Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

हप्ता दिनमा दुई सयबढी पर्यटक सगरमाथा क्षेत्रमा

हप्ता दिनमा दुई सयबढी पर्यटक सगरमाथा क्षेत्रमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १९, २०८१ शुक्रवार • ०५:४९:१० बजे
  • 739
    SHARES
  • हप्ता दिनमा दुई सयबढी पर्यटक सगरमाथा क्षेत्रमा

    पछिल्लो एक सातामा दुई सय २८ जना विदेशी पर्यटक सगरमाथा क्षेत्र प्रवेश गरेका छन् । पर्यटकको सङ्ख्या न्यून रहने यस याममा यतिका पर्यटक यस क्षेत्र प्रवेश गरेको लुक्लास्थित नेपाल नागरिक उड्डयन प्राधिकरण कार्यालयले जनाएको छ ।

    images

    कार्यालयका इन्चार्ज जिनिश राजभण्डारीका अनुसार पुस ११ देखि १८ गतेसम्ममा ९१ महिला र एक सय ३७ पुरूष गरी दुई सय २८ जना विदेशी पर्यटक भ्रमणका लागि लुक्ला ओर्लिएका हुन् । पुस ११ गते २८, १२ गते ३१, १३ गते ३०, १४ गते ६६, १५ गते ३६, १६ गते १९, १७ गते चार र १८ गते १४ जना विदेशी पर्यटक भित्रिएको विमानस्थल कार्यालयको तथ्याङ्क छ ।

    अफसिजनमा विगतमा पर्यटक आगमन शून्यजस्तै हुने गरे पनि यस वर्ष पर्यटकको आगमन राम्रो देखिएको पर्यटन व्यवसायी तोयाकुमार श्रेष्ठले बताए । चिसो समयको प्रवाह नगरी भ्रमण गर्ने विदेशीको सङ्ख्या बढेसँगै होटल व्यवसायी पनि उत्साहित भएका छन् । ‘अफसिजनमा भित्रिएका पर्यटकले हामीलाई निकै खुसी दिएको छ, पहिलापहिला त पुस–माघमा हामी यत्तिकै बस्नुपथ्र्यो, तर यो वर्ष अलिक राम्रैसँग विदेशी आइरहेका छन् । यसले होटल व्यवसायलाई राम्रो भएको छ”, होटल व्यवसायी जाङ्मु शेर्पाले भने ।

    खुम्बुमा यो समय चिसोका कारण हिँडडुल गर्न निकै सकस रहेको बताइएको छ । हिमपातपछि अत्यधिक चिसोले पानी जम्दा दैनिकी असहज भएको पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताए । चिसोका कारण पाइपमै पानी जम्दा पिउने पानी आपूर्तिमा समस्या भएको उनले बताए । करिब एक साताअघि परेको हिमपातले खुम्बुमा झन् चिसो बढेको स्थानीयले बताएका छन् ।

    जसका कारण धेरैजसो व्यवसायी जाडो छल्न काठमाडौँसहित अन्यत्र गएका छन् । खुम्बुमा हाल तापक्रम माइनस १५ डिग्री सेल्सियसभन्दा तल झरेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # सगरमाथा क्षेत्रमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology