Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०८१ बुधवार • ०४:४२:४२ बजे
  • 805
    SHARES
  • म्याग्दी नदीको कटान रोक्न मङ्गलाघाटमा पर्खाल निर्माण

    बेनी नगरपालिका–७ मङ्गलाघाटमा म्याग्दी नदीको कटान र बाढी नियन्त्रणका लागि रु १२ करोडभन्दा बढी लागतमा पक्की पर्खाल निर्माण भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले मङ्गलाघाटस्थित म्याग्दी नदीको किनारमा कम्पोजित प्रविधिको पर्खाल निर्माण गरेको हो ।

    images

    निर्माण कम्पनी सुप्रिम कन्ट्रक्सनका सञ्चालक सुरेश खड्काले दुई वटा प्याकेजमा दुई सय ६२ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको जानकारी दिए । “कम्पोजित पर्खाल निर्माण गर्ने काम सकिएको छ”, उनले भने, “पर्खालको पछाडितर्फ माटो राखेर फिलिङ गर्न सुरु भएको योजनाको ९५ प्रतिशत भौतिक प्रगति भएको छ ।” सो योजनाका लागि २०७९ फागुनमा रु १२ करोड ३७ लाखमा ठेक्का सम्झौता भएको थियो ।

    अठार महिनाको ठेक्का अवधि भएको योजना निर्धारित समयमै सकिए पनि भुक्तानी नपाएको सञ्चालक खड्काले गुनासो गरे । खोलाको सतहदेखि दुई मिटर तलसम्म जग खनेर चार मिटर चौडाइको आरसिसी र माथिल्लो भागमा ग्यावियन भरेर पर्खाल बनाइएको परियोजनाका इञ्जिनियर नरजङ्ग गुरुङले बताए । बेनी बजारको पश्चिमी भागमा रहेको मङ्गलाघाटमा दुई सयभन्दा बढी घर, सरकारी कार्यालय र कर्मचारी आवास भवन छन् ।

    मङ्गलाघाटस्थित म्याग्दी नदी किनारमा यसअघि करिब चार सय मिटर पक्की पर्खाल निर्माण भएको थियो । परियोजनामार्फत करिब रु ४८ करोड लागतमा सञ्चालित सात वटा ठेक्काको योजना सम्पन्न हुने चरणमा छन् । भसभसे पहिरो र कटान नियन्त्रण योजनाको काम गत वर्षनै सकिएको थियो ।

    परियोजनाका प्रमुख कालीबहादुर शाहीले ९० प्रतिशतभन्दा बढी भौतिक प्रगति भएका योजनाको ठेक्का टुङ्ग्याउने प्रक्रिया अघि बढाएको बताए । बेनी बजार, गलेश्वर क्षेत्र, राममन्दिर र पर्वत बेनी आसपासका बस्तीलाई संरक्षण गर्न म्याग्दी नदी किनारमा तीन र कालीगण्डकीमा पाँच ठाउँमा कटान नियन्त्रण गर्ने संरचना निर्माण गरिएको हो ।

    म्याग्दी र कालीगण्डकी नदीको दोभानमा रहेको बेनी बजारलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचीमा राखेको छ । परियोजनाले बेनी बजार र आसपासका बस्तीमा कटान नियन्त्रणका लागि गत वर्ष रु एक अर्ब १९ करोडको विस्तृत परियोजना प्रतिवेदन तयार पारेर स्वीकृत गराएको थियो ।

    बेनी नगरपालिका–४ सिंगा तातोपानी बजार संरक्षणका लागि परियोजनामार्फत काम गर्न आगामी आर्थिक वर्षमा बजेट प्रस्ताव गरिएको छ । बेनी नगरपालिकाका प्रमुख सुुरत केसीले परियोजनामार्फत कालीगण्डकी र म्याग्दी नदी किनारमा कटान नियन्त्रणका लागि स्वीकृत डिपिआरअनुसार थप बजेट व्यवस्थापन गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, अर्थ मन्त्रालयमा पहल गरिएको बताए ।

  • सम्बन्धित विषय:

  • # पर्खाल निर्माण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology