Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा दूतावास स्थापना गर्न क्यानडालाई परराष्ट्रमन्त्री राणाको आग्रह

नेपालमा दूतावास स्थापना गर्न क्यानडालाई परराष्ट्रमन्त्री राणाको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३, २०८१ बिहिवार • ०४:५९:२७ बजे
  • 904
    SHARES
  • नेपालमा दूतावास स्थापना गर्न क्यानडालाई परराष्ट्रमन्त्री राणाको आग्रह

    परराष्ट्रमन्त्री आरजु राणाले नेपालमा क्यानाडाको राजदूताबास स्थापनाका लागि क्यानाडा सरकारलाई आग्रह पनि गरेकी छन् । बुधबार क्यानडाली विदेशमन्त्री मेलानी जोलीबीच ओटावामा भएको द्विपक्षीय भेटवार्तामा उनले उक्त आग्रह गरेकी हुन् ।

    images

    ‘अध्ययनका लागि क्यानाडा जाने नेपाली विद्यार्थीको सङ्ख्या दिनप्रतिदिन बढ्दै छ भने नेपाल आउने क्यानाडाली पर्यटकको सङ्ख्या पनि पछिल्लो समय बढ्दो छ । त्यसैगरी अनुसन्धानदाता, व्यवसायी तथा अरु पनि दुई देशका धेरै क्षेत्रका नागरिकबीच भ्रमणहरु आदानप्रदान भइरहेको छ’, उनले भनिन, ‘त्यसैले क्यानाडाले नेपालमा दूतावास स्थापना गर्नु मनासिब हुनेछ, म यो अनुरोध गर्न चाहन्छु ।’ द्विपक्षीय वार्ताका क्रममा नेपाल–क्यानाडा सम्बन्धका विविध पक्ष, आपसी हित र चासोका साथै आर्थिक लगानी एवं साझेदारी लगायतका विषयमा कुराकानी भएको थियो ।

    क्यानाडाली विदेशमन्त्री जोलीको आमन्त्रणमा विश्वका महिला विदेशमन्त्रीहरुको बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री डा राणा क्यानाडा पुगेकी हुन् । त्यस भेटमा परराष्ट्रमन्त्री डा राणाले नेपालको लोकतान्त्रिक प्रक्रिया र वर्तमान संविधान निर्माणमा क्यानडाले पुर्‍याएको सहयोगको सराहना गरिन् । नेपालको संसदले हालै सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन पास गरेको र यसबाट अब बाँकी रहेका शान्ति प्रक्रियाका कामहरु पनि पूर्ण हुने जानकारी उनले गराइन् ।

    दुई देशबीच सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । नेपाल र क्यानाडाले आगामी वर्ष कूटनीतिक सम्बन्ध स्थापनाको ६०औँ वार्षिकोत्सव मनाउँदैछन् । अतिकम विकसित राष्ट्रका रुपमा सन् २००३ देखि नै क्यानडाले नेपाली उत्पादनहरुलाई क्यानडा प्रवेशका लागि ड्युटी फ्रि सुविधा उपलब्ध गराउँदै आएको छ ।

    नेपाल सन् २०२६ मा एलडिसीबाट ग्राजुएट हुने योजनामा रहेकाले त्यसपछि पनि नेपाललाई व्यापारिक र लगानीसम्बन्धी सुविधामा क्यानाडाको निरन्तर सहयोगको अपेक्षा गरेको मन्त्री डा राणाले बताइन् । जलविद्युतका क्षेत्रमा क्यानाडाको विगत लामो समयदेखिको अनुभव र विज्ञता रही आएको उल्लेख गर्दै मन्त्री डा राणाले नेपालमा जलविद्युतका क्षेत्रमा लगानीको धेरै ठूलो सम्भावना रहेकाले लगानी गर्न क्यानडालाई आग्रह गरिन् ।

    क्यानाडाली विदेशमन्त्री जोलीले क्यानाडेली पेन्सन फण्डका माध्यमबाट नेपालमा आवश्यक सहयोग गर्न क्यानाडा सरकार तयार रहेको बताइन् । उनले परराष्ट्रमन्त्री डा राणाले राखेको नेपालमा क्यानाडाली दूताबास स्थापनाको प्रस्तावप्रति सकारात्मक प्रतिक्रिया पनि दिइन् । उनले नेपालमा महिला सशक्तिकरणका क्षेत्रमा सहयोग निरन्तर रहने जनाउँदै छात्रा विश्वविद्यालय स्थापनाका साथै छात्रा शिक्षाका क्षेत्रमा क्यानाडाले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरिन् ।

  • सम्बन्धित विषय:

  • # राणाको आग्रह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology