Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भमके खोलामा पुल निर्माण सुरू भएपछि स्थानीय खुसी

भमके खोलामा पुल निर्माण सुरू भएपछि स्थानीय खुसी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २२, २०८१ शनिवार • ०५:३८:५१ बजे
  • 604
    SHARES
  • भमके खोलामा पुल निर्माण सुरू भएपछि स्थानीय खुसी

    दाङको गहते–बाघमारे–हापुरे सडकबिचमा पर्ने भमके खोलामा पुल निर्माण सुरू भएपछि त्यस क्षेत्र भएर आवतजावत गर्नेहरू खुसी भएका छन् । शान्तिनगर गाउँपालिका–५ चिराघाटका ऋषिराज अधिकारीले वर्षातको समयमा खोलो बढ्दा आवतजावतमा समस्या हुने गरेको भए पनि अब पुल बनेमा सहज हुने भन्दै खुसी व्यक्त गरे ।

    images

    “वर्षातमा निकै समस्या हुन्थ्यो, खोलाले आवतजावत नै रोक्ने अवस्था हुन्थ्यो”, उनले भने, “अब यो समस्या टरेको छ ।” त्यस्तै, तुलसीपुर–१ भमकेका रामबहादुर चौधरीले पनि खोलामा पुल बन्न लागेकाले आवतजावतमा सहज हुने बताए ।

    बहुवर्षीय ठेक्काका रूपमा रहेको उक्त पुल निर्माण भएमा आवतजावतमा सहज हुनेछ । यसअघि पुल नहुँदा वर्षातमा पानीको बहाव बढ्दा आवतजावतमा समस्या हुने गरेको थियो । सडकबिचमा पर्ने उक्त खोलामा बक्स कलभर्ट पुल निर्माण हुनेछ । त्यसका लागि शारदा निर्माण सेवासँग रू दुई करोड १२ लाख ६४ हजारमा सम्झौता भएको छ । साथै सोही सडकको बौलाहखोलामा पनि पुल निर्माणका लागि सोही निर्माण कम्पनीसँग सम्झौता भएको छ । बैलाहाखोलाको काम भने सुरू भएको छैन ।

    गएको असारमा सम्झौता भएको भमके खोलाको पुल निर्माण कार्य १८ महिना भित्र सक्नुपर्ने सम्झौता रहेको सडक पूर्वाधार विकास कार्यालय दाङका प्रमुख मनिषकुमार अर्यालले बताए । पश्चिम दाङका सडक बीचमा पर्ने खोलाहरूमा आफूले बहुवर्षीय ठेक्का हुनेगरी बजेट विनियोजन गरेको भन्दै त्यसको कार्यान्वयनका लागि आफू लागिरहेको लुम्बिनी प्रदेशका पूर्वअर्थमन्त्री तथा प्रदेशसभा सदस्य धनबहादुर मास्कीले बताए ।

    उनले पश्चिम दाङको सडक तथा पुलहरूका लागि आफू मन्त्री हुँदा पनि बजेट हालेको र अहिले सांसद हुँदा पनि बजेट बिनियोजन गरेको भन्दै त्यसको कार्यान्वयनको विषयमा पनि पटक–पटक अनुगमन गरिरहेको उनको भनाइ छ ।

    अहिले सम्झौता गरेर काम गर्नुपर्ने भए पनि पर्याप्त बजेट नहुँदा भने समस्या भएको कार्यालय प्रमुख अर्यालले बताए ।

  • सम्बन्धित विषय:

  • # पुल निर्माण
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology