Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पहिरोमा पुरिएर ७ जनाको मृत्यु

पहिरोमा पुरिएर ७ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २४, २०८१ आइतवार • ०६:१८:१२ बजे
  • 1.0K
    SHARES
  • पहिरोमा पुरिएर ७ जनाको मृत्यु

    वितेको २४ घण्टाको अवधिमा पहिरोमा पुरिएर देशका विभिन्न स्थानमा ७ जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार पर्वतको फलेवास नगरपालिका-१ कार्किनेटा बस्ने कुल प्रसाद पाध्याको घर शनिबार दिउँसो पहिरोले पुरिँदा उनकै छोरा ४० वर्षीय झलक प्रसाद शर्मा र स्याङ्जा आँधीखोला गाउँपालिका-३ पाखरीगोर ढुङ्गा बस्ने ३२ वर्षीय तुलसी प्रसाद शर्माको मृत्यु भएको छ ।

    images

    पहिरो जाँदा उनीहरू पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कार्कीनेटा र जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनीहरूको शव फेला परेको हो । यसैगरी तनहुँको शुक्लागण्डकी नगरपालिका-७ काउरे बस्ने ४० वर्षीया हिरा नेपाली र सुनमायाँ कुमालको घर पहिरोले पुरिँदा २ जनाको मृत्यु भएको छ । पहिरोले पुरिएर हिरा नेपाली र ६५ वर्षीय श्याम भण्डारीको मृत्यु भएको हो ।

    पहिरो आउँदै गर्दा घरभित्र रहेको सामान स्थानीयबासीहरू मिली निकाल्न जाने क्रममा हिरा नेपाली सहित ३ जना मानिसहरू बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौतरा समेतबाट खटिएको टोलीले उद्दार एवम् खोजी गर्ने क्रममा दुवै जनाको शव फेला परेको हो ।

    बेपत्ता १ जनाको प्रहरीले खोजी गरिरहेको छ । यसैगरी स्याङ्जाको बिरूवा गाउँपालिका-६ लामाखेत बस्ने ईश्वरी लम्सालको खाली घर शनिबार बिहान पहिरोले पुरिँदा ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सोही गाउँपालिका-६ स्याङदी माझकोट बस्ने ६५ वर्षीया गुईश्वरी शर्मा मरासिनी, ७१ वर्षीय माधब शर्मा र उनकै श्रीमती ६७ वर्षीया हरिमाया शर्मा रहेका छन् ।

    गुईश्वरी र माधवको घर पहिरोले पुरिएर क्षति भएको र उनीहरूको उद्दार गरी ईश्वरीको खाली घरमा राखेकोमा उक्त घर समेत पहिरोले बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बिरुवा अर्चलेबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्दार एवम् खोजी गर्ने क्रममा तीनै जनाको शव फेला परेको हो ।

    पहिरो गएका स्थानमा तत्काल खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ७ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology