Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हाते ट्याक्टर छोडेर गोरू पाल्दै किसान

हाते ट्याक्टर छोडेर गोरू पाल्दै किसान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २०, २०८१ आइतवार • १२:१४:१७ बजे
  • 760
    SHARES
  • हाते ट्याक्टर छोडेर गोरू पाल्दै किसान

    सङ्घीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर (मिनिटिलर) अनुदानमा वितरण गरे । गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले । आधुनिक उपकरणको सहायताले खेतबारी जोत्दा सहज भयो, सस्तो पनि पर्‍यो तर बिस्तारै उत्पादनमा भने ह्रास आउन थाल्यो ।

    images

    बागलुङ जिल्लाको गलकोट नगरपालिका-४ चमुवा फाँटमा हाते ट्र्याक्टरले धान रोप्न छोडेको दुई वर्ष भइसक्यो । गोरु पाल्न छोडेका किसानले पछिल्लो समय गोरुको महत्व बुझेर पाल्न थालेको स्थानीय रतनबहादुर सुनारले बताए । चमुवा फाँटमा अहिले पाँच हलगोरु रोपाइँमा प्रयोग भइरहेका छन् ।

    ‘हाते ट्र्याक्टरले जोत्दा माथिमाथि मात्रै जोत्दो रहेछ, गहिरो नजोत्दा उत्पादनमा समस्या भयो, गहुँ र मकै ढल्ने समस्या देखियो । हेर्दा छरितो भए पनि दीर्घकालीन रुपमा गोरुले जोत्दा खेतीयोग्य जमिनलाई राम्रो हुने हामीले महसुस गर्‍यौँ,’ सुनारले भने, ‘चमुवामा हाते ट्र्याक्टर नआउँदा १० हलगोरु थिए, हाते ट्र्याक्टर आएपछि धेरैले गोरु बिक्री गरे । पछि गोरुले जोत्दा बाली राम्रो भयो, हाते ट्र्याक्टरमा हाल्ने पेट्रोलको भाउ समेत दोब्बर भयो, त्यसैले गोरुले जोत्न थालियो ।’

    चमुवामा ६ दिनको मेलो रोपाइँको तयारी गर्नुभएका शेरबहादुर न्यौपानेले गोरुकै सहायताले खेतमा धान रोप्न लागेको बताए । पेट्रोलको मूल्य दोब्बर हुनु र उपकरण बिग्रिरहने समस्याले किसानहरु हाते ट्र्याक्टर छोडेर पुनः गोरु पाल्न थालेको बताउँछन् । गोरु लोप हुन थालेपछि पछिल्लो एक वर्षयता बागलुङको जैमिनी नगरपालिका र बागलुङ नगरपालिकाले गोरु पाल्ने किसानलाई प्रोत्साहन समेत गर्न थालेका छन् ।

    एक हल गोरु पाल्ने किसानलाई रु १० हजारका दरले अनुदान दिन लागिएको जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले बताए । बागलुङ नगरपालिकाले गोरु किसानलाई प्रोत्साहन गर्न रु चार लाख बजेट विनियोजन गरेको नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले बताए ।

    कृषिमा आधुनिकीकरणका कारण गोरु लोप हुन थालेपछि गोरु पाल्ने किसानलाई प्रोत्साहन गर्दा गोरुको महत्व बढेको छ । थ्रेसर मेसिन र ट्र्याक्टरले उत्पादन लागत घटाउने भए पनि पेट्रोलको मूल्य बढेपछि हाते ट्र्याक्टरको प्रयोग बिस्तारै घट्न थालेको छ ।

  • सम्बन्धित विषय:

  • # गोरू पाल्दै किसान
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology