Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तराईको गर्मीमा पनि लटरम्म स्याउ

तराईको गर्मीमा पनि लटरम्म स्याउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०८१ बिहिवार • १२:००:५७ बजे
  • 427
    SHARES
  • तराईको गर्मीमा पनि लटरम्म स्याउ

    तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म लाग्नसक्छ, तर कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका एकजना किसानको बगैँचामा लटरम्म स्याउ फलेका छन् । चिसो हावापानी भएको ठाउँमा मात्रै स्याउखेती हुँदै आए पनि तराईको गर्मीमा किसान गोकर्ण ओलीले लटरम्म स्याउ फलाएका छन् । किसान ओलीले फलाएको (हर्मन ९९) जातको स्याउ ४८ डिग्री सेल्सियस तापक्रम भएको ठाउँमा लगाउन सकिन्छ ।

    images

    उनले तीन बिघा जग्गामा व्यावसायिक रूपमा नै स्याउखेती गरेका छन् । कैलालीमा उनले पहिलोपटक व्यावसायिक रुपमा नै स्याउखेती गरेका छन् । विसं २०७८ माघमा ओलीले भारतको हिमाचल प्रदेशको विलासपुरबाट स्याउका बिरुवा ल्याएर रोपेका हुन् । रोपेको एक वर्षमा नै सबै बोट फुलेका बताउँदै उनले भने, ‘अहिले फुलेको स्याउलाई औषधि हालेर झारेको छु’, अघिल्लो वर्ष पनि परीक्षणका रूपमा २० बोटमा मात्र फलाएको थिएँ, अहिले पनि ३०-४० बोटमा मात्र फलाएको छु ।’ उनका अनुसार बिरुवा लगाएको दुई वर्ष पूरा भएको छ, अर्को वर्षदेखि एक बोटबाट आठदेखि १० किलोग्रामसम्म आम्दानी लिन सकिनेछ । बिरुवा लगाएको तीन वर्षपछि मात्रै आम्दानी गर्न सकिन्छ भने पॉच वर्षपछि भने एउटै बोटमा ५० देखि एक सय किलो ग्रामसम्म स्याउ फल्ने गर्दछ ।

    तराईका क्षेत्रमा नौलो मानिएको स्याउखेतीका लागि हालसम्म ८० लाख लागत लागिसकेको ओलीले बताए । ओलीले स्याउसँगै अम्बा र बयर पनि रोपेका छन् । एक हजार दुई सय स्याउ, पाँच सय अम्बा र एक सय बयर उनले लगाएका छन् । तराईमा पनि स्याउ फल्ने विषय इन्टरनेटका माध्यमबाट थाहा पाएको बताउँदै ओलीले भने, ‘कृषि निर्देशक यज्ञराज जोशीको सल्लाहले मैले यो खेती गर्ने हौसला पाएँ र मलाई काम गर्न सहयोग मिल्यो ।’ हाललाई अम्बा र बयर बेचेर आम्दानी गरिरहेका ओलीले स्याउको बेर्नाबाट पनि आम्दानी लिइरहेका छन् ।

    प्रतिबेर्ना रु तीन सयका दरले बेचेको बताउँदै उनले भने, ‘हालसम्म एक हजार आठ सय बेर्ना बेचिसकेको छु।’ ओलीका अनुसार सिरहा, सप्तरीलगायत तराई क्षेत्रबाट र सिन्धुपाल्चोकबाट पाँच सय बिरुवा किन्न किसान आएका थिए तर पहाड क्षेत्र भएकाले बेर्ना बेचिएन । ओलीले प्रदेश कृषि निर्देशनालय र कृषि ज्ञान केन्द्र कैलालीबाट रु १५ लाख अनुदानसमेत पाएका छन् ।

    स्याउखेती गर्दाको सुरुवातमा नै बिरुवा खरिदका लागि प्रदेश कृषि निर्देशनालयले रु चार लाख दिएको बताउँदै उनले भने, ‘कृषि ज्ञान केन्द्र कैलालीले तारबारका लागि रु ११ लाख पचास हजार अनुदान दिएको थियो र हाल सिँचाइका लागि ज्ञान केन्द्रले रु चार लाख २८ हजार अनुदान दिएको छ ।’ विगतमा कञ्चनपुरको भीमदत्त नगरपालिका–४ भासीमा बस्दै आएका ओली स्याउखेती गर्नका लागि कैलालीको प्रतापपुरमा आएका हुन् ।

    उनले रु एक करोड ४६ लाखमा जमिन खरिद गरी स्याउखेती थालेका हुन् । सुरुमा तराईमा स्याउ लगाउनेभन्दा छिमेकीले विश्वास नगरे पनि अहिले बगैँचामा फलेको स्याउ हेर्न विभिन्न ठाउँबाट मानिस आउने गरेका छन् । आफूले गरेको खेती सफल भएमा त्यसलाई बढाउँदै लैजाने उनले भने ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology