Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गाउँघरमा देखिन छाडे ढिकी, जाँतो र पानी घट्ट

गाउँघरमा देखिन छाडे ढिकी, जाँतो र पानी घट्ट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २६, २०८० मंगलवार • ०९:३९:५७ बजे
  • 538
    SHARES
  • गाउँघरमा देखिन छाडे ढिकी, जाँतो र पानी घट्ट

    डेढ दशक अगाडि बागलुङ निसीखोलाका प्रत्येक गाउँमा पुग्दा पिँढीको एक छेउ ढुङ्गाको जाँतो र अर्को छेउ काठको ढिकी भेटिन्थे । स्थानीयले त्यही ढिकी जाँतोमा कुटानी पिसानी गर्थे । अहिलेको जस्तो ठाउँ–ठाउँमा मिल थिएनन् ।

    images

    जब यहाँका गाउँमा बिजुलीको पहुँच पुग्यो, तब स्थानीयले हरेक गाउँमा दुई–तीनवटा मिल सञ्चालन गर्न थाले । मिलले कुट्ने र पिस्ने काम गर्न थालेपछि घरका पिँढीमा रहेका ढिकी जाँतोको महत्त्व हराउँदै गयो । अहिले गाउँको कुनै पनि कुनामा ढिकी जाँतो भेट्टाउन सकिन्न । बरु घर–घरमा विद्युतीय मिल भेटिन थालेका छन् । विद्युत्को पहुँच नहुँदा स्थानीयले कुटानी पिसानीका लागि जाँतो, पानीघट्ट र ढिकीको प्रयोग गर्ने गर्थे । ढिकी जाँतो र पानीघट्ट अन्न पिस्ने परम्परागत प्रविधि हो ।

    गाउँ–गाउँमा बिजुलीमार्फत चल्ने मिल पुगेपछि ढिकी दाँतोको प्रयोग घट्दै जानुका साथै लोप हुँदै गएका छन् । कुनै बेला गाउँलेको कुटानी पिसानी गर्ने प्रमुख माध्यम मानिने ढिकी जाँतो अहिलेका पुस्ताले चिन्नसमेत छोडिसकेका छन् । खोलाको ढुङ्गालाई मिस्त्रीले कलात्मकरूपमा कुँदेर जाँतो बनाउँथे भने काठको टुप्पोमा फलामको काँज लगाई भुइँमा पक्की ढुङ्गाको ओखल बनाई ढिकी बन्थ्यो । ढिकी, जाँतोको विकासपछि पानीघट्ट प्रयोगमा आएको बूढापाकाको भनाइ छ ।

    पानीघट्ट खोला तथा नदी किनारमा बनाइने गरिन्थ्यो । खोलाको पानीलाई नहर निर्माण गरी केही माथिदेखि ठूलो पाइपमार्फत फिर्केसम्म झर्ने गरी बनाइन्थ्यो र पानीले फिर्के घुमाएपछि अन्नपात पिस्ने गथ्र्यो । अहिले यो प्रचलन हराइसकेको छ । यस्ता पानीघट्ट ठाडो खोलामा बनाइने गरेको पाइन्छ । अहिले यदाकदा पहिलेका घट्ट जीर्ण अवस्थामा देखिन्छन् । नयाँ प्रविधिको विकाससँगै मौलिक संस्कृति हराउँदै गएकोप्रति बूढापाका दुःखेसो पोख्छन् ।

    नयाँ पुस्ताले पुराना संस्कृतिको संरक्षण नगर्दा आफूहरूको पालाका ढिकी, जाँतो र ओखल हराउँदै गएको निसीखोला गाउँपालिका–७ का देवबहादुर पुन मगर बताउँछन् । मिलले मानिसको दैनिक जीवनमा सहजता प्रदान गरे पनि खाद्यान्नमा हुने पौष्टिक तत्व नष्ट हुने उनको भनाइ छ । ‘पहिले–पहिले ढिकी जाँतोमा कुटे, पिसेको आँटो, पिठो र चामलको स्वादै फरक हुन्थ्यो, अहिले मिलले कुटेको पिठो आँटो खायो भने त्यत्ति स्वादिष्ट हुँदैन, मिलले चामल, मकैको बाहिरी बोक्रासँगै त्यसभित्र हुने पौष्टिकतत्व पनि नष्ट गरिदिँदो रैछ’, उनले भने, ‘अहिले त खाँदाखाँदै बानी पर्यो, पहिले मिलमा पिसेको आटो र चामल खासै मीठो लाग्दैनथ्यो, सजिलोमात्रै खोजेर हुँदैन रैछ, यसले स्वास्थ्यमा कस्तो प्रभाव पारेको छ भन्ने पनि बुझ्नुपर्छ ।’

    अर्का स्थानीय तिलबहादुर सुनारले अहिले गाउँमा कसैको घरमा पनि ढिकी जाँतो नभएको बताउँछन् । अहिलेको पुस्ताले ढिकी कुट्न र जाँतो पिस्न गाह्रो मान्ने हुँदा यस्ता परम्परागत सामग्रीको अस्तित्व सङ्कटमा पर्दै गएको उनले बताए । पहिले आफ्नो परिवार ११ जनाको हुँदा घरमा दुईवटा जाँतो र एउटा ढिकी रहेको स्मरण गर्दै पालैपालो आँटो पिठो पिसेर उपभोग गरेको सुनारले बताउँछन् । अहिले मिलले मान्छेलाई अल्छी बनाउनुका साथै रोगीसमेत बनाएको उनको भनाइ छ ।

    उनका अनुसार पहिले ढिकीमा आँटो, पिठो र सातु पिस्ने गरिन्थ्यो भने ढिकीमा चामल, जौँ र गुन्द्रुक बनाउनका लागि मुला कुट्ने गरिन्थ्यो । खासगरी तिहारको बेला ढिकी जाँतो बढी प्रयोग हुने गरेको हुँदाले बताए । तिहारको बेला ढिकीमा कुटेको चामलको पिठोले टीका लगाउने, दयो बनाउने र नुन कुटेर वस्तुभाउलाई खुवाउने गरेको स्मरण गर्दै अहिले त्यो प्रचलनसमेत हराएको सुनारको भनाइ छ ।

    मिलले कुटानी पिसानीका लागि सहज बनाइदिनुका साथै समयको बचतसमेत भएको स्थानीय ७३ वर्षीया शोभाकुमारी क्षेत्रीले बताए। पहिले पानीघट्ट तथा जाँतोमा आँटो पिठो पिस्ने गाउँलेको घुइँचो लाग्ने गरेको भन्दै अहिले सबै मिलमै कुटानी पिसानीको लागि जाने गरेको बताए । पहिले पानीघट्ट सञ्चालन गरेकाहरू अहिले बन्द गरेर बस्न बाध्य भएको उनको भनाइ छ ।

    ‘घट्ट सञ्चालकले मकै, कोदो, गहुँ, फापर पिस्न आउनेहरूबाट थोरै महसुल उठाउने गर्थे, त्यहीबाट घट्ट सञ्चालकले आफ्नो परिवार चलाउने गरेका थिए, अहिले गाउँले कुटानी पिसानीका लागि मिलमा जान्छन्, घट्टमा कोही पनि आउँदैनन्’, उनले भने, ‘मिलले ढिकी जाँतो र घट्टले भन्दा छिटो कुट्ने पिस्ने काम गरेर होला, पहिले निकै चलको घट्ट अहिले जीर्ण बनेका छन् ।’

  • सम्बन्धित विषय:

  • # जाँतो र पानी घट्ट
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology