Logo

सोमवार, कार्तिक १७ गते २०८३

images
images

गण्डकीमा रासायनिक मल मौज्दात

गण्डकीमा रासायनिक मल मौज्दात

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०८० बिहिवार • १०:१६:२१ बजे
  • 364
    SHARES
  • गण्डकीमा रासायनिक मल मौज्दात

    गण्डकी प्रदेशमा यस किसानलाई आवश्यक रासायनिक मल मौज्दात रहेको छ । बर्सेनि धान खेतीको समयमा रासायनिक मलको अभाव झेल्दै आएका गण्डकी प्रदेशका किसानलाई कृषि सामग्री कम्पनी लिमिटेड पोखराले मल अभाव नहुने जानकारी दिएको हो । कृषि सामग्री कम्पनी लिमिटेड गण्डकी प्रदेश प्रादेशिक कार्यालय, पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाका अनुसार हाल कम्पनीमा डिएपी २१ टन र युरिया पाँच टन गोदाममा छ ।

    images

    थप मल आउने क्रममा रहेकाले यस वर्ष धान खेतीको समयमा रासायनिक मल अभाव नहुने उनले जानकारी दिए । यो वर्ष अहिलेसम्म मलको अभाव नरहेको राष्ट्रिय कृषक समूह महासङ्घ नेपालका केन्द्रीय उपाध्यक्ष चित्रनाथ सापकोटाले जानकारी दिए । धान लगाउने समयमा छिटपुटरुपमा पोटासको अभाव देखिए पनि युरिया र डिएपीको अभाव नरहेको उपाध्यक्ष सापकोटाको भनाइ थियो । ‘तत्काललाई मलको समस्या देखिएको छैन ।

    अब युरिया मल आवश्यक पर्ने समय आउँदैछ’, उपाध्यक्ष सापकोटाले भने, ‘युरिया स्टकमा छैन भनेको सुनेको छु तर आधिकारिक सूचना आएको छैन तर, अहिलेसम्मलाई समस्या छैन ।’ गण्डकी प्रदेशमा एक वर्षमा पाँच हजार टन युरिया, तीन हजार टन डिएपी र पाँच सय टन पोटास आवश्यक पर्ने कृषि सामग्री कम्पनी लिमिटेड पोखराका प्रमुख ठाकुरप्रसाद बास्तोलाले जानकारी दिए । यीमध्ये कास्कीमा एक हजार टन, डिएपी पाँच सय टन र पोटास पचास टन आवश्यक रहेको उनले बताए ।

    चालु आर्थिक वर्षको अन्त्यसम्ममा कास्कीका लागि आवश्यकमध्ये युरिया छ सय टन, डिएपी तिन सय टन र पोटास २१ टन आइसकेको छ । सोही आधारमा अन्य जिल्लाका लागि पनि रासायनिक मल आइसकेको प्रमुख बास्तोलाले जानकारी दिए ।

    अहिलेसम्म आएको मलले उपभोक्ताको चित्त बुझाइरहेको प्रमुख बास्तोलाले बताए । उनले भने, ‘सहकारी संस्था र कृषि सामग्री विक्रेताको माग त ठूलो छ । उहाँहरूको मागअनुसार त पुर्‍याउन सकेको छैन तर चित्त बुझाएको छु ।’ मल अभाव हुन नदिनका लागि नातावाद र पहुँचका आधारमा नबढी दामासाही ढङ्गले सहकारी संस्था र कृषि सामग्री विक्रेतालाई दिएको उनले सुनाए । गण्डकीमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले मल बिक्री गर्दै आएका छन् ।

    जसमा कृषि सामग्रीले ७० र साल्ट ट्रेडिङले ३० प्रतिशत मल बिक्री गर्दै आएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले प्रदेशका ११ वटै जिल्लामा मल बिक्री गर्दै आएको लिमिटेडका सूचना अधिकारी गोपालजङ्ग गुरुङले जानकारी दिए । गण्डकी प्रदेशमा सबैभन्दा बढी नवलपुर र त्यसपछि स्याङ्जा, तनहुँ, कास्कीलगायत जिल्लामा मल खपत हुने गरेको सूचना अधिकारी गुरुङले बताए ।

  • सम्बन्धित विषय:

  • # रासायनिक मल मौज्दात
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology