Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जातीय विभेद -छुवाछुतको कसुरमा वडाध्यक्षलाई साढे ४ महिना कैद, ७५ हजार रुपैयाँ जरिवाना

जातीय विभेद -छुवाछुतको कसुरमा वडाध्यक्षलाई साढे ४ महिना कैद, ७५ हजार रुपैयाँ जरिवाना

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ७, २०८० बिहिवार • २३:०२:२३ बजे
  • 1.6K
    SHARES
  • जातीय विभेद -छुवाछुतको कसुरमा  वडाध्यक्षलाई साढे ४ महिना कैद, ७५ हजार रुपैयाँ जरिवाना

    पोखरा महानगरपालिका-२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई जातीय दुर्व्यवहार तथा छुवाछुतको कसुरमा जिल्ला अदालत कास्कीले साढे ४ महिना कैद सजाय सुनाएको छ ।

    images

    वडासदस्य मैया नेपालीले आफूलाई जातीय दुर्व्यवहार र छुवाछुत गरेको भन्दै वडाअध्यक्ष अधिकारीविरुद्ध जाहेरी दिएकी थिइन् । सोही मुद्दामा जिल्ला अदालत कास्कीकी न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बिहीबार अधिकारीलाई ४ महिना कैद र पीडितलाई १० हजार रुपैयाँ क्षतिपूर्ति भराउन आदेश दिएको हो । जातीय तथा अन्य सामाजिक छुवाछुत र भेदभाव सम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ मा जातीय विभेद गर्नेलाई ३ महिना कैद र ५० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था छ ।

    सार्वजनिक पद धारण गरेका व्यक्तिको हकमा अभियोग पुष्टि भए थप ५० प्रतिशत सजाय गर्ने व्यवस्था पनि छ । ‘सोही व्यवस्थाअनुसार थप सजायसहित साढे ४ महिना कैद, ७५ हजार रुपैयाँ जरिवाना र जाहेरवालालाई १० हजार रुपैयाँ क्षतिपूर्ति भर्न आदेश भएको छ’, जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले भने । वडा सदस्य मैया नेपालीका अनुसार दलित समुदायका लागि छुट्याइएको बजेट वडाध्यक्ष अधिकारीले अर्कै क्षेत्रमा खर्च गरेपछि उनले प्रश्न उठाएकी थिइन् ।

    वडाध्यक्ष अधिकारीले आफूमाथि अपशब्द प्रयोग गर्दै र सिंगो दलित समुदायमाथि नै अपमान हुने अभिव्यक्ति दिएको उनको आरोप थियो । वडासदस्य नेपालीको जाहेरीपछि प्रहरीले गत वर्ष २६ पुसमा वडाध्यक्ष अधिकारीलाई पक्राउ गरेको थियो । प्रहरीले १५ दिन हिरासतमा राखेर अनुसन्धान गरेपछि जिल्ला अदालतमा मुद्दा दायर भएको थियो ।

    ९ माघ २०७९ मा भएको थुनछेक बहसमा जिल्ला अदालतका न्यायाधीश ऋषिराज आचार्यको इजलासले अधिकारीलाई १ लाख ५० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । वडासदस्य मैया नेपालीले विभेदका घटनामा पीडितले आवाज उठाए न्याय मिल्ने प्रमाणित भएको बताइन् । ‘अब कोही पनि हेपिएर, दबिएर बस्नुपर्ने अवस्था छैन ।

    यो एउटा फैसलामात्रै होइन, हामीजस्ता सीमान्तकृतका लागि उदाहरण पनि हो जस्तो लागेको छ’, उनले भनिन्, ‘त्यो दिन बोलेर मैले न्याय पाएँ, बोल्नु पर्नेरहेछ । अब अरुलाई पनि आफूमाथि भएको दमन, विभेद, हिंसाको विषयमा बोल्न आग्रह गर्छु ।’

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology