सरोजराज पन्त पर्वत फलेवास नगरपालिका ७ लिमिठाना निवासी पिता हितराज पन्त र माता अनुराधा पन्तका साहिंलो छोरा हुन । हाल बागलुङ नगरीमा रही त्रि.वि. शिक्षण कार्यका साथै एक दर्जन अनुसन्धानात्मक तथा कवितात्मक पुस्तकाकार कृति तथा झण्डै तीन दर्जन अनुसन्धानमूलक आलेख प्रकाशित गर्न सफल वहुआयामिक प्रतिभा हुन् । पन्तका रचनामा मानव समाजका जीव, चराचर, राष्ट्र तथा विश्व समुदायका अनेक घटना, परिघटना, युद्द, हिंसा, विद्रोहका आकृतिगत ढुकढुकी तरङ्गीत भएका छन् । उनका अनुसन्धानात्मक तथा कवितात्मक कृतिमा नेपाली समाज, राष्ट्र र विश्व समुदायका युगचेतनागत प्रतिछाया आएका छन् । पन्तका रचनामा सामाजिक चिन्तनगत वैचारिक चेतना र भावनात्मक वेगका परिस्थितिजन्य अवस्थाको चित्रण प्रस्तुत भएका छन् । उनका रचनामा कामको शिलशिलामा यायावरी जीवनबाट गुज्रदै गर्दा समाजका विविध क्षेत्रमा आफूले देखेका, भोगेका र अनुभूत गरेका विषयगत समसामयिक सवालका उच्छवासलाई प्राज्ञिक तवरले चोटिलो प्रक्षेपण गरिएको छ । कवि पन्तका समग्र कवितामा देशप्रेम, प्रकृतिप्रेम, मातृत्वपे्रम, पूर्खाका गाथाका साथै समाजका सामाजिक कुरीति- कुसंस्कार तथा विकृति-विसङगतिको पर्दाफास गरी सुसंस्कार र सुसंस्कृति स्थापनामा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।
उनका कवितामा समाज रुपान्तरणको सार्थक दृष्टिकोण आएका छन् । कवि पन्तका कवितामा समाजमा जरा गाडेर बसेका रुग्ण विचार, खोटो आचरण, खुराफाती व्यवहार, राजनीतिक बेइमानी, सामाजिक-साँस्कृतिक कुसंस्कार, विसङ्गति तथा वेविचारप्रति चोटिलो व्यङ्ग्य गरिएको छ । उनका कवितामा जीवन भोगाइका समग्र अनुभव र अनुभूतिबाट खारिएका नेपाली तथा विश्व समुदायका सामाजिक, साँस्कृतिक, धार्मिक, आर्थिक, राजनीतिकजस्ता विविध पक्ष साहित्यको समाजशास्त्रीय सैद्घान्तिक मान्यताअन्तर्गत समाहित भएर आएका छन् । कवि सरोजराज पन्तद्वारा रचित समर्पण (२०७५) कविता सङ्ग्रहभित्र सङ्गृहीत ८२ वटा कवितामध्येमा नमुना छनोट विधिबाट सिङ्गो सङ्ग्रहको प्रतिनिधित्व हुने गरी छानिएका १७ वटा कवितामा प्रयुक्त साहित्यको समाजशास्त्रीय मान्यताका आधारमा सङ्क्षिप्त अध्ययन गरिएको छ । प्रस्तुत आलेख पुस्तकालयीय अध्ययनबाट सङ्कलित सामग्रीलाई नमुना छनोट विधिका आधारमा छानिएका पन्तका कविताको समग्र अध्ययन गरी समष्टिगत गुणात्मक पद्घतिमा रही साहित्यको समाजशास्त्रीय मान्यताअनुरुप सङ्क्षिप्त विश्लेषण गरिएको छ । कविता विधामा साहित्यको समाजशास्त्रीय मान्यताअनुरुप अध्ययन गर्न इच्छुक अनुसन्धाता तथा पन्तका कविताका विषयमा जानकारी राख्न चाहने जिज्ञासु पाठक वर्गका निम्ति प्रस्तुत आलेख महत्त्वपूर्ण प्राज्ञिक सामग्रीका रुपमा रहने अपेक्षा गरिएको छ ।
कवि सरोजराज पन्तको समर्पण कविता सङ्ग्रहभित्रका कविताको सिङ्गो प्रतिनिधित्व गरेकोे समर्पण कवितामा मानवीय क्षणभङ्गुर जीवनमा एकअर्काप्रति समर्पित भएर जिवन्त रहने समाजिक कार्यमा लाग्नुपर्ने सन्देश प्रवाह गरिएको छ । प्रस्तुत कवितामा वर्तमान मानिस धनप्रति आशक्त भई सच्चा प्रेमलाई पैसासँग तुलना गरी धोका दिएको प्रवृत्तिप्रति व्यङ्ग्य र सिकाइमूलक सचेतनाको भाव सार्थकताका साथ आएको छ । यस कवितामा आएका सामाजिक सङ्गतसम्बन्धी जीवनका प्रेमभावमय जटिल क्षणका सन्दर्भगत कवितात्मक अभिव्यक्ति “जीवन रहेछ संघर्ष नामको अनौठो एक खेल, मानिस ठूलो संगतले बन्ने संगतैले पर्ने जेल” (समर्पण, पृ. १) अंशमा साहित्यको समाजशास्त्रीय मान्यता झल्किएको छ । यसरी नै उनको गणतन्त्र कवितामा समाजमा व्याप्त शोषण र सामन्तवादी चिन्तनका कारण गरीवले भोग्नु परेका पीडा र त्यस्ता प्रवित्ति विरुद्घका आवाज आउन नसकेका सन्दर्भगत कवितात्मक अभिव्यक्ति “उठन नदिऊँ अब कुनै सामन्तवाद, यो वा त्यो कुनै भेषमा” (गणतन्त्र, पृ. ३) अंशमा साहित्यको समाजशास्त्रीय मान्यता झल्किएको छ । यस्तै गरी पन्तको यो मन कवितामा मानिसका सोंच, विचार र भावनामा छिनछिनमा परिवर्तन आउँदा छेपारोका जस्तै नौरङ्गी मन भएकाले मानिसलाई चिन्न र बुझ्न कठिन भएको सन्दर्भगत कवितात्मक अभिव्यक्ति “क्षण क्षणमा रुप फेर्ने छेपारो नै पो हो कि यो मन, चिन्नैै गाह्रो बुझ्नै गाह्रोे नौरङ्गी छन् यीे हाम्रा मन” (यो मन, पृ. ४) अंशमा साहित्यको समाजशास्त्रीय मान्यता झल्किएको छ ।
यसरी नै उनको शुभेक्षा कवितामा हामी सदैव सिर्जनशील बन्नु पर्ने र दिलको गरा वा दिमागलाई फराकिलो बनाउनु पर्ने सन्दर्भगत कवितात्मक अभिव्यक्ति “नहुने पूरा जतिनै कुरा लेखेर पढे नि, थप्नु नै पर्ने दिलको गरा जतिनै भए नि” (शुभेक्षा, पृ. ९) अंशमा साहित्यको समाजशास्त्रीय मान्यता झल्किएको छ । त्यस्तै गरी पन्तको आमा तिम्रो स्मृतिमा कवितामा आमाप्रति सद्भावको मायाका साथै समाजका मानिसमा दिनानुदिन अरुलाई दुःख, कष्ट र पीडा दिने प्रवृत्ति बढेकाले आमालाई पुकारेर पीडादायी रोदन पोखिएका छन । प्रस्तुत कविता आमाप्रतिको सद्भावप्रेम, प्रकृतिप्रेम र मायाप्रेममा जेलिएको छ । यस कविता जन्मदिने आमाको मायाले सताएको र पिरोलिएको विषयले मातृत्व प्रेमप्रति सन्तान बढी संवेदनशील हुने सन्दर्भगत कवितात्मक अभिव्यक्ति “कति सोच्नु आमा शिशिर कलि यी झापडहरु ?, कति भन्नु आमा यस धर्ती दुखेसा पिरहरु ?” (आमा तिम्रो स्मृतिमा, पृ. १२) अंशमा साहित्यको समाजशास्त्रीय मान्यता झल्किएको छ । यसरी नै उनको कृतघ्न कवितामा अहिले महङ्गी बढेको, भ्रष्टाचारी झनै सलबलाएका र समस्याको भुमरीमा गरीव, निमुखा र सर्वहारा पर्दै गएको र यसको अन्त्य हुनु अनिवार्य रहेको विषयमा आएको सन्दर्भगत कवितात्मक अभिव्यक्ति “महङ्गीले धुरी छोयो भ्रष्टाचारी झनै बढे, समस्याको भुमरीमा सर्वहारा पर्दै गए” (कृतघ्न, पृ.१४) अंशमा साहित्यको समाजशास्त्रीय मान्यता झल्किएको छ ।
यस्तै गरी पन्तको सात भाइ, कोही छैन पराई कवितामा देशमा आएको परिवर्तनपछि संघीयतामा बनाइएका सातवटा प्रदेश सधै एकआपसमा मिलेर बस्नुपर्छ तथा अब थप्न र टुक्रिन दिनु हुदैन भन्ने सन्देश प्रवाह गरिएका राजनीतिक सन्दर्भगत कवितात्मक अभिव्यक्ति “सात भाइ छोरा यी आमाका अब पाउन रोक्नुपर्छ, अंश बण्डा गर्ने होइन सधै संघारीमा बस्नुपर्छ” (सात भाइ, कोही छैन पराई, पृ. १९) अंशमा साहित्यको समाजशास्त्रीय मान्यता झल्किएको छ । यसरी नै उनको नजाऔँभो विदेश कवितामा वैदेशीक रोजगारले समाजमा खुशीमात्र होइन व्यथामयी रोदन दिएको अभिव्यक्तिगत सन्दर्भ झल्किएको छ । प्रस्तुत कवितामा विदेशमा जस्तै गरी मेहेनत गरेमा नेपाललाई लण्डन बनाउन सकिने देशप्रेमी भावना आएको छ । यस कवितामा विदेश जान हाम फाल्ने वर्तमान मानिसका प्रवृत्तिमा परिर्वतन ल्याई स्वदेशको मानसम्मान र गौरव बढाउनु पर्ने सन्देशमूलक सन्दर्भगत कवितात्मक अभिव्यक्ति “ज्यान नफालौँ गई परदेश गरौं देशको सम्मान, रचौँ भविष्य यही भूमिमा हुन्छ नेपाल लण्डन” (नजाऔँभो विदेश, पृ. २१) अंशमा साहित्यको समाजशास्त्रीय मान्यता झल्किएको छ । कवि पन्तका माथि उल्लिखित कविता र प्रयुक्त कवितांश साहित्यको समाजशास्त्रीय सैद्घान्तिक मान्यतागत सन्दर्भका कसीमा जाँचिदा सवल र सान्दर्भिक रहेका छन् ।
कवि सरोजराज पन्तको समर्पण कविता सङ्ग्रहभित्रकोे आश्चर्य शक्ति कवितामा पढेलेखेका मानिस धनका कारण ओझेलमा पर्नु र नेपाली समाज धनमुखी बनेर धन हुने मानिस प्रमुख अतिथिका रुपका पुज्ने कुरीति-कुसंस्कार र विकृति-विसङ्गतिको पर्दाफास गरी सामाजिक मान्यतामा परिवर्तन ल्याई शिक्षित वर्गप्रति सम्मान र समाजमा सुसंस्कार र सुसंस्कृति स्थापनाको आकांक्षाका सन्दर्भगत कवितात्मक अभिव्यक्ति “पढेका मानिस ओझेलमा धनाढ्य हुने प्रमुख अतिथि, शैक्षिक प्रमाणपत्र किन्छ पैसाले बढ्दै गर्यो बेथिति” (आश्चर्य शक्ति, पृ. ३०) अंशमा साहित्यको समाजशास्त्रीय मान्यता झल्किएको छ । यसरी नै उनको अब त सोचौँ कि ? कवितामा समाजका मानिस अहिले व्यतिmगत हितमा नअल्झी देशका लागि केही सोच्नुपर्ने तथा सिङ्गो राष्ट्रमा व्यवहारिक शिक्षा अविलम्ब लागू गर्नुपर्ने सामाजिक सन्देशमूलक सन्दर्भगत कवितात्मक अभिव्यक्ति “व्यतिmगत हितमा नअल्झौँ कोही सोचौँ यो सिङ्गो राष्ट्रलाई, व्यवहारिक शिक्षा प्रदान गरौँ सम्पूणर् यी विद्यार्थीवर्गलाई” (अब त सोचौँ कि ?, पृ. ३३) अंशमा साहित्यको समाजशास्त्रीय मान्यता झल्किएको छ ।
त्यस्तै गरी पन्तको आत्मा मेरो उघ्रिँदैन कवितामा अन्न पानीमा अडेको मानिसको दुई दिने जिन्दगानीमा सवैतिर दुःख-पिर, आपत विपत, मर्म-दर्द परिरहने सामाजिक सन्दर्भगत कवितात्मक अभिव्यक्ति “अन्न पानीमा अडेको जिन्दगीको यो कथा, परिरहने आपत विपत मर्म-दर्द सबैतिर” (आत्मा मेरो उघ्रिँदैन, पृ. ४६) अंशमा साहित्यको समाजशास्त्रीय मान्यता झल्किएको छ । यसरी नै उनको खै ! के हो यो जिन्दगी ? कवितामा समाजका विसङ्गत र नकारात्मक रुझानलाई दुत्कार्दै आदर्श समाजव्यवस्थाका पक्षमा निर्भिकतापूणर् वकालतका सन्दर्भगत कवितात्मक अभिव्यक्ति “भोकमरीसँग सामना गर्न खोज्दा साकार नभै विवश बन्दछ यो जिन्दगी, जीवन यापनका लागि तन्मय सङ्घर्ष गर्न लाग्दा सदा चाकलमाडीले सताउँछ यो जिन्दगी” (खै ! के हो यो जिन्दगी ?, पृ. ५५) अंशमा साहित्यको समाजशास्त्रीय मान्यता झल्किएको छ । यस्तै गरी पन्तको मेरो वर्तमान कवितामा हिरोसिमा र नागासाकीको घाऊ नपुरिंदै मेरो वर्तमान पेन्टागन र विश्व व्यापार केन्द्रमा ठोक्किन पुगेको विश्व घटनाक्रम र राजनीतिप्रति तिखो व्यङ्ग्यवाण प्रहार गरिएको छ । प्रस्तुत कवितामा आतङकारी बिरुद्धको लडाईमा एकजुट भएर लाग्नु पर्ने सन्देशमूलक सन्दर्भगत कवितात्मक अभिव्यक्ति “हिरोसिमा र नागासाकीको घाऊ नपुरिंदै मेरो वर्तमान, पेन्टागन र विश्व व्यापार केन्द्रमा ठोक्किन पुगेको छ” (मेरो वर्तमान, पृ. ६८) अंशमा साहित्यको समाजशास्त्रीय मान्यता झल्किएको छ ।
यसरी नै उनको विउँझ तिमी कवितामा सवैले हातेमालो गरेर समाजमा व्याप्त रुग्ण विचार, खोटो आचरण र खुराफाती व्यवहारको अन्त्य गरेपछि मात्र सार्थक सामाजिक रुपान्तरण सम्भव रहेको सन्देशमूलक सन्दर्भगत कवितात्मक अभिव्यक्ति “यहाँ अझ शुद्ध वसन्त बहार चाहिएको छ” (विउँझ तिमी, पृ. ७२) अंशमा साहित्यको समाजशास्त्रीय मान्यता झल्किएको छ । त्यस्तै गरी पन्तको भूकम्पले ल्याएको साम्यवाद कवितामा सामाजिक व्यथामयी रोदन अबुझ समाजमा जति पोखें पनि कसैले नसुन्ने बरु अझै दुःख, कष्ट र पीडा दिने मानवीय प्रवृत्तिप्रति विरोध गर्दै समयमै न्याय दिलाउन सिर्जनामार्फत दबाब दिएको सन्दर्भगत कवितात्मक अभिव्यक्ति “फुटोस् वैमनस्यताको राग, बनेर नयाँ सिर्जना र संरचना” (भूकम्पले ल्याएको साम्यवाद, पृ. ८२) अंशमा साहित्यको समाजशास्त्रीय मान्यता झल्किएको छ ।
यसरी नै उनको सफलताका मन्त्रहरु कवितामा समाजका सकारात्मक पक्षमा सामाजिक हातेमालो गरी जिन्दगीलाई बाँचुबाँचु, नाँचुनाँचु अनि हाँसुहाँसुजस्तो लोभलाग्दो हैषियत बनाउनु पर्ने सन्देशमूलक सन्दर्भगत कवितात्मक अभिव्यक्ति “सीप सिक्ने स्वावलम्बी हुने इलम गरी घर चलाउने, वृद्ध पुज्ने ज्ञान लिने नैतिक बलले रीतिस्थिति थमाउने” (सफलताका मन्त्रहरु, पृ. ९५) अंशमा साहित्यको समाजशास्त्रीय मान्यता झल्किएको छ । यस्तै गरी पन्तको कालञ्जर हम्पाल पर्वत कवितामा विदेशीने युवालाई कालञ्जर हम्पाल पर्वतको महिमा बताउँदै यसको उचित प्रयोगबाट यही रमाउन, धन कमाउन, व्यापार, व्यवसाय, पर्या-पर्यटन सञ्चालन गर्न आह्वान गरिएको छ । प्रस्तुत कवितामा कालञ्जर हम्पाल पर्वतको सामाजिक, साँस्कृतिक, धार्मिक, आर्थिक महिमा पत्तालगाउन पौराणिक इतिहास अध्ययन गर्नुपर्ने सन्देशमूलक सन्दर्भगत कवितात्मक अभिव्यक्ति “चल्छन् व्यापार व्यवसाय अनेक चल्दछ पर्या-पर्यटन, विदेशीने युवा यही रमाउने हो कमाइ धन टनाटन, बुझौं महिमा कति छ यसको पढी पुराण इतिहास यो, जटिल भइ रहनेछ जीवन नबुझे भाव यस पर्वतको” (कालञ्जर हम्पाल पर्वत, पृ. ९९) अंशमा साहित्यको समाजशास्त्रीय मान्यता झल्किएको छ । कवि पन्तका माथि उल्लिखित कविता र प्रयुक्त कवितांश साहित्यको समाजशास्त्रीय सैद्घान्तिक मान्यतागत सन्दर्भका कसीमा जाँचिदा सवल र सान्दर्भिक रहेका छन् ।
कवि सरोजराज पन्तको समर्पण कविता सङ्ग्रहभित्रका कवितामा नेपाली समाजका सामाजिक, साँस्कृतिक, आर्थिक, राजनीतिकजस्ता विविध क्षेत्रका समसामयिक घटनाक्रमगत विषय आएका छन् । विविध विषयगत अनुसन्धानका क्षेत्रमा क्रियाशील तथा समाजमा व्याप्त विकृति र विसङ्गतिको अन्त्य गरी सामाजिक रुपान्तरणका दिशामा अग्रसर रहेका कवि पन्तले जीवनको प्रारम्भदेखि हालसम्म आपूले अनुभूति गरेका विषयलाई कविता मार्फत समाजका पाठकवर्गमा सकरात्मक सन्देश प्रवाह गरेका छन् । कवि पन्तका समग्र कविता देशप्रेम, प्रकृतिप्रेम, मायाप्रेम, मातृत्वप्रेमजस्ता विषयमा जेलिएका छन् । उनका कवितामा देशप्रेम र मातृत्व प्रेमको संवेदनशीलता भल्किएको छ । कवि पन्तका कवितामा अर्थले मानव जीवनलाई अनर्थ बनाएको विषयगत वर्तमान तीता यथार्थ झल्किएका छन् । प्रस्तुत कविता सङ्ग्रहमा पन्तको जीवन र जगत्प्रतिको समग्र बुझाइ, भोगाइ तथा समतामूलक समाज निर्माणका चिन्तन उजागर भएका छन् । उनका कविताले हरेक मानवलाई आत्ममूल्याङ्कनका साथ समाजका सवै मानवप्रति सम्मानजनक समान दृष्टिकोण राख्न आह्वान गरेका छन् ।
कवि पन्तको समर्पण कविता सङ्ग्रहभित्रका कविता कल्पनामा तरड्गीत उच्चउडानको वेगमा लगाम लगाई सामाजिक विषयगत विविध क्षेत्रका हावाहुरीलाई चुमिरहेकाले साहित्यको समाजशास्त्रीय कसीमा अनुशीलन गर्दा सवल र सान्दर्भिक रहेका छन् । कवि पन्तको प्रस्तुत कविता सङ्ग्रहको गहिरो अध्ययनबाट नेपाली समाजका विविध क्षेत्रमा व्याप्त विकृति र विसङ्गतिको अन्त्य गरी सामाजिक सुसंस्कार र सुसंस्कृतिगत रुपान्तरणका विषयमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा राखिएको छ ।
आनन्दराज सिलवाल
पूर्व क्याम्पस प्रमुख एवम् विद्यावारिधि स्कलर
त्रिभुवन विश्वविद्यालय