Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

विकास पुगेका चिटिक्क परेका ढुङ्गे घर मोटरबाटो, पूर्वाधारले सम्पन्न गाउँमा पनि छैनन् युवा

विकास पुगेका चिटिक्क परेका ढुङ्गे घर मोटरबाटो, पूर्वाधारले सम्पन्न गाउँमा पनि छैनन् युवा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ११, २०८० आइतवार • १३:३१:४७ बजे
  • 4.2K
    SHARES
  • विकास पुगेका चिटिक्क परेका ढुङ्गे घर मोटरबाटो, पूर्वाधारले सम्पन्न गाउँमा पनि छैनन् युवा

    चिटिक्क परेका ढुङ्गे घर । फराकिला आँगन । गाउँको बिचैमा सुविधासम्पन्न मोटरबाटो । गाउँकै मुनि पायक परेको धानखेत । माध्यमिक तहसम्म अध्ययन गर्न गाउँमै विद्यालय । स्वास्थ्यचौकी र घरघरमा पुगेको छ इन्टरनेट । झट्ट हेर्दा लोभलाग्दो देखिने धौलागिरि गाउँपालिकाको मुना गाउँ यी पूर्वाधारले थप सम्पन्न छ । डेढ दशकअघिसम्म सदरमुकाम बेनी बजार आवजावत गर्न गाउँदेखि दुई/तीन दिन पैदलयात्रा गर्नुपर्थ्यो । एक गाग्री पानी लिन डेढ घण्टा लाममा बस्नुपर्थ्यो ।

    images

    अहिले त्यस्तो छैन । विकासका पूर्वाधार गाउँमा पुगेका छन् । तर गाउँमा युवा छैनन् । अध्ययन, व्यापार, रोजगारी र बसाइँसराइका कारण गाउँका अधिकांश घरमा ज्येष्ठ नागरिक र महिला मात्र छन् । “डेढ दशकको अवधिमा यति धेरै परिवर्तन होला भनेर कल्पनानै गरेका थिएनौँ,” धौलागिरि गाउँपालिका–३ मुदीका ६९ वर्षीय टेकबहादुर भण्डारीले भने, “हाम्रो पालामा विकास भनेको कस्तो हुन्छ होला भनेर सोच्ने गर्दथ्यौँ । अहिले विकास त आयो तर यो मर्ने बेलामा हरियो काँक्रो जस्तो मात्र भयो ।” गाउँमा खरले छाएका घर देख्नै मुस्किल छ ।

    गाउँगाउँमा पक्की घर निर्माण गर्ने होड चलेको छ । अक्करे भीर फोडेर खनेका सडकमा मोटर गुडेका छन् । तर गाउँबाट बसाइँ जाने क्रम रोकिएको छैन । गएको दुई वर्षमा मुना गाउँका ३१ परिवारले बसाइँसराइ गरेर अन्यत्र गएका वडा सदस्य नरकुमारी बुढाले बताए । गाउँमा भौतिक विकाससँगै ग्रामीण जनताको जीवनशैली र चेतना परिवर्तन भएको तर, युवा नहुँदा गाउँ शून्य भएको उनको अनुभव छ । “सुविधाका हिसाबले गाउँ र सहरमा खासै फरक छैन ।

    डेढदशक अघिका गाउँ र अहिलेका गाउँमा धेरै कुरामा परिवर्तन आएको छ । सबैभन्दा ठुलो परिवर्तन जनताले सुविधा उपभोग गर्न पाएका छन्”, वडासदस्य बुढाले भने, “तर त्यो सुविधाबाट लाभान्वित हुनुपर्ने वर्ग गाउँमा छैन ।” यस्तो अवस्था मुना गाउँको मात्रै होइन । जिल्लाका ६ वटै स्थानीय तहमा उस्तै छ । एक लाख १४ हजार जनसङख्या रहेको म्याग्दीमा साविकका ४१ गाउँ विकास समितिमध्ये गुर्जा बाहेक सबै ठाउँलाई मोटरबाटोले छोएको छ । विकासका पूर्वाधारसँगै सर्वसाधारणको आयमा वृद्धि भएको र जीवन शैलीमा परिवर्तन देखिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए ।

    विशेष गरी पश्चिम म्याग्दीमा धेरै युवा पलायन भएका छन् । मालिका गाउँपालिका–१ निस्कोटबाट मात्रै एक सय ७२ जना युवाहरू अवैध बाटो भएर अमेरिका पुगेका छन् । सहरमा झैँ गाउँमा विकास पुगेपनि गाउँमै रोजगारीको अभावले गर्दा युवाविहीन भएको मालिका गाउँपालिका–६ का वडाध्यक्ष पथबहादुर रोकाले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology