Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा भारी कमी

वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा भारी कमी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ५, २०८० शुक्रवार • १२:३६:३१ बजे
  • 946
    SHARES
  • वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा भारी कमी

    वैदेशिक रोजगारीमा जाने युवाको संख्यामा भारी कमी आएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को दोस्रो महिनामै गत आर्थिक वर्षको यसै अवधिको तुलनामा विदेश जाने युवाको संख्या ३३ हजारले कम भएको छ । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार साउन र भदौ दुई महिनामा १ लाख ६ हजार ४५९ जना युवाले श्रम स्वीकृति लिएका छन् । नयाँ र पुनः श्रम स्वीकृति लिनेको संयुक्त संख्या हो ।

    images

    २०७९/८० को साउन र भदौमा कुल १ लाख ३९ हजार ४४२ जना युवा विदेशिएका थिए । यस वर्ष गत आवको तुलनामा श्रम स्वीकृति लिने युवाको संख्या ३२ हजार ९८२ जनाले कमी आएको तथ्यांकले देखाएको छ । भदौमा संस्थागत रुपमा २७ हजार १७१ जनाले श्रम स्वीकृति लिएका छन् । जसमध्ये ३ हजार ७०५ जना महिला छन् । व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ७ हजार ३०५ रहेकोमा १ हजार ६५१ जना महिला छन् । जीटुजीबाट यस महिनामा ८२७ जना विदेश गएकोमा ७२ जना महिला छन् ।

    भदौमा कुल ३५ हजार ३०३ नयाँ श्रम स्वीकृति जारी हुँदा ५ हजार ४२८ जना महिला रहेका छन् । विभागको तथ्यांक अनुसार यस वर्ष भदौमा श्रम स्वीकृति लिने युवाको संख्यामा ३३.४० प्रतिशतले गिरावट आएको छ । भदौ २०७९ मा ५० हजार ८८५ जना युवाले नयाँ तथा पुनः श्रम स्वीकृति लिएका छन् । २०७९ भदौमा ७६ हजार ३०२ जनाले श्रम स्वीकृति लिएका थिए । भदौमा मात्र गत आवको तुलनामा २५ हजार ४१७ कम श्रम स्वीकृति जारी भएको विभागको तथ्यांकमा उल्लेख छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघराज भुर्तेल अहिले वैदेशिक रोजगारीमा जाने युवाको संख्या कमी आउनुमा विदेशबाटै कम माग आउनु मूख्य कारण रहेको बताउँछन् । यसलाई विश्वव्यापी आर्थिक मन्दीको असर भन्न सकिने उनको तर्क छ ।

    ‘कोभिडका कारण बन्द भएका कम्पनीहरु एकसाथ सञ्चालनमा आउँदा गत वर्ष माग बढी आएको थियो,’ उनले भने, ‘यो वर्ष माग झनै बढ्नु पर्ने थियो, त्यसो नहुनुमा आर्थिक मन्दी मूख्य कारण हो ।’ नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार साउन २०८० मा १ खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । अघिल्लो वर्ष काममा गएका युवाहरुले बुझेको तलव अब पठाउन थालेको र यसले रेमिट्यान्स ह्वात्तै बढेको देखिए पनि आगामी दिनमा यो वृद्धि कायमै रहन्छ भन्ने अवस्था विदेश जाने युवाको संख्याले संकेत नगर्ने उनको भनाई छ । चालु आवको पहिलो दुई महिनाको अवधिमा युनाइटेड अरब इमिरेट्स प्रमुख श्रम गन्तव्यका रुपमा देखिएको छ । साउनमा ११ हजार ८७८ जनाले श्रम स्वीकृति लिएको यूएईमा भदौमा ११ हजार ७०९ जनाले श्रम स्वीकृति लिएका छन् ।

    दोस्रो स्थानमा कतार रहेको छ । कतारमा साउनमा १० हजार ५६१ जना गएका थिए । भदौमा कतारमा मात्र ९ हजार ७६७ जनाले श्रम स्वीकृति लिएका छन् । साउनमा साउदी अरेबियमा १० हजार ३० जना गएकोमा भदौमा ८ हजार ८३९ जनाले श्रम स्वीकृति लिएका छन् । मलेसियामा साउनमा ९ हजार २६८ जनाले श्रम स्वीकृति लिएकोमा भदौमा ८ हजार १६९ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांक छ । कुवेतमा साउनमा ३ हजार ७१७ जना नेपाली साउनमा पुगेकोमा भदौमा ३ हजार ३६१ जना पुगेका छन् । दक्षिण कोरियामा साउनमा २४१४ जना पुगेकोमा भदौमा ८७२ जना पुगेको विभागको तथ्यांक छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology