुई सय मिटरको दूरी भने ५६ सेकेन्डमा पार गर्दै उपविजेता भएको हो ।

    ड्रागन बोट रेसमा चीनको तीन, नेपालको चार र सिङ्गापुरको एक टोलीले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । चीनको युनान प्रान्तको युनान ड्रागन बोट टोली दुवै विधामा तृतीय हुन सफल भयो । नेपालको नेपाल र्याफ्टिङ एन्ड क्यानोइङ एशोसिइएसन ९एनआरसीए० चौथो भएको छ ।

    प्रतियोगितामा सहभागी सबै टिमलाई जनही रु एक–एक लाख प्रोत्साहन पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगिताका विजेता खेलाडीलाई राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली, नेपालस्थित चिनियाँ राजदूत छन् सोङ, पोखरा महानगर प्रमुख धनराज आचार्यलगायतले पुरस्कार वितरण गरेका थिए ।

    नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकाको आयोजनामा बोट रेस तथा महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद् र चाइनिज ओभरसिज एशोसिएसन पोखरा फेस्टिभलको सहयोगी संस्थाका रूपमा थिए ।

    नेपाल र छिमेकी मित्रराष्ट्र चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले बोट रेस तथा फेस्टिभलको आयोजना गरिएको हो । कार्यक्रमलाई आगामी वर्षमा समेत निरन्तरता दिइने पोखरा महानगरले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # नेपाली टोली उपविजेता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology