Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हावाहुरीले चितवनमा १२ करोडको केरामा क्षति

हावाहुरीले चितवनमा १२ करोडको केरामा क्षति

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०८१ आइतवार • १२:०२:२३ बजे
  • 895
    SHARES
  • हावाहुरीले चितवनमा १२ करोडको केरामा क्षति

    व्यवसायिक केरा उत्पादनका लागि अब्बल मानिने चितवनमा तीन दिन अगाडि आएको हावाहुरीले करिब १२ करोडको क्षति भएको छ ।

    images

    व्यावसायिक केरा किसानहरुले दावी गरे अनुसार यो क्षति अहिलेसम्मकै उच्च हो । यसभन्दा अगाडि हावाहुरीका कारणले यतिको क्षति नभएको उनीहरुले बताएका छन् ।

    चितवनको कालिका रत्नननगर, खैरहनी, राप्ती नगरपालिका लगायतका क्षेत्रमा लगाइएका केराहरुमा हावाहुरीले ठूलो क्षति गरेको केरा उत्पादक संघले जनाएको छ । पूर्वी चितवनको तुलनामा पश्चिम चितवनमा भने हावाहुरीले कम क्षति गरेको छ ।

    जगतपुरमा ५५ बिघामा व्यवसायिक केरा खेती गर्ने यज्ञ सुवेदीले पश्चिम चितवनमा हावाहुरीले खासै क्षति नगरेको तर पूर्वीचितवनमा भने सखाप नै बनाएको बताए ।

    चितवन केरा उत्पादक संघका महासचिव जनकराज पन्तले पूर्वी चितवनमा धेरै जसो किसानहरुको बगान नै सखाप पारेको बताए । आधाभन्दा बढी किसानको  एउटा पनि सग्लो बोट नरहने गरी क्षति गरेको पन्तले जानकारी दिए ।

    ‘आधा किसानको आंशिक क्षति छ, आधा जतिको पूर्ण रुपमा क्षति छ, अब त्यहाँबाट केही पनि आउँदैन,’ महासचिव पन्तले भने, ‘बजारमा लैजान तयार भएका केराहरुलाई बढी क्षति गरेको छ । करिब १२ करोडको केरामा क्षति भएको हामीले अनुमान गरेका छौं। ‘ झण्डैं तीन हजार बिघामा लगाएको केरा खेतीमा क्षति पुगेको महासचिव पन्तले बताए ।

    पूर्वी चितवनका ११ बिघामा केरा खेती लगाएकी आशिका मल्ल र १६ बिघामा केरा लगाएका कपिल ढकाल, जयराम ढकाल, शंकर सुवेदीले लगाएको केरा खेती हावाहुरीले पूर्ण रुपमा नष्ट गरेको महासचिव पन्तले बताए ।

    चितवनमा ३५ सय बिघामा केरा खेती छ । प्रायः चैतदेखि असारसम्म हावाहुरीका कारणले बर्षेनी चितवनमा केरामा क्षति गर्दै आएको छ ।

    चितवन केरा उत्पादक संघका पूर्व अध्यक्ष विष्णुहरि पन्तले चितवनका व्यवसायिक केरा किसानहरुलाई उठ्नै नसक्ने गरी यसपटक हावाहुरीले क्षति गराएको दुखेसो पोखे ।

    उनले पूर्वी चितवनको हाइवेभन्दा तलको क्षेत्रमा रहेका अधिकांश केरा किसानहरुको खेती नष्ट भएको बताए ।

    बीमा भुक्तानी पाउनै सकस

    चितवनका अधिकांश व्यवसायिक केरा किसानहरुले केराको बीमा गरेका छन् । तर, भएको क्षतिको रकम पाउन भने निकै मुस्किल हुने गरेको व्यवसायीहरु बताउँछन् ।

    गत वर्षको असारमा आएको हावाहुरीले चितवनका केरा किसानको ४ करोड बराबरको क्षति गरेको थियो । तर, सो रकम मध्ये साढे २ करोड रकम अझै किसानहरुले लिन बाँकी नै छ ।

    रकम लिन पनि झन्झटिलो हुने गरेको किसानहरुको गुनासो छ । एक बोट केराको क्षति हुँदा किसानले बीमाबाट २४७ रुपैयाँ पाउँछन् । तर, उनीहरुको लगात भने ३७० रुपैयाँ पर्न आउँछ ।

    एक घरी केरा बेच्दा औसत ५ सय देखि ७ सय रुपैयाँसम्म आउछ । क्षतिको तुलनामा बीमा रकम निकै कम भएको किसानहरुको गुनासो छ । सरकारले बीमाको प्रिमियर शुल्क (८० प्रतिशत) समयमा नै भुक्तानी नदिँदा बीमा कम्पनी किसानलाई रकम भुक्तानी नगरेको जनाउँदै आएको हो ।

    संघका पूर्वअध्यक्ष पन्तले गतवर्ष क्षति गरेको ४ करोडको बीमाको रकम अहिलेसम्म नपाएको र अहिले भएको क्षतिको रकम ४/५ वर्षसम्म पनि नपाउने अवस्था रहेको देखिएकोले किसानहरु चिन्तित बनेको बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology