Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

सिलौटो बेचेरै मासिक ४० हजार कमाइ

सिलौटो बेचेरै मासिक ४० हजार कमाइ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३०, २०८१ बुधवार • ०४:५८:३६ बजे
  • 745
    SHARES
  • सिलौटो बेचेरै मासिक ४० हजार कमाइ

    सुनसरीको इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए । लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दै आएका सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दै आएका छन् । उनी भन्छन्, 'सिलौटा बनाउने हाम्रो पुर्ख्यौली पेसा नै हो । तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदैआएको छु ।'

    images

    इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामाग्री बिक्री गर्दै आएका छन् । नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायताबाट उनले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दै आएका छन् । उनले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राखेका छन् । 'विदेशमा गएर दुःख गर्नुभन्दा यही पुर्ख्यौली पेसा सिलौटो व्यापारबाट आम्दानी गर्दैआएको छु, दिनभर यही बसेर सामाग्री तयार गर्छु, बेलुका घर फर्किन्छु । अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान लाउन पुगेको छ ।

    आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ,' सन्तराजले भने । सन्तराजले दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँदै आएका छन् । 'कहिले चार/पाँच वटासम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन । व्यापार हो, सधैँ एकनास हुँदैन,' उनले भने । लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गरेका छन्। सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीगायतका स्थानबाट ल्याउने गरेको उनले बताए ।

    व्यापारबाट घर खर्च कटाएर मासिक रु ४० हजारसम्म आम्दानी हुँदै आएको सन्तराजले जानकारी दिए । उनले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाएका छन् । छोराले पनि उहाँलाई साथ दिँदै आएका छन् । 'पुर्ख्यौली पेसाको संरक्षण पनि भयो । साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ,' उनले भने ।

    सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गरेका छन् । एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ । उनले एउटा सिलौटो चार सयदेखि ५ सय ५० सम्ममा बिक्री गर्दै आएका छन् । एक जोर जाँतो रु एक हजारदेखि रु एक हजार तीन सय सम्ममा बिक्री गर्दै आएका छन्। पछिल्लो समय आफ्नो व्यवसाय सङ्कटमा पर्दै गएको उनको भनाइ छ । कुटानी पिसानीका लागि विभिन्न उपकरण बजारमा आएसँगै सन्तराजको पेसा सङ्कटमा परेको हो ।

  • सम्बन्धित विषय:

  • # ४० हजार कमाइ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology