Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

“समाजमा नर र नारीको अवस्था”

“समाजमा नर र नारीको अवस्था”

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०८० सोमवार • १७:३४:५६ बजे
  • 1.6K
    SHARES
  • “समाजमा नर र नारीको अवस्था”

    बिनोदानन्द यादव

    images

    प्रत्येक व्यक्तिमा २३ जोडा (४६ वटा) क्रोमोजोम (Chromosomes) रहेको हुन्छ । जसमध्ये १ जोडा (xx वा xy) क्रोमोजोम लिंग निर्धारण गर्ने खालको (allosome)  हुन्छ । पुरुषमा xy र महिलामा xx को उपस्थिति हुन्छ । अर्धसूत्री कोष विभाजन (Meiosis cell division) द्वारा पुरुषबाट यदि x क्रोमोजोम सन्तानमा आए, सन्तान छोरी xx हुने अथावा पुरुषबाट y क्रोमोजोम आए सन्तान छोरा xy हुने गर्छ । छोरा वा छोरी हुनुमा महिलाको कुनै भूमिका हुँदैन । तर हाम्रो समाजले यो तथ्यलाई अझै बुझ्न नसकी छोरी हुनुमा महिला माथि नै देषारोपण गरेको पाईन्छ, जुन अवैज्ञानिक र निराधार हो । छोरा वा छोरी दुवै भविष्यमा पुरुष र महिलाका रुपमा समाज र देश विकासको लागि सक्रिय कर्ताहरु हुन् । समाजमा एउटाको भन्दा अर्कोको महत्व कम वा बढी आँकेर मानव समाजको कल्पना पनि गर्न सकिंदैन ।

    हाम्रो समाजमा लोग्ने र स्वास्नीलाई अर्धाङ्ग र अर्धाङ्गिनी भन्ने चलन छ । “नर र नारी रथका दुई पाङग्रा हुन्” भन्ने उखान प्रचालित रुपमा सुन्ने गरेका छौं । हाम्रो धार्मिक विधि विधानमा यसको शब्दात्मक प्रतिविम्ब स्पष्टतः देखिन्छ तर आजको हाम्रो पितृसत्तात्मक समाजमा पुरुष “शिरको टोपी भएर रहेको छ भने नारी पाउँको जुत्ता” । यो सम्बन्धको अर्थ हुन्छ दास र मालिकको । दास र मालिकको सम्बन्ध कहिल्यै सु-मधुर र राम्रो हुन सक्दैन ।

    rath.jpg

    हाम्रो समाजमा पत्नीलाई लोग्नेको सेवा गर्ने सेविका, मनोरञ्जनको साधन र सन्तान जन्माउने मेशिनको रुपमा हेरिन्छ । अधिकांश लोग्नेहरु स्वास्नीले आफनो सेवा र सुश्रुवामा नै समय विताउन भन्ने चाहन्छन ।

    आर्थिक रुपले सक्रिय वा लोग्ने सरह खेती, उद्योग-धन्दा, व्यापार वा नोकरीमा संलग्न महिलाहरुले किनमेल देखि चुल्हा-चौका, राखन-धरन, स्याहार-सुसार र घर भित्रका सम्पूणर् कामहरुको जिम्मेवारी वहन गर्नै पर्ने बाध्यता छ । उनीहरुसँग कहिल्यै पनि केही ज्ञान प्राप्त गर्ने र वाह्य सूचना प्राप्त गर्ने समय बाँकी नै रहदैन ।

    मलाई एकजना साथीको सम्झना आउँछ । उनी भन्छिन “म विहान ५ वने उठ्छु, तैपनि भ्याउन गाह्रो छ । आफू एक्लैले सम्पूर्ण घर धन्दाको काम सिध्याउनु पर्छ । आफूलाई हतार भैरहेको बेला अझ श्रीमान्को अर्को खेपको चियाको अर्डर आइपुग्छ ।”

    यो समस्या एक दुइ जना महिलाहरुको मात्र होइन, अधिकांश जागिरे महिलाहरुको समस्या हो । यो समस्याको समाधान त्यतिवेला मात्र हुन सक्छ, जुनवेला पराम्परागत पुरुष प्रधान मानसिकताबाट समाज मुक्त हुन्छ । अथवा मानिसहरुमा घर धन्दाको यो काम महिलाको मात्रै जिम्मेवारी होइन, पुरुषहरुको पनि उत्तिकै जिम्मेवारीको काम हो भन्ने धारणाको विकास हुन्छ ।

    copul.jpg

    वास्तवमा समाज विकासको प्रथम चरणबाटै घरेलु कामको जिम्मा महिलाहरुको काँधमा आइपर्ने चलनको थालनी भएको थियो । त्यतिवेला मानिसहरुले वाच्नका लागि खाद्यान जम्मा गर्नु निकै कष्ट दायक काम थियो । महिलाहरुले बच्चा जन्माउनु र हुर्र्काउनु पर्ने भएकोले त्यस्तो कष्टमय कामबाट मुक्ति दिलाउन श्रम विभाजन गरिएको थियो । त्यही श्रम विभाजन अन्तर्गत बाहिर गएर उत्पादन गर्ने र खाना जम्मा गर्ने काम पुरुषका भागमा र जम्मा गरेर ल्याएका खानाहरु साँचेर राख्ने, पकाउने र न्याय पूर्ण ढंगले वितरण गर्ने जिम्मा महिलाहरुको भागमा परेको थियो । तर आजका महिलाहरु पनि पुरुष सँगसगै काँधमा काँध जोडेर उत्पादन कार्यमा संलग्न भै रहेका छन् । पुरुषहरुले मात्रै कमाएर ख्वाउनुपर्छ भन्ने धारणा प्रायः अन्त्य हुने क्रममा छ । कमाउने काममा पुरुषहरुको दायित्वलाई महिलाहरुले पनि आफ्नो दायित्व बनाउन थालिसकेका छन् । यस अवस्थामा पनि हजारौं हजार वर्षको पुरानो पुरुष प्रधान मानसिकता र परम्परालाई अँगालेर घरेलु कामको जिम्मा महिलाहरुको हो, यी कामहरु पुरुषहरुले गर्दा इज्जत जान्छ र जोइटिङग्रे होइन्छ भनेर तर्सिने हो भने नारीहरु घरेलु दासताबाट कहिल्यै मुक्त हुन सक्ने छैनन् । यो गलत परम्परालाई तोड्दैमा पुरुषहरु जोइटिङग्रे ठहरिन्छन र इज्जत जान्छन् भने महिलाहरुले त्यही पराम्परालाई तोडेर कमाउने काम गर्दा वा पुरुषहरुको आर्थिक बोझ हलुङगो पर्दा किन उनीहरु पोइटिङग्रे ठहरिएनन्, इज्जत गएनन् । नारीहरु पारिवारिक सम्पति आर्जनमा भाग लिएर पनि घरको सम्पूर्ण काम धन्दा समेत आफैले भ्याई रहेका छन् । त्यही घर धन्दाको कामलाई नै आफ्नो काम ठानेर आफ्नो व्यक्तित्व विकासका लागि सुनौला अवसरहरु गुमाइरहेका छन् । तर पनि उनीहरु पारिवारीक सम्पत्तिमा पुरुष सरह अधिकार भने पाउँदैनन् । यसलाई दासता नभनेर के भन्ने ?

    जब सम्म महिलाहरु एकहोरो घरेलु दासताबाट मुत्तः भएर सामाजिक उत्पादनको काममा सरिक हुँदैनन् , तब सम्म नदेशको विकास हुन्छ नत नारी मुक्ति नै । त्यसैले समाज र देशमा विकास चाहने व्यक्तिहरुले आफू पनि घरेलु काममा सहभागी भएर महिलाहरुलाई सामाजिक काममा तान्नु जरुरी छ र उनीहरुलाई सिर्जनशील कामहरु गर्न अवसर प्रदान गर्नु नितान्त आवश्यक छ ।

    तर यसो भन्दैमा निरपेक्ष समानाताको सिद्धान्त अँगाल्ने कुरो भने न्यायोचित ठहरिदैन । किन कि सबै परिवारमा सबै व्यक्तिहरूको क्षमता एउटै हुँदैन र सबैको काम र दायित्व त्यतिकै महत्वपूर्ण पनि हुँदैन । यसो हुँदा तुल्नात्मक रुपले महत्वपूर्ण काममा संलग्न व्यक्तिहरुले पनि घरेलु काममा उत्तिकै मात्रामा सहयोग गर्नै पर्छ भन्ने धारणा राख्नु जायज हुँदैन । भनाईको तात्पर्य के मात्र हो भने पति पत्नी दुवै आर्थिक आर्जनको काममा लागेका छन् वा उत्तिकै महत्वपूर्ण काममा संलग्न छन् भने पुरुष पनि घर धन्दाको काममा सहमागी भएर दुवैले दुवैलाइै आफ्नो तर्फबाट सहयोग गर्नुपर्छ । अनि मात्र लोग्ने स्वास्नी अर्धाङ्ग र अर्धाङ्गिनी हुन भन्ने भनाई सार्थक हुन्छ ।

    अहिले त थुप्रै प्रतिभावान महिलाहरु समेत घर धन्दा मै सिमित भएर उनीहरु भन्दा कम प्रतिभावान पूरुषहरुलाई विकासको अवसर जुटाइरहेका छन् । महिलाहरुको दासताको जगमा पुरुषहरुको व्यक्तित्वको विकासको महल खडा भैरहेको छ । नेपालमा थुप्रै गाग्री र मैत्रीयीहरु चुल्हा चौकामा आफनो प्रतिभा खर्चि रहेका छन् ता कि उनीहरु भन्दा कम प्रतिभावान पुरुषहरु फुर्सदिला भएर आफ्नो क्षमता बढाउन पाइरहेका छन् । यही असमानता र दासताको स्थिति अन्त्य हुनु आजको युगको माग हो । यसका लागि महिलाहरु जुटनुपर्छ, सचेत पुरुषहरुले उनीहरुको यो लडाईमा साथ दिनु जरुरी छ । अन्यथा पुरुष सरह महिलाहरुले विकास गर्ने समान अवसर कसरी पाउने ?

    स्नातकोत्तर तह, समाज शास्त्र -प्रथम वर्ष (धौलागिरी बहुमुखी क्याम्पस, बाग्लुङ)

  • सम्बन्धित विषय:

  • # नर र नारीको अवस्था
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology