Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दीमा पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण

म्याग्दीमा पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०८१ बुधवार • १२:४४:१४ बजे
  • 625
    SHARES
  • म्याग्दीमा पर्यटन प्रवर्द्धन गर्न पदमार्ग निर्माण

    म्याग्दीमा यस आर्थिक वर्षमा पर्यटन पूर्वाधार निर्माणसम्बन्धी १८ योजना सम्पन्न भएका छन् । चालु आव २०८०/८१ मा गण्डकी प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले विनियोजन गरेको एक करोड ५६ लाख रुपैयाँ बजेटबाट १८ वटा पर्यटन पूर्वाधार योजना निर्माण भएका हुन् । चर्चित, ऐतिहासिक र धार्मिक पर्यटकीयस्थलमा नौ किलोमिटरभन्दा बढी पदमार्ग निर्माण भएको पर्यटन तथा उद्योग कार्यालय म्याग्दीका प्रमुख पोषानाथ शर्माले जानकारी दिए ।

    images

    ‘कार्यालयका सबै योजना कार्यान्वयन गरेका छौं,’ उनले भने, ‘सात किलोमिटर ४८ मिटर नयाँ ट्रयाक बनाउने, ढुङ्गाको सिँढी चिनेर पदमार्ग बनाउने काम भएको छ ।’ उनका अनुसार एक किलोमिटर ७२ मिटर पदमार्गमा ढुङ्गा छापेर पदमार्ग बनाइएको छ । थप एक किलोमिटर ८२ मिटर पदमार्गलाई ढलान गरेर पक्की बनाइएको छ ।

    पदमार्गसँगै धार्मिक पर्यटकीयस्थलमा घेराबार, संरक्षण, प्रवेशद्वार, रेलिङ, भ्यूप्वाइन्ट, वनभोजस्थललगायत पूर्वाधार निर्माण भएको कार्यालयका सबइन्जिनियर सुमन बोगटीले जानकारी दिए । पर्यटन पूर्वाधार बनेपछि पर्यटक प्रवर्द्धनमा सघाउनुका साथै स्थानीयवासीलाई सुविधा पुगेको छ । यस वर्ष सबैभन्दा धेरै २० लाख रुपैयाँ बजेट विनियोजन भएको अन्नपूर्ण गाउँपालिका–५ को खोप्रालेकमा पदमार्ग, भ्यूप्वाइन्ट निर्माणसँगै खानेपानीको पूर्वाधार निर्माण गरिएको छ ।

    जिल्लाकै ऐतिहासिक धार्मिकस्थल ताकमकोट, ज्यामरुकोट, चिनाकोटमा १०–१० लाख रुपैयाँ बजेटबाट पदमार्ग, रेलिङलगायत पर्यटन पूर्वाधार निर्माण भएका छन् । बेनी नगरपालिका–९ स्थित ढोलथानमा रु १० लाख बजेटबाट पदमार्ग, प्रवेशद्वार वनभोजस्थल र रेलिङ निर्माण भएको कार्यालयले जनाएको छ ।

    महभिरबाट करबाकेलीथान जाने बाटो, पनथोकबाट मालिका जोड्ने बाटो, गलेश्वर–काउलेगौडा–नेप्टेचौर ढोलठान जाने बाटो, दर्मिजा–नाङ्गीदेवी थान बाटो, लामाखोरिया–डाँडागाउँ जोड्ने बाटोमा १०–१० लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण र विस्तार गरिएको छ । त्यसैगरी बेनीस्थित डल्लेपिपल–फोहोटे रिठाबोट र रघुगङ्गा गाउँपालिका–२ भगवतीको अन्नपूर्ण आधारभूत विद्यालयबाट हवल्दारको चौतारासम्म आठ–आठ लाख रुपैयाँ बजेटबाट सिँढी चिनेको पदमार्ग निर्माण गरिएको छ ।

    बेनी नगरपालिका–१ रत्नेचौरमा रहेको परम बैदिक धार्मिक सनातन आश्रम, सारेमारे–भुवाने, भालश्री छापाछाङ औसी–खालीखोला, बलौटे–दुखुबेँसी, कालीबराह ताल, शिलखुङ–चाङ्गा जोड्ने बाटोमा पाँच–पाँच लाख रुपैयाँ बजेटबाट पदमार्ग निर्माण तथा संरक्षण भएको छ ।

  • सम्बन्धित विषय:

  • # म्याग्दीमा पर्यटन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology