Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बन्दीको मृत्युसँगै बाल सुधार गृहमा तोडफोड

बन्दीको मृत्युसँगै बाल सुधार गृहमा तोडफोड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ४, २०८० सोमवार • ०९:५५:४९ बजे
  • 466
    SHARES
  • बन्दीको मृत्युसँगै बाल सुधार गृहमा तोडफोड

    बलात्कारको आरोपमा मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका एक युवकको आइतबार मृत्यु भएपछि सुधार गृहमा तोडफोड भएको छ ।

    images

    रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आइतबार बिहान रहस्यमय ढङ्गले मृत्यु भएको भन्दै निजका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनाव ग्रस्त भएको हो । बालसुधार गृहभित्र रहेका बस्नेतको मृत्युपछि सुधार गृहमा रहेका पुरुष थुनुवाले भित्रैबाट र मृतकका आफन्तले बाहिरबाट घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने, दोषीलाई कारबाही गर्नुपर्ने र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए ।

    जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले जिल्ला प्रहरी कार्यालय रामेछापबाट विसं २०७७ जेठ २९ गते जबरजस्ती करणी मुद्दाका कारण सुधार गृहमा राखिएका बस्नेतको आइतबार बिहान अचानक बेहोस भएपछि उपचारका लागि गठ्ठाघरस्थित नागरिक अस्पतालमा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको जानकारी दिए ।

    मृतकको बाया खुट्टाको तिघ्रामा पिलो आएको र पहिलादेखि नै आँखामा समस्या रहेको तर बेहोसको कारण खुल्न नसकेको भन्दै घटनाबारे आवश्यक छानबिन गरिरहेको उनले बताए । सुधार गृहले आइतबार परिवारलाई मृत्यु भएको खबर दिए पनि मृत्युको कारण स्पष्ट नगराएको र मृत्यु रहस्यमय भएको भन्दै आफन्तले घटनाबारे बुझ्न खोज्दा उल्टै प्रहरी वृत्त थिमिका प्रहरीले पीडित पक्षमाथि दुर्व्यवहार गरेको आफन्तले आरोप लगाएका छन् ।

    उनीहरुले समयमै उपचार नपाउँदा ज्यान गएको भन्दै घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारबाही र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै नाराबाजी गरेका थिए । घटनापछि आइतबार अपराह्न जिल्ला सुरक्षा समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले घटनाबारे यथार्थ बुझ्न सहायक प्रमुख जिल्ला अधिकारी डोरेन्द्रप्रसाद निरौलाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

    प्रजिअ रिजालले घटनाको अनुसन्धान तथा छानबिन गरी सत्यतथ्य ल्याउन निरौलाको नेतृत्वमा प्रहरी परिसर भक्तपुरका डिएसपी वसन्त पाठक, जिल्ला प्रशासन कार्यालयका अधिकृत अशोककुमार पोखरेल सदस्य सचिव र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका अधिकृत प्रतिनिधि सदस्य रहेको छनबिन समिति गठन गरेको जानकारी दिए । प्रजिअ रिजालले भने, ‘समितिलाई सात दिनभित्र सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी तोकेका छौँ, मृतकका परिवारसँग पनि छलफल भयो, मृतक पक्षसँग सत्यतथ्य अनुसन्धान गर्ने र उनीहरुको जाहेरी प्रहरीले दर्ता गर्ने सहमति भएको छ ।’

    सुधार गृहका इन्जार्च सन्तुलन देशेमरुले मृतक बस्नेत शनिबार साँझ खाना खाएर सुतेको तर राति उठेर ज्वरो आयो भन्दै औषधि मागेर खाएको जानकारी दिए । औषधि खाएर सुते पनि बिहान बेहोस भएपछि तत्कालै नजिकैको नागरिक अस्पताल लगेर उपचार गर्ने क्रममै मृत्यु भएको उनले बताए । ज्वरो आएपछि शनिबार नै नेपाली सेनामा रहेका मृतकका दाजुलाई बिरामीका बारेमा जानकारी दिएर बोलाएको उनले बताए ।

    युसेप नेपालको व्यवस्थापनमा नेपाल सरकार गृह मन्त्रालयअन्तर्गत सञ्चालनमा रहेको बाल सुधार गृहमा क्षमताभन्दा बढी बालबन्दी रहेका छन् । यहाँ दुई सय १० जनाको क्षमता रहेपछि विभिन्न अपराधका घटनामा परेर सुधार गृहमा रहेका ४३ केटी र दुई सय ५७ केटा गरी हाल तीन सय बन्दी रहेका युसेपन नेपालका निर्देशक केशव सुवालले जानकारी दिए ।

    बालबालिकालाई मात्रै सुधार गृहमा राख्ने नियम भए पनि १८ उमेर नाघेकालाई सरकारले कारागारमा पठाउने व्यवस्था नगर्दा सुधार गृहमा १८ वर्षभन्दा माथि उमेरका केटा केटीसमेत रहेका छन् । सुधार गृहमै खाने, बस्ने, खेल्ने, पढ्ने लगायतको सुविधा सरकारले दिएको छ । सुधार गृहभित्रै रहेको विद्यालयमा कक्षा १० सम्मको अध्ययन हुने गरेको निर्देशक सुवालले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # सुधार गृहमा तोडफोड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology