Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोटमा भलिबल प्रशिक्षण केन्द्र खुल्यो

व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोटमा भलिबल प्रशिक्षण केन्द्र खुल्यो

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन १७, २०७७ शनिवार • १७:५३:२३ बजे
  • 2.4K
    SHARES
  • व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोटमा भलिबल प्रशिक्षण केन्द्र  खुल्यो
    बागलुङ -  व्यावसायिक खेलाडी उत्पादनको लक्ष्यसहित गलकोट नगरपालिका–६ मा भलिबल प्रशिक्षण केन्द्र खुलेको छ ।

    शुक्रबारदेखि प्रशिक्षण शुरु गरिएको केन्द्रका अध्यक्ष याम श्रीसले जानकारी दिनुभयो । प्रशिक्षणमा ५५ युवक र १३ युवती सहभागी छन् । बिहान र बेलुका गरी दैनिक दुई चरणमा प्रशिक्षण चलाइने अध्यक्ष श्रीसको भनाइ छ । “शुरुमा भर्नासहित रु. दुई हजार शुल्क तोकेको छौँ, त्यसपछि मासिक रु. १५ सय तिरे पुग्छ”, उहाँले भन्नुभयो ।

    भलिबलका ‘लेभल’ एक प्रशिक्षक उदयबम मल्लले प्रशिक्षण दिनुहुनेछ । ‘स्वच्छ खेल, समृद्ध भलिबल हाम्रो नारा, स्वच्छ नगर निर्माणमा हाम्रो अभिभारा’ भन्ने आदर्श वाक्यसहित प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याइएको अध्यक्ष श्रीसले बताउनुभयो । मासिक रु. पाँच हजार भाडामा जग्गा लिई प्रशिक्षणका लागि मैदानलगायतका संरचना तयार गरिएको छ । खेलकूद सामग्री खरिदका लागि गलकोट नगरपालिकाले बजेट उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । “गलकोटमा भलिबलको आफ्नै विरासत छ, त्यसलाई जोगाउँदै नयाँ पुस्ताका खेलाडी जन्माउनुछ”, अध्यक्ष श्रीसले भन्नुभयो ।

    गलकोटको भू–बनोटले गर्दा चाहेर पनि फुटबल, क्रिकेटजस्ता खेल प्रवद्र्धन गर्न कठिनाइ छ । भलिबल भने गाउँका कुनाकाप्चासम्मै लोकप्रिय छ । सानो मैदान, सीमित खर्चमा खेल्न सकिने भलिबलले बच्चादेखि ज्येष्ठ नागरिकसम्मलाई लोभ्याउँछ । मेला, महोत्सव र पर्वको अवसरमा वर्षेनि दर्जनौँ ठूला÷साना प्रतियोगिता गलकोटमा आयोजना गरिन्छ । विद्यालय उमेरदेखि नै भलिबलमा पोख्त र कुशल खेलाडी तयार गर्न प्रशिक्षण केन्द्रले सघाउने विश्वास लिइएको छ । अहिले प्रशिक्षण लिइरहेका युवक÷युवती पनि कम उमेरका छन् ।

    गलकोटले भलिबलमा राम्रा प्रतिभालाई जन्म दिएको छ । गत १३ औँ दक्षिण एसियाली खेलकुदमा गलकोट नगरपालिका–१० पाण्डवखानीकी सोफिया पुनले भलिबलतर्फ काँस्य पदक हासिल गर्नुभएको थियो । यस्तै बिच भलिबलमा गलकोटकै राजु विकले नेपाली राष्ट्रिय टिमका तर्फबाट खेल्नुभएको थियो । गम्भीर भण्डारी, योगेश भण्डारीलगायतका पुराना खेलाडीले राष्ट्रिय/अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएका थिए ।

    जिल्ला भलिबल सङ्घका अध्यक्षसमेत रहनुभएका श्रीसले भलिबल खेलको विकासमा सबै खेलप्रेमी र सरोकार भएका पक्षको हातेमालो चाहिने बताउनुभयो । यसअघि बिहीबार प्रशिक्षण केन्द्रको उद्घाटन गर्दै गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गरैले प्रशिक्षणमार्फत अनुशासित, दक्ष र प्रतिस्पर्धी खेलाडी उत्पादन हुनेमा विश्वास व्यक्त गर्नुभएको थियो । उहाँले खेल क्षेत्रको उत्थानमा नगरपालिका सँधै सहयोगी बन्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology