Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तीन दर्जन परिवारले निगुरो टिपेरै मनग्य आम्दानी

तीन दर्जन परिवारले निगुरो टिपेरै मनग्य आम्दानी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०८१ आइतवार • १०:२९:०५ बजे
  • 709
    SHARES
  • तीन दर्जन परिवारले निगुरो टिपेरै मनग्य आम्दानी

    सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तियाको तीन दर्जन परिवारले निगुरो टिपेरै मनग्य आम्दानी गरिरहेका छन् । विगत १० वर्षदेखि यस क्षेत्रका स्थानीयले प्रत्येक वर्ष चैतको तेस्रो हप्तादेखि असोजको अन्तिमसम्म गाउँ नजिकैको वनमा उम्रिएको निगुरो टिपेर बेच्ने गरेका छन् । सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तिया निवासी सविता कुशवार दैनिक बिहान बेलुवा दुई घण्टा घर नजिकैको डाँफे सामुदायिक वन पुगेर निगुरो टिप्न जान्छिन् ।

    images

    निगुरो राम्रो भेटिएको दिन ३० देखि ३५ मुठासम्म टिप्ने गरेको उनी सुनाउँछिन् । ‘यसरी टिपेको निगुरो जोडी मुठाको २५ रुपैयाँमा बिक्री हुन्छ’, कुशवार भन्छिन्, ‘दिनको सात सयसम्मको निगुरो टिप्ने गरेको छु ।’ फुर्सदको समय सदुपयोग गरेर निगुरो टिप्दा घर खर्च चलाउन निकै सजिलो भएको उनले बताइन् । वर्षमा सात महिना लगभग टिप्दा ८० देखि ९० हजारसम्म एक जनाले कमाउने गर्छन् । निगुरो टिप्न घरमा भएका सबै उमेर समूह वन पस्ने गरेका अर्का स्थानीय दीपक लामाको भनाइ छ । ‘देख्दा निगुरो टिप्ने त हो नि भन्ने लाग्छ । तर आम्दानीको राम्रो स्रोत बनेको छ’, उनी भन्छन् ।

    बरहथवा–९, मूर्तियाका कर्णबहादुर कुशवारले पनि विगत सात वर्षदेखि निगुरो टिप्ने गरेको बताए । ‘राम्रो उत्पादन भएको समयमा दिनमा ५० मुठासम्म टिपेको छु’, उनले भने, ‘यसको मूल्य सधैँ एकनाश रहन्छ । धेरै घटबढ गर्दैन ।’ आफ्नो बूढाबूढी नै दैनिक निगुरो टिप्न आउने गरेको उनले बताए । बिहान बेलुका निगुरो टिप्नेले वन भरिने गरेको छ । सोही स्थान बस्नु फूलमाया तामाङको दैनिकी पनि उस्तै छ । छिटोछिटो टिप्ने भएकाले दिनमा ७ सयसम्मको निगुरो टिपेर बेचेको फूलमायाले बताइन् । ‘फुर्सदका समयमा गाउँका बुढापाकादेखि बालबालिका सबै निगुरो टिप्न वन पस्छन्’, उनले भनिन्, ‘दैनिक बिहानबेलुका दुई/चार घण्टा खट्दा राम्रो कमाइ हुन्छ ।’ गाउँघरमा पनि चाडबाड तथा भोजभतेरमा निगुरोको माग हुन्छ ।

    ‘गाउँतिरै पनि खोज्ने मान्छे आउँछन्’, उनले भनिन्, ‘व्यापारीलाई पनि अझै पुगेको छैन् ।’ टिप्नसकेजति व्यापारीले लैजान्छन् । व्यापारीहरुले निगुरो बुझाएलगत्तै वा पछि एकमुष्ट मागको समय पैसा दिने गरेका स्थानीयको भनाइ छ । निगुरो बेचेर बचत गरेको पैसाले आपत्‌विपतमा गर्जोटार्नदेखि औषधि उपचारमा सहयोग पुगेको स्थानीय नानीमैया कार्कीले बताइन् । ‘निगुरो टिप्न थालेदेखि दुई चार रुपैयाँका लागि कसैलाई भन्नु परेको छैन’, उनले भनिन्, ‘त्यस्तो दुःख पनि हुन्न् ।

    केही घण्टा खट्ने हो । दुई चार सय भइहाल्छ ।’ यस क्षेत्रबाट विगत १० वर्षदेखि निगुरो टिप्ने संकलन गर्ने र काठमाडौँका बजारसम्म पुर्‍याउने गरेको व्यवसायी सुनिता महतोले बताइन् । उनका अनुसार सुरुमा स्थानीयले निगुरो टिपेको प्रतिमुठा पाँच रुपैयाँ पाउँथे । अहिलो जोडी मुठाको २५ रुपैयाँ पाउँछन् ।

    निगुरोसँगै अन्य मौसमअनुसारको तरकारी ढुवानी गर्ने गरेको उनले बताइन् । संकलित निगुरो बजारसम्म लैजाने व्यवस्था सुनिताका श्रीमान् धनेश्वर महतोले गर्दै आएका छन् । यस क्षेत्रका ३६/३७ परिवारले दैनिक निगुरो टिपेर ल्याउने व्यवसायी धनेश्वरले जानकारी दिए । ‘दैनिक १२ देखि १५ बोरासम्म निगुरो काठमाडौँ पुर्‍याउँछु’, उनले भने, ‘एक बोरामा ८० मुठा हुन्छ । दैनिक हजार मुठा बढी सङ्कलन हुन्छ ।’

  • सम्बन्धित विषय:

  • # घरखर्च टर्छ’
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology