Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खुला आकाश मुनि रात बिताउँदा…

खुला आकाश मुनि रात बिताउँदा…

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १९, २०८० आइतवार • १०:३०:४७ बजे
  • 1.0K
    SHARES
  • खुला आकाश मुनि रात बिताउँदा…

    शुक्रबार बेलुकी खाना खाएर सुतेकी नलगाड नगरपालिका–३ का भावना पुनलाई मध्यरातमा अकल्पनीय रुपमा आएको भूकम्पले ब्युँतायो । उनी भूकम्पको त्यो धक्काको त्रास सम्झिएर सुत्न पाएको अवस्था छैन । उनको परिवारमा भूकम्पको त्रास भने जहाँको तहीँ छ । बस्ने घर भूकम्पले धुजाधुजा बनाएको छ, केही परिवारका सदस्य खुला आकाशमा रात बिताइरहेका छन् भने कोही अस्पतालमा बिरामी कुरुवाको काम गर्दै त्रासमा छन् । पुनजस्तै जुनिचाँदे गाउँपालिका लुहादहका सुरेन्द्र खड्का भेरीमालिका अपसेट प्रेसमा काम गरेर राति सुतेका थिए ।

    images

    राति निद्रामै भूकम्प आएपछि अहिले उनको बास खुला सडकै छ । पटक-पटक गइरहेका परकम्पले उनको बास सडकमै भएको हो । यातायातका साधन एकातिरबाट गुड्छन् भने अर्को भागमा उनीलगायत अन्य सर्वसाधारण सुतिरहेका छन् । कात्तिक महिनाको चिसोले उनीहरुलाई सताइरहेको छ । त्यही चिसोमा खलङ्गालगायत आसपास क्षेत्रका भूकम्पपीडितको बास हुँदै आएको छ ।

    कुशे गाउँपालिकाका धनबहादुर सिंहले गाउँमा भूकम्पको त्रासले त्रिपाल टाँगेर बस्न बाध्य भएको बताए । घरभित्र बसीसाध्यै छैन, उनले भने । ‘पराकम्प आइरहेका कारण कुन समय के हुन्छ थाहा छैन, मनभरि त्रासले बास गरेको छ ।’ जाजरकोटका पाँचवटा पालिकाका अधिकांश घर सग्ला छैनन् । नलगाड नगरपालिका–१ बाट ८ सम्म, भेरी–१, ३ र ४ का अधिकांश घरमा क्षति भएको छ । त्यस्तै छेडागाड, कुशे र बारेकोटमा समेत क्षति बनाएको छ । यहाँका सर्वसाधारणका घर बस्नयोग्य नै नभएको अवस्था छ ।

    मानवीय क्षतिका हिसाबले नलगाड पहिलो नम्बरमा छ । नलगाडमा मात्र ५२ जनाको भूकम्पबाट मृत्यु भएको छ । यसपछि भेरी नगरपालिका रहेको छ । भेरीमा ४२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । छेडागाड नगरपालिकामा एक, जुनिचाँदेमा एक जनाको मृत्यु भएको छ । गम्भीर प्रकृतिका बिरामीलाई मात्र बाहिर सुविधासम्पन्न ठाउँमा उपचारका लागि लगिएको छ भने अन्य बिरामीको पालिकास्थित स्वास्थ्य संस्थामा उपचार जारी रहेको छ । एक सय ५० जनाभन्दा बढीको उपचार जारी छ ।

    अझै केहीले उपचार नपाएको समेत बताएका छन् । छेडागाड –७ मा भूकम्पका कारण घाइते भएका एक व्यक्तिको अहिलेसम्म उद्धार हुन नसकेको प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले बताए । त्यहाँ एम्बुलेन्स नजाने भएकाले समस्या भएको उनले बताए । त्यस्तै गाउँ–गाउँमा फोन सम्पर्क हुन नसकेका कारण अझै गाउँमा घाइते हुनसक्ने अवस्था छ । पालिकाका मुकाममा रहेका घाइतेको उद्धार शनिबार बेलुकीसम्म जारी थियो । अन्य गाउँमा भएका बिरामीको गाउँमै उपचार भएको पालिकाका प्रमुखहरूले बताएका छन् । भौतिकरूपमा कति क्षति भयो भन्ने कुनै यकिन तथ्याङ्क आउन सकेको छैन ।

    अधिकांश मृतकको सनाखत अझै हुनसकेको छैन । अहिलेसम्म पालिकाको नाम र सङ्ख्याबाहेक अन्य कुनै विवरण आउन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले शनिबार नै भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरी जानकारी लिएका थिए ।

    शनिबार नै जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी राहत र उपचारलाई व्यवस्थित बनाउन एक टोलीसमेत निर्माण गरिएको छ । राहत दिने र सहयोग गर्नेले एकद्वार प्रणालीबाट गर्न प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए । सरकारी कार्यालयसमेत काम नलाग्ने गरी क्षति भएको उनले जानकारी दिए । प्रजिअको सरकारी आवास र जिल्ला प्रशासन कार्यालयसमेत बस्न नमिल्ने अवस्थामा पुगेको छ ।

  • सम्बन्धित विषय:

  • # खुला आकाश मुनि
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology