Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बैसरीको पहिरो रोकथाम गरिँदै

बैसरीको पहिरो रोकथाम गरिँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०८० मंगलवार • ०९:५४:१६ बजे
  • 547
    SHARES
  • बैसरीको पहिरो रोकथाम गरिँदै

    कालीगण्डकी करिडोरको बेनी–जोमसोम खण्डको सडक अवरुद्ध बनाएको म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ र ३ को सिमानामा पर्ने बैसरी अँधेरीखोलाको पहिरो रोकथामको काम थालिएको छ ।

    images

    म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकअन्तर्गत बैसरीको सडकमा खस्ने पहिराको स्रोतसम्म डोजर लगेर रोकथामको काम सुरु भएको हो । सडकबाट पाखो हुँदै करिब पाँच सय मिटरमाथि लगेको डोजर र खोल्साको पानी प्रयोग गरेर पहिरो रोकथामको काम गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत् प्रजापतिले बताए।

    “छरिएको पानीको स्रोतलाई एकीकृत गरी बग्ने अवस्थामा रहेको जमिनमा डोजरले खोला बगाएर झारिरहेका छौँ”, उनले भने, “करिब दुई सय मिटर लम्बाइको पहिराको आधा भाग यसरी नै बगाइसकेका छौँ । माटो जति पानीले बगाउने र खस्नेजस्तो देखिने ढुङ्गा डोजर लगाएर खसालेका छौँ । अडिन सक्नेलाई चलाएको छैन । गेगर बगाएपछि पहिरो खस्ने ठाउँमा पहाड भेटिएको छ ।” भूमिगत पानीका कारण सिर्जना भएको पहिरो रोकथामका लागि आयोजनाले नयाँ अभ्यास गरेको प्रमुख प्रजापतिले बताए । पानी र डोजर परिचालन गरेर जोखिमयुक्त ढुङ्गामाटो खसालिएको भागबाट पहिरो खस्न रोकिएको छ ।

    पाखोबाट खसाल्ने काम सकिएपछि सडकमा थुप्रिएको ढ्ङ्गामाटो डोजरले पन्छाएर सडकमा यातायात सञ्चालनको तयारी भएको आयोजना प्रमुख प्रजापतिले बताए । पहिरो व्यवस्थापन गर्न प्रयोग भएको खोल्साको पानीलाई पाइपमार्फत सुरक्षितरूपमा व्यवस्थापन गरिने उनले बताए। पहिरो पन्छाउनका लागि साउन २८ गतेदेखि ३२ गतेसम्म बेनी–जोमसोम सडकको घुमाउनेताल–बेगखोला खण्डमा पूर्णरूपमा यातायात बन्द गरिएको छ ।

    बैसरीको पहिराले साउन २१ गतेदेखि सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ । बेनीबाट पोखरेबगरतर्फ जाँदै गरेको ग१ज ६८२० नम्बरको जिप गुडिरहेको अवस्थामा पहिरो खसेर चालक अन्नपूर्ण गाउँपालिका–७ महभिरका ४० वर्षीय लुकजन शेरपुजा घाइते हुनुभएको थियो । पहिराले पुरेको जिप अझै निकालिएको छैन भने सवारीधनीसमेत रहेका शेरपुञ्जाको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

    सडकमा ढुङ्गा खस्ने समस्याको कारण दैनिकजसो यातायात अवरुद्ध हुनुका साथै सवारीसाधन र यात्रुलाई चोटपटक लाग्ने र पुरिने जोखिम छ । पहिरो सुरु हुने स्थानबाटै दीर्घकालीन समाधानको प्रयास गरिएको आयोजनाले जनाएको छ । बैसरी खण्डको विकल्पमा जिप, मोटरसाइकल र ट्रयाक्टरलाई घुमाउनेताल–पिप्ले–रानीपौवा–रिसिनचौतारी–माझखर्क–बेगखोला जोड्ने वैकल्पिक सडक एकतर्फीरूपमा प्रयोग गर्ने व्यवस्था मिलाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीको निर्देशनमा पूर्वाधार विकास कार्यालय म्याग्दीले शुक्रबारदेखि घुमाउनेताल–बेगखोला वैकल्पिक मार्गको मर्मतको काम सुरु गरेको थियो । डोजर, ब्याकुहोलोडर, ट्रयाक्टर र मजदुर परिचालन गरेर हिलो पन्छाउने, ग्राभेल हालेर खाल्डाखुल्डी पुर्ने, खोलामा ह्युमपाइप राख्ने काम भइरहेको कार्यालयका सबइन्जिनियर रविन चोखालले जानकारी दिए । हिलोमा ग्राभेल बिछ्याउने र गाडी क्रस हुने ठाउँ बनाउन लागिएको हो ।

  • सम्बन्धित विषय:

  • # पहिरो रोकथाम गरिँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology