Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गलेश्वरमा गत आवमा रु ७३ लाख भेटी सङ्कलन

गलेश्वरमा गत आवमा रु ७३ लाख भेटी सङ्कलन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०८२ शनिवार • ०५:४६:०० बजे
  • 526
    SHARES
  • गलेश्वरमा गत आवमा रु ७३ लाख भेटी सङ्कलन

     म्याग्दीको बेनी नगरपालिका–९ मा रहेको धार्मिकस्थल गलेश्वर मन्दिरमा एक वर्षमा रु ७३ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । 

    images


    आर्थिक वर्ष २०८१/८२ मा गलेश्वरमा पूजाआजा र दर्शनका लागि आएका भक्तजनहरूले रु ७३ लाख १५ हजार ९२७ भेटी चढाएका गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । कोषका अध्यक्ष माधवप्रसाद रेग्मीले भक्तजनको आगमनसँगै भेटी पनि बढेको बताए ।

    उनका अनुसार आर्थिक वर्ष २०८०/८१ मा कुल रु ५८ लाख ४० हजार ५१० भेटी सङ्कलन भएको थियो । ०८१र८२ मा नियमित रु ४७ लाख १० हजार २९० र मेला पर्वमा रु २६ लाख पाँच हजार ६३७ भेटी सङ्कलन भएको कोषका कार्यालय सचिव राम बानियाले जानकारी दिए । 


    भेटीसहित विभिन्न शीर्षकमा बैङ्क ब्याजबाहेक गत वर्षमा रु ९४ लाख १५ हजार १७ आम्दानी भएको उनले बताए । यज्ञ दर्ताबाट रु चार लाख ७३ हजार ५२७, यात्री निवास भाडा रु सात लाख १९ हजार ७१४, सहयोग रु तीन लाख ५९ हजार ७९ र स्टल भाडाबापत रु पाँच लाख ४६ हजार ७७० आम्दानी भएको छ ।

    गलेश्वर मन्दिर परिसरमा कोषले सञ्चालन गरेको धर्मशालामा एक वर्षको अवधिमा १० हजार जना तीर्थयात्रीहरूले सहुलियतमा आवास सुविधा पाएका छन् । मन्दिरको आम्दानी कार्यालय, पूजा व्यवस्थापन, मन्दिरका पुजारी, ज्येष्ठ नागरिक आश्रमका भान्सेको तलबका साथै संस्कृति विद्यालय सञ्चालनमा परिचालन गरिएको कोषले जनाएको छ । 

    गलेश्वरमा भक्तजनले चढाउने भेटी मेलाको भोलिपल्टै र अन्य समयमा मासिक रूपमा गणना गरेर सार्वजनिक गर्ने प्रचलन छ । मन्दिरको आम्दानीबाट गत वर्ष ज्येष्ठ नागरिक आश्रममा रु १५ लाख खर्चेर सभा हल निर्माण, गलेश्वर बजार सौन्दर्यकरण योजनामा बेनी नगरपालिकासँग साझेदारीमा रु छ लाख, घतान स्वास्थ्य चौकीमा स्तनपान कक्ष बनाउन रु एक लाख सहयोग गरिएको अध्यक्ष रेग्मीले बताए । 

    कालीगण्डकी नदी किनारको नौ रोपनी क्षेत्रफलमा फैलिएको चट्टानमाथि अवस्थित गलेश्वर शिवालय क्षेत्र हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूको साझा तीर्थस्थल मुक्तिनाथको प्रवेशद्वार मानिन्छ । 

    हिन्दु धर्म ग्रन्थमा सतीदेवीको गला पतन भएर गलेश्वर नाम रहन गएको उल्लेख गरिएको यस मन्दिरमा साउन महिनाको सोमबार, बालाचतुर्दशी र शिवरात्रि पर्वमा विशेष मेला लाग्नेछ । दैनिक नित्य पूजाआजा हुने गर्छ । गलेश्वर दर्शन र पूजाआजा गरेमा मनोकाङ्क्षा हुुने धार्मिक विश्वास छ । 

  • सम्बन्धित विषय:

  • # ७३ लाख भेटी सङ्कलन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology