Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १३, २०८० शुक्रवार • १५:५६:२७ बजे
  • 796
    SHARES
  • बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषी ठहर

    क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशाला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ ।

    images

    एउटै कोठामा बसेको बेला सन्दीपले आफूलाई बलात्कार गरेको गौशाला २६ को दाबी रहेको भन्दै अदालतले भनेको छ, ‘गौशाला २६ तथा प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलापको समेत घटनाक्रम समेतलाई विचार गर्दा करणी भएको देखियो ।’

    मुद्दाको सुनुवाइका क्रममा पीडित ‘गौशाला २६’को उमेरबारे पनि निकै विवाद भएको थियो । रालुका गाविस नुवाकोट तथा शंकरापुर नगरपालिका, काठमाडौंको बसाइँसराइ दर्ता किताब र नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जको डेलिभरी रजिस्ट्रर, गौशाला २६ को बकपत्र लगायतले गौशाला २६ को जन्ममिति १८ असार २०६१ भएको र घटना भएको बेला उनको उमेर १८ वर्ष पुगेको इजलासको ठहर छ ।

    गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर करणी गरेकाले सहमतिको नभएको भन्दै अदालतले भनेको छ, ‘सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्दछ ।’ ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

    राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो । त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए । २० असोजमा नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ परे । अनुसन्धान प्रक्रिया पूरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत बलात्कारको मुद्दा चलायो, जसमा जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठायो ।

    त्यसविरुद्ध सन्दीप उच्च अदालतमा गए । २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दियो । तर लामिछानेलाई विदेश जान रोक लगाइएको थियो । त्यसपछि सन्दीप फेरि राष्ट्रिय टिममा परे ।

    लिग टूको खेलका लागि विदेश जान अनुमति माग्दै सर्वोच्च गए । १५ फागुन २०७९ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति पनि दियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology