Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हुम्लामा यस वर्ष पहिलोपटक हिमपात

हुम्लामा यस वर्ष पहिलोपटक हिमपात

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २४, २०८१ सोमवार • ०४:३९:४२ बजे
  • 802
    SHARES
  • हुम्लामा यस वर्ष पहिलोपटक हिमपात

    पश्चिमी वायुको प्रभावले पश्चिम नेपालमा हल्का वर्षा र हिमाली तथा उच्च पहाडी भेगमा हिमपात भएको छ । हिमपात र वर्षाले बालीनालीलाई फाइदा हुने भए पनि चिसो बढेर जनजीवन भने प्रभावित भएको छ । बझाङ, हुम्ला लगायतका जिल्लामा यस वर्ष पहिलोपटक हिमपात भएको खबर छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलसँगै गए रातिदेखि हिमपात सुरु भएको हो ।

    images

    आज सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानहरूमा तथा गण्डकी प्रदेश, बागमती प्रदेश र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ। राष्ट्रिय समाचार समिति (रासस) ले आज बिहानसम्म हुम्ला सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको जनाएको छ । उत्तरी नाम्खा गाउँपालिकाको उच्च भेगमा रहेको लिमीलगायतका क्षेत्रमा पनि एक फिट हिउँ जमेको लिमी स्वास्थ्यचौकीमा कार्यरत लोग बोहरालाई उद्धृत गर्दै राससले जनाएको छ ।

    हिमपातपछि सदरमुकाम सिमकोट र आसपासका डाँडाकाँडा सेताम्मे भएका छन् भने जनजीवन प्रभावित भएको छ । उत्तरी नाम्खाका चाला, लिमी, हिल्सा, यारीलगायतका क्षेत्रको जनजीवन प्रभावित भएको छ । हिमपातसँगै चिसो बढेको छ भने हुम्लाको तापक्रम यसअघि नै माइनसमा झरीसकेको छ । यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् ।

    हिमपातले बालीनाली र फलफूल सप्रिने किसानहरू बताउँछन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले सुदूरपश्चिम प्रदेश,कर्णाली प्रदेश,लुम्बीनि प्रदेश र कोशी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ। मध्य र पुर्वी तराइका धेरेे भू-भागमा हुस्सु र थोरै भू-भागमा कुहिरो लागेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक दुइ स्थानमा हल्का वर्षा पनि भइरहेको छ।

    आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा र बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरु हल्का वर्षाको सम्भावना छ।

  • सम्बन्धित विषय:

  • # पहिलोपटक हिमपात
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology