Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध

बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०८१ आइतवार • १०:४५:३५ बजे
  • 1.1K
    SHARES
  • बाढी र पहिरोले म्याग्दीका मुख्य सडक अवरुद्ध

    गएराति परेको अविरल वर्षाका कारण म्याग्दीका मुख्य सडक अवरुद्ध भएका छन् । ठाउँठाउँमा खसेको पहिरो र बाढीका कारण म्याग्दीबाट बागलुङ, कुष्मा, पोखरा, काठमाडौँलगायत ठाउँमा सवारी ओहोरदोहोर गर्ने बेनी–मालढुङ्गा र बेनी–बागलुङ सडक अवरुद्ध भएका छन् ।

    images

    म्याग्दीबाट मुस्ताङ जोड्ने बेनी–जोमसोम र जिल्ला सदरमुकाम बेनीबाट पश्चिम म्याग्दीको मालिका, मङ्गला र धवलागिरी गाउँपालिका जोड्ने बेनी–दरबाङ सडकमा बाढी र पहिरोले सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध बनेपछि लामो तथा छोटो दूरीमा सवारी साधन सञ्चालनमा आउन नसक्दा यात्रुहरुलाई सास्ती भएको छ । बेनी दरबाङ सडकअन्तर्गत सिङ्गा, घुमाउनेभिर, लाम्पाटा, बाङ्गे पहिरोलगायत ठाउँमा पहिरो खसेको छ ।

    त्यसैगरी, बेनी–जोमसोम सडकअन्तर्गत गलेश्वर, सिरुवारी, कुनौटा, गुइँठे, खामभित्तालगायत ठाउँमा पहिरो खसेर सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए । गएराति परेको अविरल वर्षाका कारण बेनी नगरपालिका–१ हुलाकेको ठाडो खोल्सामा आएको बाढीले सडक बगाएपछि बेनी–बागलुङ सडक पूर्ण रुपमा अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी हबल्दार मणिराम अर्यालले जानकारी दिए । उनका अनुसार बाढीले करिब ६० मिटर बढी सडक कटान गरेर क्षति पुर्याएको छ ।

    बाढीले सडक अवरुद्ध भएपछि गएराति पोखराबाट बेनी आउँदै गरेको ग२च ९३५५ नंको स्कार्पियो जिपलाई समेत बाढीले बगाएर खोल्सामा खसालेको छ । स्कार्पियोमा सवार यात्रुहरुलाई भने बेनीबाट गएका उद्धारकर्मी र प्रहरीले उद्धार गरेको थियो । ठाडो खोल्सामा आएको बाढी सडकको नहरको क्षमताले धान्न नसकेपछि सडकबाट बगेको थियो । सडक कालोपत्र गर्ने समयमा ठाडो खोल्सामा आउने बाढीलाई निकास दिने गरी पूर्वाधार बनाउन ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएकाले बाढीले क्षति पुर्याएको स्थानीय कमला खत्रीले बताइन् ।

    सोही बाढी बस्तीतर्फ पसेपछि बेनी नगरपालिका–१ आनन्दबगरका तीनवटा घर पुरेको छ । स्थानीय सेती थापा मगर, केशव थापा र सोचिना घर्ती मगरको घरमा बाढी पसेको हो । सेती थापाको दुई तलासम्म बाढी पस्दा अन्नपात, गरगहना, भाँडावर्तन, लत्ताकपडा सबै पुरिएको छ । थापा र घर्तीको घर आंशिक रूपमा क्षति भएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य सडक अवरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology