Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कतारका अमिर शेख नेपाल आउन लागेको औपचारिक घोषणा

कतारका अमिर शेख नेपाल आउन लागेको औपचारिक घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ९, २०८१ आइतवार • १२:५८:१९ बजे
  • 799
    SHARES
  • कतारका अमिर शेख नेपाल आउन लागेको औपचारिक घोषणा

    कतारका सरकार प्रमुख अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने तय भएको छ । कतार अमिर शेख नेपाल आउनेबारे परराष्ट्र मन्त्रालयले आधिकारिक घोषणा गरेको हो ।

    images

    परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा अमिर शेख अप्रिल २३ गते नेपाल भ्रमणमा आउने भएका छन् । उनी अप्रिल २४ मा स्वदेश फर्किने कार्यतालिका रहेको छ । अमिर शेख नेपालमा रहँदा राष्ट्रपति पौडेलसँग भेटघाट गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    राष्ट्रपति पौडेलले कतारका अमिर शेखको सम्मानमा राजकीय भोजको आयोजना गर्ने जनाइएको छ । अमिर शेखले २४ अप्रिलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग द्विपक्षीय वार्ता गर्ने छन् । वार्तापछि दुवै नेताले द्विपक्षीय सम्झौता र समझदारीपत्रमा हस्ताक्षर कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । दुई देशबिच विकास साझेदारीलगायतका एजेण्डामा छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार नेपालस्थित कतार दूतावास र परराष्ट्रका अधिकारीहरू भ्रमणको तयारीमा जुटेका छन् । कतारबाट सरकारी टोली आएर एजेण्डालगायका विषयमा छलफल गरेर फर्की सकेको छ । अमिर शेख पहिलो पटक नेपाल भ्रमणमा आउन लागेका हुन् । यसअघि गत नोभेम्बरमा नै नेपाल भ्रमणमा आउने चर्चा चलेको थियो । त्यसको तयारी पनि सुरु भइसकेको थियो । तर अन्तिम समयमा भ्रमण स्थगित गरिएको थियो ।

    यस्तै सम्झौताका मस्यौदाहरू आदान प्रदान भइसकेको मन्त्रालयले जनाएको छ । विशेष गरी शिक्षा, स्वास्थ्य, सञ्चार, सुरक्षा र रोजगारको क्षेत्रमा सम्झौता हुने बताइएको छ । यस्तै कूटनीतिक कर्मचारीलाई तालिम दिने विषयमा पनि सम्झौता हुने भएको छ । कतार प्रहरीमा नेपालीलाई राख्ने गरी पनि सम्झौता हुने बताइएको छ । कतारबाट नेपालमा आउने सहयोग ‘कतार फन्ड फर डेभलपमेन्ट’ (क्यूएफएफडी)मार्फत आउने बताइएको छ ।

    नेपालमा यस फन्डबाट यसअघि कुनै सहायता आएको थिएन । यो फन्डबाट विकास निर्माणमा सहयोग सुरु भएपछि नेपालमा पनि कतार दाता राष्ट्रको रूपमा दर्ज हुने बताइएको छ ।

    सम्झौतापछि कतारले नेपालमा लगानी गर्ने बाटो खुल्ने मन्त्रालयका एक अधिकारीले बताए । ती अधिकारीका अनुसार विभिन्न नौ वटा सम्झौताको मस्यौदामाथि छलफल भइरहेको छ । यस्तै केही श्रम सम्झौता पनि हुने जनाइएको छ ।

  • सम्बन्धित विषय:

  • # औपचारिक घोषणा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology