Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भिजिट भिसामा जाने श्रमिक रोक्न अध्ययन गर्दै सरकार

भिजिट भिसामा जाने श्रमिक रोक्न अध्ययन गर्दै सरकार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २०, २०८१ मंगलवार • ०४:२७:३६ बजे
  • 763
    SHARES
  • भिजिट भिसामा जाने श्रमिक रोक्न अध्ययन गर्दै सरकार

    सरकारले वैदेशिक रोजगारीको उद्देश्यले भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जाने क्रम बढ्दै गएपछि रोक्न भन्दै फेरि अध्ययन सुरु गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार व्यवस्थापन महाशाखाका सहसचिवको नेतृत्वमा यसबारे अध्ययन सुरु भएको हो । तत्कालीन महाशाखा प्रमुख सहसचिव गोविन्दप्रसाद रिजालको नेतृत्वमा कार्यदल बनेको थियो ।

    images

    उनी सरुवा भएपनि महाशाखा प्रमुख तोकिएका सहसचिवले यसबारे अध्ययन अघि बढाउने श्रम मन्त्रालयले जनाएको छ । श्रम रोजगार तथा समाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीका अनुसार भिजिट भिसामा अवैध रुपमा श्रमिक जाने र उनीहरु ठगीमा परेर अवैध रुपमा काम गर्न बाध्य हुनुपर्ने क्रम नरोकिएपछि व्यवस्थित गर्नेबारे सुझाव लिन कार्यदल बनेको हो । विशेषगरी संयुक्त अरब इमिरेट्स (यूएई)मा भिजिट भिसामा जाने श्रमिकको संख्या ठूलो छ । कुवेत, बहराइन लगायतका देशमा पनि यस्तो समस्या छ ।

    सरकारले भिजिट भिसमा श्रमिकलाई जाने अवस्था बन्न नदिन थप कडा व्यवस्था लागु गर्न खोजेको हो । तर, विगतदेखि नै भिजिट भिसामा जानेमाथि अन्याय हुने गरी कडा व्यवस्थाहरु नगर्न सरकारमाथि दबाब छ । मानवअधिकारप्रति प्रतिबद्ध मुलुकले भिजिट भिसामा जान पनि सरकारका कसिला शर्त मान्नुपर्ने अवस्था नबनाउन मानवअधिकारवादीले ध्यानाकर्षण गराउादै आएका छन् । तर, सरकार श्रमिक भिसाको प्रलोभनमा पारेर भिजिट भिसामा श्रमिक पठाउन नदिने गरी कडा नियम लाग गर्ने पक्षमा छ ।

    कानूनअनुसार रोजगारीका लागि विदेश जानुअघि श्रम स्वीकृति लिनुपर्छ, वैदेशिक रोजगार कल्याणकारी कोषमा शुल्क तिर्नुपर्छ र आवधिक जीवन बिमा गर्नपर्छ । यसरी प्रक्रिया पूरा गरेर जाँदा समस्या परे सम्बन्धित म्यानपावर कम्पनी र रोजगारदाता जिम्मेवार हुन्छन् । भिजिट भिसामा लगेर आकर्षक रोजगारी दिने प्रलोभनमा ४ लाखसम्म असुल्ने गरिएको छ । तर, भिजिट भिसामा गएर रोजगारी गर्न खोज्नेहरु ठगिए वा अरु कुनै समस्यामा परे आफैं जिम्मेवार हुन्छन् । उनीहरुले सहयोग तथा उद्धार सुविधा पाउन पनिक मुस्किल पर्छ । त्यसैले वैदेशिक रोजगारका जानकारहरु श्रमिकको भिजिट भिसालाई ‘जुवा’ मान्छन् ।

    यसकै कारण यूएईमा आत्महत्या गर्ने नेपाली श्रमिकको संख्या बढेको मिडिया रिपोर्टहरु आइरहेका छन् । सरकारले भिजिट भिसामा पठाउने दलाल र गिरोहविरुद्ध प्रभावकारी कदम चाल्न सकेको छैन । यसका कारण प्रलोभनमा पारेर युवालाई विदेश पु¥याउने क्रम बढ्न थालेको छ । खासगरी देशभित्र रोजगारी पाउन नसकेका युवा तस्करको प्रलोभनमा परेर विदेश पुगिरहेका छन् । केही ट्राभल एजेन्सी र कन्सल्टेसीले पनि सामाजिक सञ्जालहरुमा भिजिट भिसाको विज्ञापन गरिरहेका छन् । खाडी मुलुकहरुको अवधिअनुसार भिसाको शुल्क तोकिएका छन् । कतिपय विज्ञापनमै रोजगारीको ग्यारेन्टी गरिएको छ ।

    भिजिट भिसामा लगेर आकर्षक रोजगारी दिने प्रलोभनमा ४ लाखसम्म असुल्ने गरिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अनुसार यूएई, बहराइनलगायत मुलुकमा भिजिट भिसामा गएकाहरुले रोजगारदाताको स्वीकृतिमा वर्किङ भिसा पाउँछन् । केही वर्षदेखि मानव तस्करहरुले यसलाई धन्दाका रुपमा विकास गरेको भन्दै वैदेशिक रोजगार व्यवसायी संघले चिन्ता प्रकट गर्दै आएको छ । अहिले यूएईमा भिजिट भिसामा जानेहरु धेरैजसो १९–३० वर्ष उमेर समूहका छन् । भिजिट भिसामा यूएईमा पुगेर अलपत्र परेका कतिपयले उद्धारका लागि आग्रह गर्ने गरेका छन् । भिजिट भिसाका नाममा भइरहेको ‘मानव तस्करी’ रोक्ने मुख्य जिम्मेवारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको हो । तर, मानव तस्करहरुले विमानस्थलमा सेटिङ मिलाएको आरोप लाग्दै आएको छ ।

    सरकारले अध्यागमनमै सेटिङ गरेर भिजिट भिसामा श्रमिक पठाउने क्रम बढेको भन्दै गत १० माघ २०८० मा नयाँ कार्यविधि जारी भएको थियो । कार्यविधिले भिजिट भिसामा जानेहरुका लागि आवश्यक कागजात र प्रक्रिया सहज गरेको थियो । त्यसपछि झन् ठूलो संख्यामा श्रमिकहरु भिजिट भिसमा विदेश पुग्न थालेका छन् । अहिले अध्यागमन विभागले भिजिट भिसामा जाँदा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी आवश्यक पर्ने र सम्बन्धित देशको भिसा चाहिने नियम बनाएको छ । अन एराइभन भिसा पाइने मुलुकको हकमा त्यस्तो भिसा चाहिन्न । भिजिट भिसामा विदेश जाने अनुमति पाउन दुईतर्फी (जाने र आउने) हवाई टिकट अनिवार्य छ ।

    भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र देखाउनुपर्ने व्यवस्था छ । भ्रमणको सबै खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेविट÷क्रेडिट कार्ड) पनि अनिवार्य छ । संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा फारम भर्नुपर्ने नियम छ । अब यो नियममा के–को परिवर्तन गर्ने भन्नेबारे सरकारले बनाएको समितिले अध्ययन गर्नेछ ।

    यसअघि समितिका संयोजक रहेका रिजाल अध्यागमन विभागको महानिर्देशक बनेका छन् । सरकारले बनाएको समितिले भिजिट भिसामा विदेशिने श्रमिकलाई रोक्ने गरी के–के गर्नेभन्नेबारे सरोकारवालाहरुसँग छिट्टै छलफल सुरु गर्ने तयारी गरेको छ ।

  • सम्बन्धित विषय:

  • # अध्ययन गर्दै सरकार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology