Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बागलुङमा लम्पी स्किनबाट तीन करोडको पशुधनमा क्षति

बागलुङमा लम्पी स्किनबाट तीन करोडको पशुधनमा क्षति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १०, २०८० आइतवार • १०:३०:०३ बजे
  • 742
    SHARES
  • बागलुङमा लम्पी स्किनबाट तीन करोडको पशुधनमा क्षति

    गलकोट ( बागलुङ) । ‘लम्पी स्किन’ रोगको सङ्क्रमणबाट बागलुङमा झन्डै तीन करोड बढीको पशुधनमा क्षति पुगेको छ । यसबाट जिल्लामा पाँच हजार तीन सय ८६ गाईगोरु र भैँसी प्रभावित भएको र हालसम्म छ सय १७ पशुको मृत्यु भएको बताइएको छ । रोगबाट क्षति हुने मुख्य पशुमा गाईगोरु रहेको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ ।

    images

    केन्द्रका अनुसार मृत्युको दुई दशमलव ६३ प्रतिशतमात्रै भैँसी रहेको तथ्याङ्क छ भने अन्य क्षति गाईगोरुमा देखिएको हो । केन्द्रले सङ्कलन गरेको तथ्याङ्क अनुसार स्थानीय गाईगोरु र भैँसीको करिब ३० देखि ४० हजार र उन्नत जातको रु एक लाखसम्मको मूल्य पर्ने भएकाले सरदरमा तीन करोडभन्दा बढीको पशुधनमा क्षति भएको भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङका प्रमुख डा ऋषिराम सापकोटाले जानकारी दिए ।

    उनका अनुसार अमेरिकन स्वाइन फिबरबाट समेत बागलुङका बङ्गुरपालन किसानले लाखौँ नोक्सानी ब्यहोरेको बताए । उनले एक सय २२ बङ्गुर मरेको तथ्याङ्क ल्याब परीक्षणबाट पुष्टि भए पनि किसानले चार सय बङ्गुर मरेको जनाउँदै आएको जानकारी दिए । बङ्गुरपालक किसानको नोक्सानी र पेसाबाट पलायन हुन थालेका प्रति विज्ञ केन्द्रले किसानलाई पुनःस्थापनका लागि चालु आर्थिक वर्षमा १६ लाख बजेट विनियोजन गरेको बताए ।

    जिल्लामा फैलँदो क्रममा रहेको लम्पी स्किन रोगबाट पशुलाई बचाउन खोप अभियानलाई प्रभावकारी बनाइएको छ । खोप लगाउने पशुको सङ्ख्या बढेपछि रोग नियन्त्रणउन्मुख भएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र बागलुङले जनाएको छ । जिल्लामा गोरुगाई र भैँसीमा फैलिरहेको लम्पी स्किन रोगबाट बचाउनका लागि निजी र स्थानीय तहले चालेको खोप अभियानमा भेटेरेनरी अस्पताल तथा विज्ञ केन्द्र बागलुङले समेत थप पाँच हजार खोप वितरण गरेको पशुप्राविधिक केशवप्रसाद शर्माले जानकारी दिए ।

    ‘हालसम्म पाँच हजार पशुलाई खोप लगाइएको छ भने अझै एक हजार एक सय खोप लगाउने क्रम जारी रहेको छ, बडिगाड गाउँपालिका, काठेखोला गाउँपालिका, जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाले आफैँ खरिद गरेर एक हजार एक सय खोप लगाइसकेका थिए, केही गाई फार्मले आफैं खोप लगाएका थिए,’ उनले भने, ‘भदौको मध्यतिर छ हजार पशुले खोप पाइसक्ने छन्, खोपका कारण अहिले लम्पी स्किन रोगको सङ्क्रमण र मृत्युदरसमेत घटेर गएको पाइएको छ ।’ भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले ढोरपाटन नगरपालिकामा पाँच सय ५०, गलकोट नपामा पाँच सय, निसीखोला गाउँपालिकामा पाँच सय, तमानखोलामा पाँच सय, बडिगाडमा चार सय, ताराखोलामा तीन सय, बरेङमा दुई सय, काठेखोलामा पाँच सय, बागलुङ नपामा पाँच सय २५ र जैमिनी नपामा पाँच सय डोज खोप वितरण गरिएको जनाएको छ ।

    जसमध्ये एक हजार एक सय खोप लगाउने क्रममा रहेको र अन्य खोप भने पशुलाई लगाइसकेको छ । लम्पी स्किनको सुरुआती चरणमा बडिगाडले एक सय २५, काठेखोलाले एक सय, बागलुङ नपाले चार सय २५ र जैमिनी नपाले चार सय ५० डोज खोप पालिकाकै खर्चले लगाइसकेका थिए । लम्पी स्किन रोगविरुद्धको खोप कार्यक्रमलाई तीव्रता दिएपछि रोग फैलिने क्रम कम भएको छ । जिल्लाको निसीखोला, ढोरपाटन र बडिगाडमा लम्पी स्किनबाट गाई तथा गोरु बढी प्रभावित बनेको तथ्याङ्क छ ।

  • सम्बन्धित विषय:

  • # करोडको पशुधनमा क्षति
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology