हाम्रा चाल चलन, परम्परा, विश्वास, मान्यता आदिले हाम्रो जिवन पद्धतिलाई अगाडी बढाउन मद्धत पुगेको छ । हाम्रो समाज साँस्कृतिक विविधतामा अडेको छ । तान्त्रिक विधिद्धारा गरिने पुजा तथा शक्तिको साधना र त्यस प्रतिको विश्वासले आत्मवल बढ्ने र गरिएका कामहरु सफल हुन्छन् भन्ने मान्यता रहेको छ । देशान्तर पुजा यसै मान्यताबाट स्थापित भएको सँस्कृति हो जुन पुजा रोगव्याधि र महामारीबाट पशुपंक्षी तथा चौपाया जनावरहरुलाई संरक्षण गर्न र सुरक्षित राख्न सकिन्छ भन्ने कुरामा स्थानीय वासीहरुको विश्वास रहेको छ ।
पुजाको उद्येश्य र यसको ऐतिहासिक महत्वः
मिति २०८० साल जेष्ठ २८ गते शनिवारका दिन कुश्मा नगरपािलका वडा नं. १ पाङ नुवारमा एक कार्यक्रम गरी देशान्तर पुजा सम्पन्न गरियो । साविक पाङ गा. वि.स. वडा नं. ४ र ५ का १४० घर धुरी संलग्न रहेको देशान्तर पुजामा यस अगाडीका वर्षहरुमा जस्तै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको विभिन्न पुजा आरार्धना गरी सम्पन्न गरियो । स्थानीयवासीहरुको उमंग र उत्साहका साथ उपस्थिति रहेको उक्त कार्यक्रममा स्थानीय भद्र भलाद्मी र जनप्रतिनिहरुको उपस्थिति रहेको थियो ।
देशान्तर पुजाको शुरुवात र यसको धार्मिक तथा साँस्कृतिक महत्व र सम्बन्धको वारेमा कुरा गर्दा स्थानीय ९० वर्षिय रमाकान्त अर्याल यसको आफ्नै परम्पर र छुट्टै महत्व रहेको बताउनुहुन्छ । वहाँका अनुसार यो देशान्तर पुजा आजभन्दा करिव ३०० वर्ष पहिला पर्वते राजा सम्मर सिं मल्लको पालादेखि बाट नै शुरुवात भएको पाईन्छ । तत्कालिन समयमा नयाँ वर्षको शुरुवात संगै गृष्म रितुको आगामन संगै गर्मी बढ्ने र सोही कारणले पशुपंछी र चौपायामा विभिन्न प्रकारका सरुवा रोग र महामारी फैलिने हुदा उक्त महामारीबाट पशुपंछी र चौपायालाई जोगाउनको लागि देशान्तर पुजा गर्ने गरिएको हो । त्यस पछि यसलाई वर्षै पिच्छे नियमित रुपमा पुजा गरी मनाउन थालियो जुन परम्परा हुदै सँस्कृतिको रुपमा रहन गयो ।
देशान्तर भन्नाले दिशा बाँध्ने अथ्र्यात चौकिल्ला बाँधी त्यस भित्र रोगव्याधि पस्न वा लाग्न नदिने भन्ने हो । पुजाको क्रममा गाँउ वस्तीको चार दिशा पुर्व, पश्चिम, उत्तर र दक्षिणका सिमाना तथा नाकामा वेदको ज्ञान प्राप्त गरेका ब्राम्हणद्धारा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पाठ तथा दुर्गा सप्तसती चण्डी पाठ गराई पुजा गर्ने चलन रहेको र सो परम्पर हालसम्म पनि कायम रहेको छ । कुश्मा नगरपालिका वडा नं.१ नुवारका पं. नारायण प्रसाद अर्यालले तान्त्रिक विधिद्धारा गरिने पुजा तथा शक्तिको साधना र यस प्रतिको विश्वासले आत्मवल बढ्ने र गरिएका कामहरु सफल हुने बताउनु हुन्छ । यसै गरी अर्का ८९ वर्षिय समाजसेवी तथा सामाजिक क्षेत्रमा चासो राख्ने घनश्याम उपाध्या सुवेदीले आँफु जान्ने भए देखि बाटै देशान्तर पुजामा सहभागि भएको र पुर्व, पश्चिम, उत्तर र दक्षिणमा निम्न बमोजिमका मन्त्रहरु उच्चारण गरी पाठ तथा पुजा गर्ने गरिएको बताउनुहुन्छ । वहाँका अनुसार
पुर्व : देवि प्रपन्नात्र्तिहरे प्रसीद प्रसीद मातर्जगतेस्खिलस्य ॥ प्रसीद विश्वेश्वरि पाहि विश्वं त्वमिश्वरी देवि चराचरस्य ॥
पश्चिम : शरणागतदीनार्तपरित्राणपरायणे सर्वस्यार्तिहरे देवि नारायणि नमोस्तुते ।
उत्तर : शान्तिकर्मणि सर्वत्र तथा दुःस्वप्नदर्शने ॥ ग्रहपीडासु चोग्रासु माहात्म्यं श्रृणुयान्मम ॥
दक्षिण : रोगानशेषानपहंसि तुष्टा रुष्टा तु कामान् सकलानभीष्टान् ॥ त्वामाश्रितानां न विपन्नराणां त्वामाश्रिता ह्याश्रयतां प्रयान्ति ॥
तत्कालिन समयमा व्यापारिक केन्द्रको रुपमा रहेको पाङ खुर्कोट,दुर्लुङ, बाजुङ, क्याङ, देउपुर, देउराली, लाङ्दी, पुणर् गाउँ लगाएतका स्थान तथा गाउँ वस्तीहरुबाट बाग्लुङ बजार तथा धौलागिरी अञ्चल सदरमुकाममा प्रवेश गर्ने नाकाको रुपमा नुवार रहेको थियो । नुवारको लिस्नेको डिल भन्ने स्थानमा शक्तिकी अधिष्ठात्री देवीको पुजा आरर्धना गर्ने, ब्राम्हणहरु (चार दिशामा चार जना वेद अध्ययन गरेका ब्राम्हण र मुख्य स्थान पुजास्थलमा एक जना ब्राम्हण र अर्को एकजना पुजा गर्ने कर्ता (शुद्ध तथा चोखिनिष्ठ ब्रम्हण) समेत संलग्न रही विधिपुर्वक पुजा पाठ गर्ने र शान्तिको प्रतिकको रुपमा रहेको एक जोडी परेवा उडाउने गरिन्छ । त्यसै गरी देवीलाई बोकाको वली दिई त्यसलाई देवीको प्रसादको रुपमा सम्पुणर् उपस्थित जनहरुले प्रसाद ग्रहण गर्ने चलन रहेको छ ।
तत्कालिन समयमा मल्ल राजाबाट आफ्ना पुरोहित ब्राम्हणहरुलाई बोलाई देशान्तरको पुजा गर्न लगाउने र सो पुजा गर्दा लागेको खर्च सवै दरवारले नै व्यहोर्दै आएकोमा समय परिवर्तन संगै उक्त पुजा व्यवस्थापनमा भएको खर्च स्थानीय वासीहरुबाट व्यहोर्दै आएको पाईन्छ । मधेशको दाङपहाडको पाङभनेर चिनिने यहाँ ब्राम्हण, क्षेत्री, मल्ल ठकुरी, नेवार, दमाई, कामी, सार्की आदि विभिन्न जात जातिहरु एक आपसमा मिलेर बसेको यो स्थानमा मनाईने विभिन्न धार्मिक, साँस्कृतिक चाड पर्व तथा पुजा आजा मध्ये देशान्तर पुजा पनि एक महत्पुणर् पुजा हो । यहाँका विभिन्न जात जातिहरुमा एकताको शुत्रमा बाँध्ने र सामुहिक भावना जाग्रित गराउने हुदा वर्तमान समयमा यस पुजाको महत्व अझ बढ्न गएको छ ।
देशान्तर पुजा गरेबाट गाउँमा पशु चौपायामा लाग्ने रोगबाट मुक्ति हुने ,रोग व्याधि नलाग्ने, समयमै वर्षा हुने, मानिसमा समेत सरुवा रोग नलाग्ने,सहकाल हुने अनिकाल नलाग्ने कृषि पेशामा नै निर्भर रहने कृषकका लागि समयमै खेतिवाली लगाउन पाईने विश्वास गरिदै आएको छ । विषेश गरी गाउमा पशु चौपायामा रोग व्याधि नफैलिन वा गाउँभित्र नै नआउने विश्वास गरिन्छ । उक्त दि देशान्तर पुजाको लागि प्रत्येक घरबाट पुजा सामाग्री पठाईसकेपछि ति घरमा नियमित तिथीमा गर्ने पुजा बाहेक अन्य रुद्री, सत्यनारायणको पुजा लगाएत अन्य तिथी जुराएर गर्ने पुजाहरु ग्रिदैन । यसबाट पनि यो पुजा प्रतिको विश्वास धार्मिक आस्था प्रकट हुने गर्दछ । यो पनि धर्म र सँस्कृतिको माध्यमबाट सामाजिक व्यवस्था कायम गर्ने एउटा राम्रो अभियानको रुपमा लिन सकिन्छ ।
गाँउलेहरु यसरी पुजास्थलमा जम्मा हुने हुदा एक आपसमा कामको बाँडफाँड (श्रम विभाजन) हुने गर्दछ । कोही पुजा व्यवस्थापनमा खटिने, कोही प्रसादी बनाउने र अन्य काममा खटिन्छन् भने अन्य उपस्थित भएकाहरुले सामाजिक प्रकृतिका कामहरु जस्तै पानी, पँधेरा, धारा, कुवा बाटोघाटो, सिँचाई कुलो, पोखरीहरुको अवस्था र निर्माण तथा मर्मतका विषयमा छलफल गर्ने र के कसरी यस्ता सार्वजनिक महत्वका विषयमा श्रमदान लगाएत झारामा काम गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्दछन् । जसबाट समाजमा सामुहिक रुपमा सहकार्य हुने र समाजलाई व्यवस्थित रुपमा अगाडी बढाउनको लागि मदत पुग्ने देखिन्छ ।
यस देशान्तर पुजाको राम्रो पक्ष हुदाहुदै पनि एसको केही आलोचना पनि हुदै आएको पाईन्छ । कतिपय पशु अधिकार कर्मिहरुले पशु चौपायाहरुलाई रोगव्याधि र महामारीबाट जोगाउनको लागि भनेर स्वस्थ्य पशु (बोका) को बली दिने कार्य कसरी राम्रो र विज्ञानसम्मत हुन सक्छ भनि विभिन्न समय समयमा कुरा समेउठाएका छन् । त्यसै गरी पुजा खर्चको नाममा निश्चित तोकिएको रकम (हाल रु. दुईसय) अनिवार्य रुपमा उठाउने चलन छ । जुन अनिवार्य भन्दा पनि ईच्छा अनुसार धुप धजा सहित भेटी राखी ल्याउने पनि गरिन्छ । यसरी अनिवार्य नगर्दा थिति बिग्रिन्छ र पुजा चलाउन गाह्रो हुन्छ भन्नुहुन्छ स्थानीय समाजसेवी गणेश बहादुर मल्ल । यति हुदा हुदै पनि पुजा प्रतिको स्थानीयवासीहरुको विश्वास गहिरो रुपमा रहेको छ । यो हाम्रो परम्पराले सँकृतिको रुप लिईसकेको छ । जुन हाम्रो मानव सभ्यता र जिउने कला पनि हो ।
यसलाई व्यवस्थित रुपबाट संचालन गर्ने तथा सम्पूर्ण स्थानीय वासीहरुको पुजा प्रतिको अपनत्व बोध गराउन पुजा व्यवस्थापन समिति निर्माण गरी आर्थिक संकलन गरी कोष व्यवस्थापन गर्ने र आर्थिक रुपमा विपन्न परिवार तथा व्यक्तिको लागि सोही कोषबाट पुजाको लािग आवश्यक रकम खर्च गर्न सकिन्छ भने पुजास्थलमा चर्को घाम र हुरी वतास तथा पानीबाट शुरक्षित रहन एउटा भवन निर्माण गर्नुपर्ने देखिन्छ ।
निश्कर्षः
मानिस चेतनशिल र सामाजिक प्राणी भएकै कारणले अन्य प्राणी भन्दा फरक भएको हो । हामी आफ्नो लागि मात्र नभई समाजको लागि पनि केही गर्नुर्पछ भन्ने मान्यता राख्छौ । हाम्रा परम्परागत मुल्य, मान्यता, विश्वासले हाम्रो जीवन पद्धतिलाई अगाडी वढाउन सहज बनाएको छ । यसबाट सामाजिक व्यवस्था कायम राख्न मद्धत पुग्दछ । हाम्रा पुर्खाहरुले परम्परादेखि बाट मान्दै तथा पुज्दै आएका भुमे पुजा, कुल पुजा, झाँक्रि पुजा,नाग पुजा, उधौली उभौली पुजा , देशान्तर लगाएतका विभिन्न पुजा आजा तथा धर्म सँस्कृतिको संरक्षण गर्नु र भावि पुस्तालाई हस्तारन्तरण गर्नु हाम्रो कर्तव्य हुन आउँछ । यसैबाट हाम्रो उन्नयन सम्भव हनेछ ।
भिमप्रसाद अर्याल
एम.ए. समाजशास्त्र
प्रथम सेमेष्टर
धौलागिरी बहुमुखी क्याम्पस,बाग्लुङ