Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु

पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

आश्विन २२, २०७७ बिहिवार • १२:०७:५० बजे
  • 2.0K
    SHARES
  • पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु
    कास्की-लामो समयको बन्दाबन्दीका कारण एकै ठाउँको बसाइ र मनोरञ्जनबाट वञ्चित भएका साहसिक खेलप्रेमीहरु पोखरामा प्याराग्लाडिङ खुलेसँगै आकाशमा उडेर मनोरञ्जन लिन शुरु गरेका छन् ।

    साहसिक खेल प्याराग्लाडिङको व्यावसायिक उडान शुरु भएसँगै पोखरेली र आसपास जिल्लाका आन्तरिक पर्यटकहरु पोखराको आकाशमा उड्न थालेका हुन्। केही दिनअघि मात्रै प्याराग्लाडिङबाट पोखराका आसपासका हिमशृङ्खला तालतलैयाको दृश्वालोकन गर्नुभएका नापी कार्यालय कास्कीका प्रमुख खिमलाल गौतमले जीवनको पहिलो प्याराग्लाडिङ उडानको अनुभव निकै स्मरणीय रहेको बताए।

    ‘मलाई गजब आनन्द लाग्यो, अन्य उडानबाट आकाशमा उड्नु र प्याराग्लाडिङबाट उड्नुमा धेरै फरक रहेछ, नजीकबाट प्रकृतिको स्वच्छ अवलोकनले मलाई निकै ‘फ्रेस’ बनायो ।” उहाँले सन् २०१२ का सिएनएन हिरो लाक्पा छिरीसँग उड्न पाउँदा पनि छुट्टै आनन्द लागेको अनुभव सुनाए। ‘लामो समयको बन्दाबन्दी र सधँै एउटै दिनचर्याबाट केही टाढा लाक्पा जीसँगको आकाशको सफर मेरो लागि सदा स्मरणीय रहनेछ”,गौतमले भने ।

    पोखराको प्रतिभा उच्च माविमा कक्षा ११ मा अध्ययनरत १७ वर्षीया रोजमेरी ढुङ्गानाले पनि जीवनमा पहिलोपटक साहसिक खेल प्याराग्लाइडिङ उडानले निकै रोमाञ्चक बनाएको बताए। “कोभिड–१९ का कारण घरमै बस्नुपर्दा निकै दिक्क लागेको थियो।

    लामो समय भयो कहीँ कतै घुम्न जान पाएको थिएन, यहीबीच प्याराग्लाइडिङ खुलेसँगै आकाशमा उड्न पाएँ, शुरुमा त निकै डर लागेको थियो पछि बिस्तारै चरा जस्तै बनेर फेवाताल र वरिपरिको सुन्दर दृश्यको मज्जा लिन थालेँ, जमीनमा झर्न नपरे हुन्थ्योजस्तो लागेको थियो ।’ उनले जीवनको पहिलो साहसिक खेलको अनुभव सुनाउँदै अब अन्य साहसिक खेल खेल्न पनि आफूलाई थप ऊर्जा मिलेको बताए।

    पोखराको आकाशमा ११ वर्षदेखि उडान गर्दै आउनुभएका प्यारापाइलट दुर्योधन खड्का कोभिड-१९ पछि शुरु भएको व्यावसायिक उडानले केही आशा जगाएको बताए। ‘अघिल्लो वर्ष पोखराका सराङकोटबाट चारपाँच सय उडान हुन्थ्यो, यो मौसम प्यारापाइलटहरुका लागि साँच्चै दशैँ हो तर अहिले मुस्किलले फाट्टफुट्ट पर्यटक देख्दा पनि खुशी हुनुपरेको छ, अहिले संस्थाले सहुलियत प्याकेजमा उडान गरेको जनाउँदै यो अवसरको फाइदा लिन पनि साहसिक खेल पारखीहरुलाई आग्रह गरे।

    पोखरामा लामो समय बन्द रहेको प्याराग्लाइडिङ असोज १५ देखि व्यावसायिक उडान शुरु भएको नेपाल हवाई खेलकूद संस्थाका अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए। “अघिपछि यो मौसममा आकाशभरि प्याराग्लाइडिङ उडानले छपक्कै हुन्थ्यो, हेर्दा पनि निकै आनन्द लाग्थ्यो, तर अहिले आन्तरिक केही पर्यटकमात्र उडेका छन्। लामो समयपछि शुरु भएको व्यावसायिक उडान केही आशा भने जगाएको छ’, भण्डारीले भने।

    पोखरा र आसपासबाट साहसिक खेलमा रुचि राख्नेहरु प्याराग्लाइडिङका लागि पोखरा आउन थालेको उनको भनाइ छ। उनका अनुसार अहिले सहुलियत रुपमा प्याराग्लाइडिङ उडान गरिएको छ।

    पहिले सात हजार ५०० मा हुने उडान अहिले चार हजार ५०० देखि पाँच हजारसम्ममा पोखराको आकाशमा उड्न पाइनेछ। उनले यसअघि दैनिक करीब पाँच उडान हुने गरेको र बन्दाबन्दीपछि दैनिक एक सयदेखि १५० उडान हुन थालेको जानकारी दिए ।

    पोखरामा प्याराग्लाइडिङका ६० वटा कम्पनी छन् । ३५० जना प्यारापाइलट छन् भने करीब एक अर्बको लगानी यस क्षेत्रमा रहेको छ।

  • सम्बन्धित विषय:

  • # प्याराग्लाडिङ
  • आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology