Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मिना परियार हत्या प्रकरण : पाँच प्रतिवादी पुर्पक्षका लागि थुनामा

मिना परियार हत्या प्रकरण : पाँच प्रतिवादी पुर्पक्षका लागि थुनामा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २६, २०८१ बुधवार • ०६:५४:२३ बजे
  • 838
    SHARES
  • मिना परियार हत्या प्रकरण : पाँच प्रतिवादी पुर्पक्षका लागि थुनामा

     म्याग्दीको बेनी नगरपालिका–९ तोरीपानीकी १९ वर्षीय मिना परियारको हत्यासम्बन्धी मुद्दाका सबै प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ । 

    images


    ज्यानसम्बन्धी कसुरमा म्याग्दी जिल्ला अदालतको मङ्गलबारको थुनछेक आदेशबाट उनीहरूलाई थुनाका लागि कारागार चलान गरिएको हो । न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासले मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कारागारमा राखेर अनुसन्धान गर्न आदेश गरेको म्याग्दी जिल्ला अदालतका सूचना अधिकारी डिल्लीराज पौडेलले बताए । 


    अदालतको आदेशानुसार मिनाका प्रेमी भनिएका राम खत्री, रामकी आमा रेनु खत्री, दाइ बिक्की खत्री, भाई रोजन खत्री र सोही ठाउँका आफन्त श्याम खत्रीलाई थुनाका लागि म्याग्दी जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

    गर्भवती मिनाको हत्या गरी शव गाडेको अभियोगमा उनीहरूविरुद्ध यही भदौ २१ गते सरकारी वकिल कार्यालयमार्फत मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १२ को दफा १७७ अनुसार माग दाबी गरी ज्यानसम्बन्धी कसुरमा अभियोगपत्र दर्ता भएको थियो । 

    आठ महिनादेखि बेपत्ता रही गत २७ गते जङ्गलमा गाडेको अवस्थामा फेला परेको शव परिवारले सनाखत गरेपछि परेको किटानी जाहेरीअनुसार अनुसन्धान हुँदा अभियुक्तले बयानमा हत्या स्वीकार गरेको र प्रमाणको आधारमा सरकारी वकिल कार्यालयमार्फत ज्यानसम्बन्धी कसुरमा अदालतमा अभियोग दर्ता भएको प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए ।

    विसं २०८० पुस १६ गतेबाट बेपत्ता भएकी परियारको शव गत साउन २७ गते जङ्गलमा गंगटा खोज्ने क्रममा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । 

    गिठिनी जङ्गलमा फेला परेको शवसँगै भेटिएको सुनको सिक्री, कालो सल, चप्पल र कपडाबाट उक्त शव करिब आठ महिनादेखि बेपत्ता १९ वर्षीय मिनाकै भएको भन्दै परिवारले सनाखत गरेका थिए । मृतक बुबालेगत साउन ३० गते प्रेमी भनिएका छिमेकी २१ वर्षीय राम, निजकी आमा, दाई, भाई र सालासमेत गरी पाँच जनाविरुद्ध ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दायर गरेका थिए।

    तोरीपानीको गलेश्वर माध्यमिक विद्यालयमा कक्षा ११ अध्ययनरत परियार र खत्रीबिच प्रेम सम्बन्ध भइ पटकपटक यौन सम्पर्कबाट मिनाको छ महिनाको गर्भ रहेको खुलेपछि रामले पटकपटक उक्त गर्भपतन गर्न दबाव दिएको फेसबुक म्यासेन्जरबाट खुलेको थियो ।

    हत्याका मुख्य अभियुक्त खत्री यसअघि विसं २०७६ फागुनमा बेनी नगरपालिका–५ पुलाडाँडामा भएको घटनामा ज्यान मार्ने उद्योगमा ४२ दिन हिरासत बसेर नाबालक भएकाले हिरासतमुक्त भएको प्रहरी निरीक्षक राजन रायमाझीले बताए । 

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology