चाडपर्व नजिकिएसँगै कोरोना भाइरस संक्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा संक्रमणको जोखिम बढ्ने भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ मानिसको नजिकको सम्पर्कबाट सर्ने हुँदा भीडभाड नगरी चाडपर्व मनाउन आग्रह गरेको छ । मन्त्रालयले सकभर दसैँमा घर नजान, जानै परे घर गइसकेपछि कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बस्नसमेत अनुरोध गरेको छ । बस वा हवाईजहाजमा घर जाँदा मास्कको प्रयोग गर्ने, अर्को मानिससँग कुरा गर्दा कम्तीमा दुई मिटर दूरी टाढा राख्ने, बेलाबेलामा साबुनपानी र स्यानिटाइजरको प्रयोग गर्नसमेत आग्रह गरिएको छ ।
कोभिड–१९ का फोकल पर्सन महेन्द्र श्रेष्ठले चाडपर्वसँगै जोखिम गाउँतिर बढ्ने बताउँछन् । उनले उपत्यकालगायत ठाउँबाट मानिस चाडपर्व मनाउन गाउँघरतिर गए त्यहाँ रहेका वृद्धावृद्धा, साना बालबालिका, दीर्घरोगी, सुत्केरीलगायतमा जोखिम बढ्ने बताउँछन् । यही कात्तिक १ गतेदेखि नेपालीको महान् चाड दसैँ सुरु हुँदैछ । त्यसलगत्तै तिहार र छठपर्व सुरु हुँदैछ ।
नेपालमा अहिले संक्रमण एक व्यक्तिबाट अर्को स्थानीय व्यक्तिमा संक्रमण सरेपछि संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको छ । तैपनि अहिले केही जिल्लामा वर्ग विशेष (क्लस्टर)मा संक्रमण फैलिसकेको मन्त्रालयले जनाएको छ । “यसपटक चाडपर्व हामी जहाँ छौँ, त्यही बसेर मनाए हुन्छ । हामी चाडपर्वमा घर गयौँ भने घरमा रहेका बुढा आमाबुबा, साना बालबालिका र दीर्घरोगीलाई संक्रमणको जोखिम हुन्छ”, श्रेष्ठले भने, “बरु यसपटक टीका नलगाए केही हुँदैन, खोप आएपछि अर्को वर्ष टीका लगाउँदा हुन्छ ।”
हिजो शुक्रबार एकैपटक दुई हजार ७ सय २२ जनामा संक्रमण देखिएको थियो । त्यसमध्ये आधाभन्दा धेरै एक हजार ६ सय ३८ काठमाडौं उपत्यकाका संक्रमित रहेका छन् । हिजोको तथ्याङ्कले पनि अहिले सबैभन्दा बढी संक्रमित शहरी क्षेत्रमा रहेको देखाएको छ । अहिलेसम्म काठमाडौं उपत्यकामा मात्रै २६ हजार ७ सय ४१ जना संक्रमित भइसकेका छन् ।
नेपालमा अहिले ८२ हजार ४ सय ५० संक्रमितमध्ये २१ हजार २ सय ३४ सक्रिय संक्रमित छन् । यस्तै ६० हजार ६ सय ९६ जना निको र ५ सय २० जनाको संक्रमणको कारणले निधन भएका छन् । नेपालमा निको हुने दर ७३.६ प्रतिशत रहेको छ ।
मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले दसैँ अर्को वर्ष पनि आउने भएकाले भीडभाड नगरी मनाउन अनुरोध गरेका छन् । उनले दसैँका बेला उच्च संक्रमण भएको जोखिम ठाउँबाट गाउँ जाने भएकाले गाउँतिर संक्रमण सर्ने बताए । “दसैँको बेला कोभिड–१९ को उच्च संक्रमणको ठाउँबाट टीका थाप्न गाउँगाउँ जाँदैछौँ । एकपटक सोचौँ कतै हामीले कोरोना त बोकेर गएका छैनौँ”, उनले भने, “ज्येष्ठ नागरिकसँग रोगसँग लड्ने क्षमता कम हुन्छ । उनीहरुलाई संक्रमण भएको बेला अस्पतालमा राखेर विशेष उपचार गर्नुपर्ने हुन्छ । त्यसैले चाडपर्वको बेला घर जाँदा विशेष ख्याल गर्नुपर्दछ ।”
मन्त्रालयका प्रवक्ता डा गौतमले दसैँमा घर गइसकेपछि बूढाबूढीसँग कम्तीमा दुई मिटर टाढा बस्नुपर्ने, अँगालो हाल्ने, हात समाउने काम नगर्न र उनीहरुको नजिक जाँदा जहिले पनि मास्कको प्रयोग गर्न अनुरोध गरेका छन् ।
इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले दसैँमा घर जाँदा शहरबजारबाट संक्रमण लिएर जाने भएकाले गाउँ जोखिम हुने बताए । उनले दसैँमा आफूभन्दा मान्यजनसँग टीका थप्दा टाढैबाटै बसेर थाप्नसमेत अनुरोध गरे । उनले बसमा घर जाँदा स्वास्थ्यका न्यूनतम मापदण्डसमेत अपनाउनुपर्ने बताए ।
महागरीय ट्राफिक महाशाखाका प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादवले धेरै मानिस पहिल्यै गइसकेकाले यसपटक कम मानिस चाडपर्वमा जाने बताउँछन् । उनले अहिले दैनिक २१ हजार मानिस घर गइरहेको जानकारी दिए । उनले चाडपर्व नजिकिएसँगै घर जाने मानिसको पनि भीड लाग्न थालेको बताए । उनका अनुसार यही असोज १ गतेदेखि अहिलेसम्म तीन लाख १५ हजार मानिस घर गइसकेका छन् ।