Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिराेले यातायात प्रभावित

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिराेले यातायात प्रभावित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ८, २०८१ मंगलवार • ०४:०८:०८ बजे
  • 766
    SHARES
  • बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिराेले यातायात प्रभावित

    म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङस्थित चीनको सिमाना कोरलानाका जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्ड पहिराेले यातायात प्रभावित बनाएको छ । स्तरोन्नतिका क्रममा रहेको बेनीबाट मुस्ताङ लेतेसम्मको खण्डमा रहेका पहिरो, कटान र बाढीका कारण यातायात प्रभावित हुने गरेको छ ।

    images

    बर्खायामसँगै यात्रुलाई सास्ती, दुर्घटनाको जोखिम र पहिरो पन्छाउने काममा राज्यको ब्यभार बढेको छ । म्याग्दी खण्डमा ५० भन्दा बढी ठाउँमा साना–ठूला पहिरो र कटानका कारण बर्खायाममा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । “सडक विस्तारसँगै नयाँ–नयाँ पहिरा सिर्जना भएका छन”, उनले भने, “सडक छेउछाउका बस्तीमा पनि जोखिम बढाएको छ ।” म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा, मुस्ताङ भ्रमणमा जाने र फर्कने पर्यटक तथा तीर्थयात्री सडकको दुरावस्थाका कारण पीडित भएका छन् ।

    कतिपय स्थानीयवासी, पर्यटक र तीर्थयात्री मुस्ताङ आवतजावत तथा बिरामी अस्पताल लैजान हेलिकप्टर चार्टर गर्नुपर्ने अवस्था छ । राहुघाट, चमेरे, बैसरी, सिरुबारी, बेगखोला, महभिर, नौलीबगर, गुइँठेभिर, खामभित्ता, लाटोखोला, रुप्से, घाँसाको खहरेखोला, कैह्कुखोला, लेते क्षेत्रमा ठूला पहिरो छन् । पहिरोका अतिरिक्त ठाडो खोलामा आउने बाढी र कालीगण्डकीको कटान पनि बेनी–जोमसोम सडकको मुख्य चुनौती बनेको छ ।

    हिउँदभर स्तरोन्नतिको काम भएको म्याग्दी खण्डको अधिकांश सडकमा पहिराले क्षति भएको छ । गुडिरहेका सवारीसाधनमाथि पहिरो खसेर क्षति हुने भएकाले पानी परेको र रातको समयमा आवतजावत नगर्न अनुरोध गरिएको छ । गलेश्वर–तातोपानी खण्डको ठेकेदार कम्पनी शर्मा युनाइटेडका इन्जिनियर सुमन भट्टराईले कालोपत्र गरिएको सडक भत्किएर र पुरिएर क्षति भएको बताए । “बेगखोला–तातोपानी खण्डको आठ किलोमिटरमा गत हिउँदमा गरिएको डिबिएसडी प्रविधिको कालोपत्र सडक पहिरो खसेर क्षति भएको छ”, उनले भने, “नयाँनयाँ ठाउँबाट पहिरो खस्ने र कुनातर्फ नयाँ पानीको मुल फुटेर नालीभन्दा बाहिरबाट बग्न थालेपछि समस्या भएको छ ।”

    नागढुङ्गा–घाँसा खण्डको ठेकेदार कम्पनी शर्मा–जगुरमुखीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले विगतका वर्षमा पहिराले दुःख दिने काभ्रे, घोप्टेभिर र बादरजुङ भिरमा ढलान गरिएपछि यसपालि समस्या नभएको तर अन्य ठाउँमा क्षति भएको बताए । “यहाँको प्रतिकूल भूगोल र मौसमले डिबिएसडी कालोपत्र गर्ने डिजाइन नै परिवर्तन नभएसम्म काम गर्न सकिने देखिएन”, उनले भने, “हिउँभर सडकमा बनाएको संरचनालाई बर्खाको पहिराले छियाछिया बनाएको छ ।”

    सडक निर्माण गर्दा पहिरो जाने सम्भावित क्षेत्रको अध्ययन नभएको र त्यहीअनुरुप डिपिआर निर्माण नगरिएकाले नियन्त्रणका लागि विस्तृत अध्ययन गरेर योजना सञ्चालन गर्न भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयमा योजना र बजेट माग गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख ध्रुवकुमार झाले बताए ।

    सडक विभागको डोजर, लोडर र ब्याकुहोलोडर तथा प्राविधिकलाई तयारी अस्वस्थामा राखेर पहिरो पन्छाएर अस्थायी रूपमा यातायात सञ्चालन गर्ने व्यवस्था मिलाए पनि दीर्घकालीन समाधानका लागि बजेटको अभाव भएको आयोजना प्रमुख झाले बताए ।

  • सम्बन्धित विषय:

  • # यातायात प्रभावित
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology