Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

छुटेका रहर

छुटेका रहर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०८० शनिवार • ११:३६:२४ बजे
  • 2.8K
    SHARES
  • छुटेका रहर
    त्रिविशा निरौला 
     
    सानैदेखि मसँगै हुर्किंदै आएका 
    मेरा रहरहरुको बाटो मोडिएछ , 
    मानौं मेरो उनीहरूसँगको नाता तोडिएछ !! 
     
    साथीको हातमा चकलेट देख्दा आफुपनि त्यस्तै बोकी 
    स्कूल जाने रहर , 
    रंगीविरंगी फुलबुट्टे ती 
    लुगा लगाउने रहर !! 
     
    भाँडाकुटी खेल्दा माटोकै भएपनि 
    अरूको भन्दा मिठो 
    खाना बनाउने रहर , 
    आफ्ना बाबा अनि आमाकी
    प्यारी छोरी बन्ने रहर !! 
     
    नयाँ कपडा अनि चुरा लगाएर 
    राम्री देखिने रहर , 
    आफूले भनेका कुरालाई 
    रोई कराई गरी जसो तसो मनाउने रहर !! 
     
    दिनभरि साथीसँगै हराउने रहर , 
    मजस्तै अबुझ यी मेरा अनगिन्ती रहर !! 
     
    आज मसँगै बढेका मेरा यी रहर 
    मभन्दा ज्ञानी देखिन्छन् , 
    अरूको देखासिकी गर्न पटक्कै मन पराउँदैनन् !! 
     
    अरुभन्दा भिन्न बन्न रुचाउँछन् , 
    दुःख किन नहोस् ... 
    तर झुट भन्दा सत्य मन पराउँछन् !! 
     
    राम्रा लुगा अनि मिठो खानाको सट्टा
    राम्रो मन अनि असल विचारमा रमाउँछन् , 
    आफूले देखेको सपना भन्दा 
    परिवारको खुसीमा हराउँछन् !! 
     
    हिजोको दिन भुलेर
    भोलिको दिन बनाउन चाहन्छन् , 
    आफू हुनुको पूर्ण 
    प्रमाण जुटाउन चाहन्छन् !! 
     
    कति शान्त अनि निर्मल बन्न पुगेका छन् मेरा यी रहरहरु ... 
    न कुनै खोट छ 
    न कुनै शंका !! 
     
    सायद ज्ञानी हुँदा हुँदा थकित भएर होला , 
    आज खुला नीलो आकाशमा स्वतन्त्र भई उड्ने चाहना राख्छन् मेरा रहरहरु ... 
    मलाई छोडी मुस्कान रूपी पखेटाका भरमा 
    माथि अनि झन् झन् माथि !! 
     
    तर विडम्बना !! 
    आज मेरो रहरलाई 
     जिम्मेवारीको बोझले थिचेको छ , 
    पैसा कमाउने माध्यम र आरामदायी जिन्दगीको श्रेय बनी प्रकट भएको 
    लोकसेवा नामक ती मोटामोटा
    किताबका बोझले थिचेको छ !! 
     
    अझैपनि म तिमीलाई समात्न चाहन्छु ,
    अनि तिमीसँगै बढ्न चाहन्छु , 
    मेरा छुटेका रहरहरु 
    म तिमीमै हराउन चाहन्छु !! 
     
    उदाउन चाहन्छु अनि सँगै अस्ताउन चाहन्छु , 
    मेरा छुटेका रहरहरुसंगै मपनि
    अघि बढ्न चाहन्छु !!

  • सम्बन्धित विषय:

  • # छुटेका रहर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology