लिलामति बिश्वकर्मा
वर्तमान परिवेशमा आधुनिकतातर्फ समाज लम्किदै गर्दा गाउँबस्तीहरु रित्तिदै छ । गुणस्तरीय शिक्षा, स्वास्थ्य, यातायात होस् अथवा रोजगारको शिलशिलामा गाउँबाट शहर लाग्नेको लहर निकै धेरै रहेको छ । जुनसुकै आवश्यकता परिपूर्तिको लागि गाँउ भन्दा शहर नै उचित रहेको देखिन्छ । यस्तै कारणले गर्दा शहरको तुलनामा गाउँमा बसोबास गर्नेको संख्या निकै न्यून मात्रा रहेको पाईन्छ । सहरमा बढ्दो सहरीकरणले गर्दा उच्च जनसंख्या वृद्धिदर भएकोले हरेक विकास निर्माणका कार्यहरु तीब्र गतिमा बढिरेको छ भने यसको ठूलो असर गाउँमा परेको पाइन्छ ।
स्थानीय सरकार गाँउ टोल तथा घरघरमा पुगे पनि अझै गाउँबाट हरेक सुविधाको लागि शहर नै धाउनु पर्ने देखिन्छ भने अर्को तिर यस्ता कारणले उता शहरमा अत्यधिक मात्रामा जनसंख्या वृद्धीले बढी भीडभाड हुनु र यता गाँउ रित्तिन थाल्नु कस्तो विडम्बना हो । नेपाल बहुधार्मिक, बहुभाषिक तथा बहु संस्कृतिले भरिएको देश हो । हाम्रो देश नेपाल २१औं शताब्दीमा पनि विभिन्न किसिमका विविधताले भरिपूर्ण रहेको पाईन्छ । शहर भन्दा अझै पनि गाउँ अत्यधिक मात्रामा कुसंस्कार, कुरिति अन्धविश्वासमा रुमलिएको छ । अझ विडम्बनाको कुरा त धनी गरिब बिचको भेदभाव त छंदैछ ।
त्यसमा पनि जातीय विभेद जस्तो कुसस्कारलाई लिएर उच्च जात मानिएका सामन्ती, शोसकहरुले दलित तथा आर्थिक स्थिति कमजोर भएका गरिब निमुखा जनतालाई गरेको व्यवहार जुन जनावरलाई भन्दा पनि तल्लो स्तरमा तुलना गरि मान्छे मान्छे विच छुवाछुतको व्यवहारलाई सहन नसकेर गाउँ छोड्न वाध्य भएका पनि छन । किनभने शहरमा गाउँको तुलनामा यस्तो कुसंस्कार कमै रहेको छ । तथापी शहर पनि जातीय विभेद तथा छुवाछुत बाट मुक्त छ भन्न चाही मिल्दैन । यस्तै समस्या बोकेको हाम्रो परिवेशले गाँउ छोड्न बाध्य पारेको छ भने अर्को तर्फ छोरा छोरीको उज्जवल भविष्यको लागि गुणस्तरीय शिक्षा, स्वास्थ्य लगायत विलासी आवश्यकताको पछि लागेर गाउँ खाली भएर शहर भरिएको छ । उता गाउँको माया अनि आफ्नो पुर्खौली जाय जेथा चटक्कै माया मार्न नसक्दा एक्लोपनले छट्पटिएका बुबा आमाहरुको अवस्था साह्रै नै दया लाग्दो छ । छोराबुहारी शहर तिर लाग्दा हामी र हाम्रो गाउँलाई छोडेर शहर नजाउ भन्ने हो भने नाति नातिनाहरुको भविष्य विग्रने पो होकी जाउ भनौ भने आफूले दुख गरी जोडेको सम्पत्ति आफु हुर्के बढेको गाउँ ठाँउलाई चटक्कै माया मारेर पछि लागेर जान पनि नसक्ने अवस्था रहेको छ । जुनबेला बुढा बुढी बाबा आमालाई झनै साहराको आवश्यकता पर्न थालेको हुन्छ । त्यही बेला एक्लो हुदै गएका छन् । यस्तै एक्लोपनले सताएका हरेक बुबा आमा संग गरेको कुराकानीले मन नै अमिलो हुन्छ ।
विशेष गरी बुबा आमाहरुलाई एक्लोपनले सताउँदा छोराछोरी अनि नाति नातिनाहरु नै जति बेला पनि मन मस्तिष्कमा घुमि रहने र कहि कतै बाट आमा भनि बोलाएको जस्तो आवाज कानमा गुञ्जि रहेको हुन्छ भन्दै गहभरी आँसु लिएर भक्कानीएकी आमा भन्नु हुन्छ ‘यति धेरै सन्तान पाएर हुर्काएर अहिले डाँडा माथिको घाम भएका हामी बुढाबुढी बाबा आमा कुनै बेला मरियो भने पनि अन्तिम पटक सन्तानको मुख हेर्न नपाईने होकी भन्ने पीरले सताएको छ’ भन्दै रोइरहने बाबा आमाहरुको पीडा दिन प्रतिदिन बढ्दै गइरहेको छ । बुढेसकाल लागे पछि गाह्रो काम गर्न नसक्नु सामान्य काम गरि दीन बिताउन कठिन मान्दै बस्नुपर्ने र दुख सुखका कुरा गर्नको लागी छरछिमेक पनि सुनसान बन्दै गएको छ । गाउँमा मान्छे नै नहुने होकी भन्ने चिन्ताले मन मनै पिरोलिने केही वर्ष पहिलासम्म एउटा घरले नपुगेर अर्को घरसम्म बनाएको अहिले गाउँ नै सुनसान हुने गरि दिन प्रतिदिन गाउँ छोड्नेको संख्या बढ्दै गइरहेको छ ।
अहिले गाउँ गाउँ तथा टोलटोलमा विकास पुगेको छ । तर त्यसको सदुपयोग गर्ने मान्छे छैनन । गाउँमा चिटिक्क बनेको घर रित्तिएर सुनसान बन्दै गएका छन । खेती योग्य जमिन बाझिएर खरबारी बनेका छन । गाउँमा पहिलाको तुलनामा अहिले सेवा सुविधा पुगेको छ । जस्तै प्रत्येक वडामा विद्यालय संञ्चालन भएको छ । तर गुणस्तरीय शिक्षाको अभाव छ । कारण अहिले शिक्षाको उदेश्य भनेको विद्यार्थीलाई कसरी कक्षा अगाडी बढाउने र उच्च शिक्षाको नाम बेचेर छोरा छोरीलाई बैदेशिक रोजगारमा पठाएर बाबा आमाको जिम्मेवारी पुरा हुने थियो भन्ने अधिकांश अभिभावकको मनस्थितिलाई मध्यनजर गर्दै व्यावसायिक विद्यालयले जुन किसिमको शिक्षा शहरमा दिई रहेको छ । यसले गर्दा पनि गाउँका सरकारी विद्यालयमा विद्यार्थी संख्या न्यून हुर्दै गएको कारणले गाँउका सरकारी विद्यालय ओझेलमा परेका छन ।
विदेशी रेमिट्यान्सको भरमा शहर भरिएको छ । सरकारले युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न सके र गाउँमा स्वरोजगार सिर्जना गर्न सके बसाई सराई कम हने थियो । अलिकति विदेशी रेमिट्यान्स आउने बाटो खुल्यो भने बजार पस्ने लहर चलेको देखिन्छ । सरकारले वैदेशिक रोजगारीमा रहेका सम्पूर्ण यूवालाई नेपाल फिर्ता बोलाउने भन्दा पनि अबका दिनहरुमा क्षमतावान युवाहरुको लागि आफ्नो स्तर अनुसारको रोजगारी आफ्नै देशमा गर्न सक्ने वातावरण सिर्जना गरि विदेश पलायन हुने क्षमतावान जनशक्तिलाई रोक्न सके देशको विकासमा केही टेवा पुग्न सक्ने सम्भावना देखिन्छ ।
प्रत्येक बुबा आमाहरुले आफ्नो छोरा छोरीलाई विभिन्न दुख कष्ट सहेर राम्रो शिक्षा दिक्षा दिई क्षमतावान शिक्षित बनाएर विदेशमा अर्काको गुलामी गरी डलरमा रमाउनु भन्दा आफ्नै देशमा केही गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्न सके एका तिर देशको पनि विकास हुने अर्को तिर बुढेसकालमा सन्तानबाट टाढा भएको पीडाले छट्पट्याउनु नपर्ने कुरा मध्यनजर गर्न जरुरी अधिकांश अभिभावकको दायित्व रहेको छ ।
MA Student Dhaulagiri Campus Baglung