Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते

गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन १०, २०८१ बिहिवार • ०४:५३:२० बजे
  • 1.1K
    SHARES
  • गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते

     सर्लाहीको हरिपुर्वा नगरपालिका ५ मा गोली चल्दा एक महिलाको मृत्यु भएको छ । अर्का एक जना घाइते छन् । गोली हान्ने व्यक्तिको नाम भने प्रहरीले खुलाएको छैन ।

    images

    आज बिहान करिब पौने २ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

    प्रहरीका अनुसार गोली लागेर मृतक चित्रलेखाका ससुरा ५४ वर्षीय  रामदिनेश राय घाइते छन् । उनलाई वायाँ हातमा गोली लागेको छ ।

    घाइते रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।

    गोली हानेर फरार भएका व्यक्तिको खोजी भइरहेको डिएसपी श्रेष्ठले बताए । गोली हान्ने व्यक्तिको खोजीका लागि सीमा क्षेत्रमा समेत प्रहरी परिचालन गरिएको छ ।

    श्रीमान कुवेतबाट फर्किएपछि भइरहन्थ्यो झगडा

    डिएसपी श्रेष्ठका अनुसार चित्रलेखाका श्रीमान् एक महिना अघि मात्र कुवेतबाट घर आएका थिए । उनी घर आएदेखि परिवारका सदस्यहरुसँग बेलाबेला झगडा भइरहन्थ्यो । त्यसपछि कुवेतबाट घर आएको ३/४ दिनपछि नै उनी घर छाडेर हिँडेका थिए ।

    करिब २५ दिनपछि गएराति एक्कासी एकजना साथीसँग मोटरसाइकलमा घर आएको र गोली प्रहारको घटना भएको प्रहरीले जनाएको छ ।

    गोली हान्ने व्यक्ति चित्रलेखाकै श्रीमान् हुन् वा उनले अरु कसैलाई गोली हान्न लगाए भन्नेमा जिल्ला प्रहरी कार्यालयका प्रहरी अधिकृतहरु थप पुष्ट्याइँको प्रयासमा छन् ।  त्यसैले जिल्ला प्रहरी कार्यालयले चित्रलेखाका श्रीमानको नाम गोप्य राखेको जनाएको छ ।

    ‘मोटरसाइकलमा दुई जना व्यक्ति आएका रहेछन् अनि गोली हानेर मोटरसाइकल चढेर भागे,’ डिएसपी श्रेष्ठले अनलाइनखबरसँग भने, ‘घटनामा संलग्न व्यक्तिको पहिचान भइसके पनि पक्राउ नपरिसकेकाले नाम भने सार्वजनिक गरिएको छैन ।’

    तर प्रहरी चौकी हरिपुर्वाले भने चित्रलेखाका श्रीमानले नै श्रीमती र बुवालाई गोली हानेर फरार भएको टिपोट सार्वजनिक गरेको छ ।

    घटनाबारे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट डिएसपी दीपक श्रेष्ठको नेतृत्वमा २० जनाको टोली आज बिहान घटनास्थल पुगेको थियो । प्रहरीका अनुसार घटनामा सानो हतियारको प्रयोग भएको छ । उक्त हतियारको दुई राउण्ड खोका र एक राउण्ड मिस फायर भएको गोली फेला परेको छ ।

    घटनास्थल हरिपूर्वा प्रहरी चौकीबाट करिब एक किलोमिटर र जिल्ला प्रहरी कार्यालयबाट करिब १४ किलोमिटरको दुरीमा पर्दछ ।

  • सम्बन्धित विषय:

  • # बुवा घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology